स्थानीय समस्या पहिचान र सम्भावना

नेपालको संविधान २०७२ अनुसार तीनतहको सरकारको परिकल्पना स्वरुप ७५३ वटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको तीन वर्ष भएको छ । यसर्थ यो शैशव अवस्थामै छ । ७५३ मध्ये महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका रुपमा वर्गिकरणले नै स्पष्ट पार्छ कि विकास पहुँच र ती तहहरुको अवस्थाबारे सहज रुपमा बुझ्न सकिन्छ । उदाहरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा महानगरपालिका र पोखरासँगै जोडिएको माछापुच्छ्रे गाउँपालिकालाई तुलना गर्न सकिन्छ । यसै अनुरुप तनहुँका व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा विकास र पहुँचको धेरै अन्तर देख्न सकिन्छ भनिराख्न पर्दैन ।
तनहुँ जिल्लाका दश पालिका मध्ये भिमाद नगरपालिकालाई प्रतिनिधी उदाहरणको रुपमा पनि लिन सकिन्छ । पृथ्वी राजमार्गबाट दक्षिणतर्फ पर्ने भिमाद नगरपालिका कोभिड-१९ को संक्रमणबाट अछुतो छैन । जिल्लाकै दक्षिण पश्चिमको व्यापारिक नाका भिमाद बजार आफैमा पुरानो र ऐतिहासिक अस्तित्व बोकेको बजार भएकाले यसको महत्व र आकर्षण छुट्टै छ । यही भिमाद भएर बाहिर निस्कने र भित्रप्रवेश गर्ने पूर्वी पाल्पा, पूर्वी नवलपुरको पहाडी क्षेत्र, स्याङ्जाको हरिनास गाउँपालिकाको समेत व्यापारिक केन्द्र भएकै कारणले पनि दैनिक उपभोग्य सामान आपूर्ति भिमाद बजारबाटै हुने भएकोले बिरगञ्ज, नारायणगढ, भैरहवादेखि खाद्यान्न र निर्माण सामग्री लगायत लत्ता, कपडा भिमाद बजार हुँदै आपूर्ति हुने विचौलीयाको केन्द्रको कारण माल समान ढुवानी र बढी मानिसको आवागमनले पनि कोरोना संक्रमणको जोखिम उच्च छ । यो जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि भिमाद नगरपालिकालाई आइपरेको चुनौती र अवसरलाई नेपथ्यबाट पनि हेरिदै आइएको छ ।
यस विषयलाई ख्याल गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको अध्यक्षतामा भाद्र १२ गते बसेको ‘सर्वपक्षीय सर्वदलीय’ बैठककै बीचमा व्यापारिक स्वार्थका कुरा व्यापार व्यावसायी प्रतिनिधीबाट प्रकट हुनु कुनै नौलो र आश्चर्यको विषय थिएन । भिमादको पृष्ठभूमिलाई फर्केर हेर्दा बाइसे चौविसे राज्यकै पालादेखि व्यापारिक केन्द्र भिमाद थियो र आजपनि छ । भिमाद खाल्टोको माथि डाँडाहरुमा राङ्रुङ, गृहकोट, गजरकोट, घिरिङ, साभुङ, ऋषिङ र छाङ जस्ता विशाल नेवार हटीया अहिले उजाडीदै गएका छन् । पौराणिक कथनका भिमसेनले सेतीनदी थुनेर बाँधबाँधेको कारण भिम्बाँधबाट अपभ्रम्स भई जनजिभ्रोले भिमाद नामाकरण भएको भिमाद नगरपालिकासँग भौगोलिक सिमाना जोडिएका पालिकाको समेत प्रत्यक्ष प्रभाव पर्ने भिमाद नगरपालिका (बजार क्षेत्र पनि) सेतीनदी किनारका सिमित समथर भू-भाग उर्वर भूभि बुडुवा फाँट ऋषिङपाटन, पिरुङ, मैदीखोला, जिदी-क्याङदी किनारका पारि म्याग्दे गाउँपालिकाको छाङ्पाटन थाङदी जस्ता फाँट बढ्दो मानव बसोबास र सहरीकरणको छरपस्टै निर्माण भएका र हुँदै गरेका कंक्रिट भवनहरुले लपेट्दै गर्दा दीर्घकालिन योजनामा समेत प्रभाव पर्ने देखिन्छ । यस्तो प्रभाव नकारातक र सकारात्मक दुबै हुनसक्छ ।
