चियाँको इतिहास र पर्यटनको विकास
के.बि. मसाल

इलामको नाम सुन्ने बित्तीकै सबैलाई चियाँको याद आउछ । नआओस पो कसरी नेपालमा चियाँ खेतीको सुरुवातनै इलामबाट भएको हो । अहिले इलाम चियाले गर्दा पर्यटनको बिकास भएको छ। नेपालमा चियाको इतिहास खोज्न पनि इलाममा पुग्नु पर्दछ । इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि.सं. १८४९ मा भएको बेत्रावती सन्धि पछि चिनिया सम्राटले जंगबहादुर राणालाई उपहारका रुपमा पठाइएको चियाको बिरुवा इलाममा रोप्न लगाइएको इतिहास छ। इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहासमा पुरानो बगान हो ।
वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशै भर विस्तार भएको छ भन्दा पनि हुन्छ । नेपालमा चियाको इतिहासमा गजराज सिंह थापा संस्थापक हुन । गजराजसिंह जगंबहादुर राणाको छोरी ज्वाइँ थिए । गजराज सिंह थापाले इलाममा चिया बगानको बिस्तार गर्दा पछि चियाको बिरुवा दार्जिलिङबाट आयात गरेका थिए । वि.सं. १९३५ सालमा इलामको चियाबारी बीचमा स्थापना भएको चिया कारखाना पनि नेपालकै पुरानो कारखाना हो। इतिहासमा चियासँग चिनियाँ सम्राट सेनङको नाम जोडिएको छ। प्राचिन चिनियाँ सम्राट सेनङको बानी उमालेको पानी मात्रै पिउने थियो। एक दिन बगैचामा बसेर पानी पिउन लाग्दा रुखको पात खसेर तातोपानी पिउन लागेको भाँडामा प¥यो । त्यस पातले गर्दा रङ र स्वाद पनि फेरियो । त्यो पानी पिउँदा सम्राटले फरक स्वाद महसुस गरे । त्यसपछि सम्राट सेनङले उमालेको पानी पिउँदा त्यही बिरुवाको पात राखेर पिउन थालेछन। उनले त्यस पातको परीक्षण गर्दा औषधीय गुण गुण र विष प्रतिरोधात्मक शक्ति पनि रहेको थाहा पाए । चीनमा सम्राट सेनङले पात उमालेर पिउन थाले पछि रुख चियाको नामले लोकप्रिय बन्न पुग्यो । संसारमा सर्वप्रथम चिया पिउने संस्कृतिको विकास चीनबाट सुरु भएको मानिन्छरु। चियाको उदगमस्थल दक्षिण–पश्चिमी चीन र उत्तरी बर्माको सीमाक्षेत्रलाई मानिएको छ ।
सुगौली सन्धि पहिले नेपालको पूर्वी सिमाना टिष्टा नदीसम्म थियो । सन्धिपछि नेपालको सिमाना इलामको मेची नदी कायम भयो । त्यो भन्दा पहिले इलामको सदरमुकाम दार्जीलिङको मिरिकमा थियो। सन्धिको सर्तअनुसार ५० दिनभित्र आफ्नै सिमानाभित्र सदरमुकाम सार्नु पर्ने भयो । त्यो वि.सं. १८७२ को कुरा थियो । इतिहासकार प्रा. दिनेशराज पन्तका अनुसार इलाममा चियाखेती थालनी भएसँगै बगानमा काम गर्ने केही मजदुर र दक्ष कामदार पनि दार्जीलिङबाट झिकाइए । उनीहरुलाई बस्न मजदुरको आवास क्षेत्र बसाइयो । गौंडा भएपछि गाउँका अन्य केही मानिस पनि इलाममा आएर बस्न थाले। गाउँका मानिस इलाममा गए पछि बजारको रुपमा स्थापित भयो । थापाले इलाममा लालदरबार बनाए, घोडेटो बाटोहरु खनाए, मन्दिर, पाटीपौवा बनाए। उनकै पालामा इलाममा टुँडिखेल पनि बन्यो । वि.सं १९२२ मा इलामको सोक्तिममा अर्को चिया कमान बनाए। विभिन्न ठाउँमा फलफूलका विरुवा रोपेर बगैँचा बनाए ।
