एमालेका उम्मेदवार कार्यकर्ता भेटघाट र अन्तरक्रियामा
भञ्ज्याङ न्यूज

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. २ का उम्मेदवारले कार्यकर्ता भेटघाटसँगै घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।
प्रतिनिधी सभातर्फका उम्मेदवार एवं स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेश १ का उम्मेदवार श्यामराजा महत र प्रदेश २ का उम्मेदवार केदार सिग्देले आफ्नो क्षेत्रका कार्यकर्ता भेटलाई जारी राखेका हुन् ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार गुरुङ र प्रदेश सभा सदस्यका उम्मेदवार महत शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं. ९ र १२ का विभिन्न क्षेत्रमा पुगे ।
वडा नं. ९ को घारीमा वडा सम्पर्क कार्यालयको उद्घाटनसँगै वडा नं. १२ को लिलाचोक, रातमाटा, लामागाउँ, जस्पुर, प्युरीदोभान लगायतका क्षेत्रमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सदस्यका उम्मेदवार एवम् पूर्व मन्त्री किरण गुरुङले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएको बताउदै देशको हित र राष्ट्रियताको पक्षलाई बलियो बनाउने पार्टीलाई मत दिनुपर्नेमा जोड दिए ।
उनले गठबन्धनले केन्द्र र प्रदेश सरकारलाई अस्थिरतातर्फ लैजाने भएकाले एमालेलाई बहुमत दिलाएर स्थिरताको पक्षमा उभिन आग्रह गरे ।
प्रदेश सभा सदस्यका उम्मेदवार महतले गठबन्धनका कारण पछिल्लो समयमा संघीतामाथिनै प्रश्न खडा भएको बताउदै नेकपा एमालेले मात्र सहि ढंगबाट सरकार सञ्चालन गर्न सक्ने उल्लेख गरे ।
नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना, प्रदेश कमिटी सदस्य हर्क गुरुङ, नगर सचिवालय सदस्य भरत लामगादे, वडा कमिटी अध्यक्ष चुम बहादुर उचै ठकुरी, सचिव कोष बहादुर गुरुङ लगायतले बोलेका थिए ।
यस्तै प्रदेश २ का उम्मेदवार सिग्देलले पार्टीको भिमाद–१, २ र ३ का विभिन्न वडा स्तरीय बैठक र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरे । उनले वडा कमिटीहरु तल्लो तहमा पुगि निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।