तर्सथ भिमाद नगरपालिकाले तल वेशी खण्ड र माथिल्लो भागलाई सुक्ष्म अध्ययन गरेर भविष्यको खाका कोर्न अब ढिलो गर्न हुँदैन कि ? यहाँ उद्योग, व्यापार, कृषि शैक्षिक लगायत व्यवस्थित बसोबास र उत्पादनतर्फ फलफूल, तरकारी खेती, बाख्रापालन आदि धेरै सम्भावनाहरु यही विकसित गर्नका लागि खोजी गर्न सकिदैन र ? जसका कारण विदेश मोहमा भौतारिएका युवाहरुलाई गाउँमै केन्द्रित गर्न सहज हुनेछ । तसर्थ विज्ञहरुको यस थलोमा नजर घुमाउन नगरपालिकाले नै पहल गर्नुपर्दछ । अरु विकल्पपनि देखिदैन ।
सुन्तला, अदुवा, मास उत्पादनको उर्वरभूमि जंगलमा रुपान्तरण हुनबाट र वातावरणमा हुने प्रतिकुल प्रभावलाई न्युनीकरण गर्ने चुनौतीतर्फ पनि ध्यान जान जरुरी छ । जिदीखोला लहरेनीमा अदुवा प्रशोधन केन्द्र स्थापनार्थ भवन निर्माण भएको छ । यसको सफल उपयोगको लागि कार्यान्वयन तर्फ स्थानीयवासीको चासोपूर्ण प्रतिक्षा रहेको छ । त्यसै गरी भिमाद-९ भानुमतीमा मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषिगाउँ योजना प्रारम्भ भैसकेको छ । विस्तारै प्रतिफल प्राप्त हुँदै जानेछ । तल्लो समथर भागका सडकहरु कालोपत्रे हुँदै छन् । सबै वडा र वस्तिहरुमा कच्ची सडक पुगिसकेको छ ।
त्यस्तै खानेपानी सुविधापनि सबै ठाउँमा पुगेको र पुर्याउने अभियान जारी छ । केही केन्द्रीय योजनाहरु जस्तै भावर दोभान जोड्ने सेतीनदी र जिदीखोलाका केन्द्रीय योजनाका मोटरेवल पुल निर्माण कार्य अलपत्र छन् । स्थानीय तह पुनःसंरचना अघिको तुलनामा अहिले गाउँमा बजेट लाखमा नभै करोडमा प्राप्तहुने गरेको छ । २०७७/७८ को लागि ५६ करोड ५३ लाख ७७ हजार २० रुपैया विनियोजन हुनुले केही वर्षभित्रै तल्लो तहलाई जुरुक्क उचाल्ने सम्भावनालाई सहज रुपमा आँकलन गर्न सकिन्छ । ७ हजार ४८८ घर धुरी २०६८ को जनगणना अनुसार ३१ हजार ३६२ जनसंख्या भिमादमा रहेको छ । चिन्ताको विषय गाउँ छोड्ने वेसी तिर र अलि पर विकसित शहर ताक्ने रोजगारी विदेशमा खोज्ने प्रबृत्तीलाई रोक्न माथिउल्लेखित बजेटका अंक वर्षेनी बृद्धि र तत् क्षेत्रमा सफल कार्यान्वयनले मात्र गाउँ हराभरा हुँनेछ ।
गण्डकी प्रदेश मन्त्रिपरिषदमा किरण गुरुङ, संघीय प्रतिनिधि सभामा केदार सिग्देल अझै यसरी भनौं २०४८ सालदेखि ऐलेसम्म २०५१ सालको मध्यावधीलाई छाडेर सबै निर्वाचनमा हालको भिमाद नगरपालिकाले नै प्रतिनिधी सभामा प्रतिनिधित्व गराउन पनि भिमादवासी नै सफल छन् । त्यसैले पनि भिमादको विकासका लागि सम्बन्धित नेतृत्वको भूमिकाको अपेक्षा देखिन्छ । किहुँ-जौपानी र भानुमती चिहानडाँढाको उचाइमा फुल्ने लागिगुँरास तल माछापुच्छ्रे हिमशिखरबाट पर्यटकीय महानगर पोखरा हुँदै म्याग्देलाई बायाँ र भिमादलाई दाहिने तर्फ राखेर पूर्व हानिएको सेतीनदीको कलकल बहावले यस क्षेत्रको समृद्धिलाई आमन्त्रण गरिरहेको भन्दा अतियुक्ति होला र ?