विश्वमा चिया पानी पछिको सर्वाधिक पिउने पेय पदार्थमा पर्दछ । विश्वका हरेक मानिसको घरमा प्रायः चिया पिउने प्रचलन हुन्छ । नेपाललगायत दक्षिण एसियाका साथै युरोप र अमेरिकामा चियाको प्रचलन धेरै पुरानो नभएपनि चीन, जापान र कोरियामा चियाको हजारौँ वर्ष पुरानो इतिहास छ । चीन र जापानमा त चिया संस्कृतिको हिस्सा नै भएको छ। चीनबाट फैलिएर जापान, भियतनाम, इन्डोनेसिया, भारत, नेपाल, श्रीलका, टर्की, इरान, केन्या लगायतका देशको बगानमा पुगेको चिया प्रशोधन र बजारीकरण पछि विश्वका सबै मुलुकको घर भान्सामा पुगेको छ । चियालाई भारतमा चाय नेपालमा चिया भनिन्छ । तर फारसी भाषामा पनि चाय भनिन्छ । बर्मामा भने चियालाई लफने भनिन्छ । चियाको बोटको वैज्ञानिक नाम क्यामेलिया साइनेन्सिस हो । यो सदाबहार झाडी प्रजातिमा पर्दछ। चियाको पातबाट हरियो, कालो सेतो प्रकारको चिया बन्छ । कालो र हरियो चिया दुबै क्यामेलिया साइनेन्सिसबाट बनेको हुन्छ । हरियो चिया कलिला मुना र टुसाबाट बनाइन्छ । चियाका पात सुकाएर अक्सिडेसन प्रक्रियाबाट कालो चिया बनाइन्छ । चियाको प्रशोधन प्रक्रियामा यसको प्रकार निर्धारण हुन्छ । पातमा पाइने क्याफिनका कारण चिया सुगन्धित हुन्छ । चिया पिउँदा त्यसमा पाइने क्याफिनले शरीरलाई उर्जा दिन्छ ।
इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडी राई र लिम्बु जातिहरुको किरात राज्य थियो । त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरुकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ । महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा रहेको इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। प्राचिन समयमा लिम्बु जातिहरुकै बाहुल्यता भएकाले इलामको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ । जसमा “इ”को शाब्दिक अर्थ घुमाउरो र “लाम”को शाब्दिक अर्थ बाटो अर्थात इलामको अर्थ घुमाउरो बाटो हुन जान्छ । हुन पनि हो! झापादेखि इलाम जाँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ । इलामको चिया बारी, प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अवलोकन गर्न आन्तरिक मात्र नभएर वाह्य पर्यटकहरु पनि इलाम पुग्दछन । चियाले ख्याती कमाएको इलामको छुट्टै महिमा छ । चियाका थुम्का, झरना, पोखरी र पहराहरु इलामका पर्यायनै हुन ।
चियाको राजधानीको नामले चर्चा बटुलेको इलामले चियालाई आधार नै बनाएर आर्थिक उपार्जनको माध्यम बनाएको छ । जताततै चियाका बुटाहरु देख्ने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै पर्यटकहरुको मन हरियो चियाको बोटले लोभ्याउँछ । इलाम जाने धेरै पर्यटकहरुले चियाबारी र चिया कारखाना घुम्न छुटाउँदैनन् । भ्याएसम्म चिया टिपाइ, प्रशोधन प्रक्रिया र यसको ऐतिहासिक पृष्ठभूमि खोतल्ने प्रयास गर्दछन । इलामका अधिकांश ठाउँ यस्तो छैन, जहाँ चिया नहोस् । थोरै भएपनि किसानको बारीमा चियाका मुनाहरु लहलहाइ रहेको हुन्छ। गाउँले जीवनशैली र हिमाली सौन्दर्य बेच्ने इलाम चैतदेखि असोजसम्म चियाको बैंसले पर्यटक तान्छ । यो समय चियाका मुना पलाउने सिजन पनि हुन्छ । चियाको विषय अध्ययन गर्ने विद्यार्थीका लागि त इलाम पुग्नै पर्ने हुन्छ। बडाहाकिम गजराजसिंह थापाले वि.सं १९३५ मा बेलायतबाट चिया प्रशोधन गर्ने मेसिन झिकाई आधुनिक चिया प्रशोधन कारखाना बनाएका थिए ।
