ग्राहकसंग तोकिएभन्दा बढी शुल्क लिने तनहुँका दुइ होटललाई प्रशासनले गर्यो जरीवाना
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुइ होटललाई चार लाख रुपैयाँ जरीवाना गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुइ होटललाई प्रशासन कार्यालयले दुइ लाख रुपैयाँका दरले जरीवाना गरेको हो ।
व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि दुइ/दुइ लाख रुपैयाँका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए।
‘ती दुइ होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक-पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो’, गैह्रेले भने, ‘सोही आधारमा दुइ होटललाई दुइ लाख रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेका हौं ।’
सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड -ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा -१) को खण्ड -ख) बमोजिम दुइ लाख रुपैयाँका दरले जरीवाना गरिएको छ ।
उक्त जरीवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैंक दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । उनले भने, ‘उक्त अवधिभर जरीवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुनेछ ।’
प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरीवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौंको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए । उनले भने, ‘अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरीवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ ।’
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिएभन्दा बढी मूल्य लिने गरेको गुनासो बेला-बेलामा आउने गरेको थियो ।