नेपालको औद्योगिक इतिहासमा इलामको यो चिया कारखाना नै पहिलो कारखाना हो । इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने २० वटा ठूला चिया कारखाना छन । त्यस मध्ये फिक्कल सुन्दरपानीको गोर्खा टी स्टेट, फाकफोकथुमको तीनजुरे चिया उत्पादन कारखाना, साँखेजुङको हिमालयन सांग्रिला, माइपोखरीको सन्दकफु लगायत चिया कारखानाले स्थापनाकालदेखिनै अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन। नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशतमध्ये पनि पाँच प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ ।
प्रकृति र इलामको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन गर्नका लागि युवायुवतीहरुको रुचि बढेको छ। छिनछिनमा परिवर्तन हुने इलामको मौसम, हुस्सु र बादलुको लुकामारीले इलाम पुगेपछि सबै पर्यटकहरुलाई मन्त्रमुग्ध नै बनाइदिन्छ । इलामको बिहानको मनोरम दृश्यले त झन पर्यटनको मनै लोभ्याउछ । इलाममा कन्याम, पानीचार, जसविरेलगायत ७० भन्दा बढी चियाँका बगानहरु छन् । इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । इलाममा प्रकृति र संस्कृतिको सगम नै पर्यटनको लागि मुख्य आधार मानिन्छ । इलाममा पर्यापर्यटन, कृषिपर्यटन, चिया पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनले गर्दा घुमफिरको लागि पर्यटकहरुको रोजाइमा पर्दछ। लोभैलाग्दा डाँडाकाडा होचा थुम्कामा चियाँबारी, अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली इलाममा छ । अर्कोतर्फ जैविक विविधता, धार्मिक क्षेत्र, जनजातीहरुको संस्कृति र प्राकृतिक सुन्दरताले समेत इलाममा पर्यटकहरु पुग्दछन ।
तर धेरै पर्यटकहरु इलाम जादा कन्याम पुगेपछि इलाम घुमफिर गरेको ठान्दछन । इलाममा पुगेपछि घुमफिर गर्ने ठाउँहरु धेरै छन । कन्याम मात्र होइन इलाममा अन्तु, सन्दकपुर, माईपोखरी, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङमालुङ, माङसेबुङ, गजुरमुखी, रेड पाण्डाको बासस्थान भएको वन, पशुपतिनगर र सदरमुकाम इलाम बजार समेत पर्यटकहरु पुग्न सके राम्रो हुन्छ । तर यी सबै ठाउँ घुम्नको लागि पर्यटकहरुसंग समय र खर्च गर्ने आवश्यक पैसा पनि हुनु पर्दछ । इलाममा घुमफिर गर्दा सबै ठाउँको आ–आफ्नो महत्व छ । तर पनि अन्तु पुगेन भने इलामको घुमफिरनै अधुरो जस्तो हुन्छ ।
पर्यटनका लागि अन्तुको मुख्य विशेषता भनेको नै स्थानीय उत्पादनको परिकार खान पाउनु र लोपोन्मुख लाप्चा समुदायको भाषा सस्कार संस्कृतिसँग नजिक हुनु हो। अन्तु समुद्र सतहबाट करिब २ हजार ३२८ मिटरको उचाईमा पर्दछ । प्राकृतिक रुपमा अन्तु भ्युटावर हो भन्दा पनि हुन्छ। अन्तुबाट अन्तुबाट कञ्चनजंघा लगायत हिमश्रृंखला नजिकै देखिन्छन। झापा, कन्याम, भारतको दार्जलिङ, मिरिक, सिलिगुडी लगायत रमणिय भौगोलिक श्रृंखला पनि पर्यटकहरुले अन्तुबाट अवलोकन गर्न सक्दछन ।
अन्तुमा पर्यटकहरुलाई आकर्षणका लागि भ्यूटावर, कोसेली घर समेत रहेको छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन,विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङगा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गर्दछन । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत अन्तुमा पुग्ने पर्यटकको रोजाइमा पर्ने गर्दछ ।
अन्तुडाँडामा हिउँद वर्षा दुवै याममा पर्यटकहरु पुग्ने गर्दछन । सबैभन्दा धेरै शुक्रवार र शनिबार पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ। अन्तुसम्म जाने सडक कालोपत्रे भएको छ । अन्तुमा दर्ता भएका ६२ वटा होमस्टे छन । होमस्टे बाहेक पर्यटकहरुलाई खाना बस्न अन्तुमा होटल समेत छन । अन्तुले गरेको आतिथ्य सत्कारमा पर्यटकहरु रमाउने गर्दछन । अन्तुमा पुगेका पर्यटक एक दिनदेखि महिना दिनसम्म पनि बस्ने गर्दछन। अन्तुको चिसोमा रातभर बसेर आगो ताप्ने, नाचगान गर्ने, लेप्चा सस्कृति, लोकल कुखुरा, स्यालको रक्सी, कोदो र फापरको रोटी अन्तुमा पुगेका पर्यटकको पहिलो रोजाइ पर्दछ । अन्तुमा घुम्नको लागि बिशेष गरी असोज, कात्तिक र मंसिर तीन महिना पर्यटनको सिजन मानिन्छ ।
अन्तुमा नेपालका मात्र होइन भारत, भुटानलगायत धेरै देशबाट पर्यटकहरु पुग्ने गर्दछन । प्रायः बिदाको अघिल्लो रात अन्तुमा बास बस्नु प¥यो भने दुई दिन अघि नै होमस्टे र होटल बुक गराउनु पर्दछ। धेरै पर्यटकहरु अन्तुडाँडाबाट सूर्योदय, सूर्यास्त, उत्तरतर्फका हिमाल र तराईका फाँट हेर्न पर्यटकहरु लोभिने गर्दछन। तर, पर्यटकीय चियाबारी, कृषिले सुधारिएको जीवनशैली, अन्तु पोखरीमा डुंगा सयर, लोपोन्मुख लाप्चा जातिको सांस्कृतिक संग्रहालयले पनि पर्यटकलाई अन्तुसम्म तान्ने गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट पुग्ने पर्यटकहरुका लागि अन्तुमा आनन्दको महसुस हुन्छ। अन्तुमा होमस्टेमा बास बसेर पाहुनाका रुपमा ढिँडो, कोदो, फापरको रोटी, अर्गानिक अर्थोडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङबा र स्थानीय उत्पादनको रक्सी पिउन पर्यटकहरु लालयित हुने गर्दछन ।
फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित एक व्यापारिक केन्द्र हो । इलामको पूर्वी ब्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्वपूर्ण स्थान हो । किसानले उत्पादन गरेको अलैची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्रि गर्ने यो बजार पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ। प्राय गरी चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दुरीमा पर्छ । सदरमुकामबाट करिब ४३ किमी टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुम्ने स्थानहरु पनि छन् । दार्जीलिङ भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो । नेपालबाट भारतको दार्जीलिङका घुम्न जाने नेपालकै पश्चिमी जिल्लाका पर्यटकहरु पनि फिक्कल भएर जाने गरेका छन्। कन्याम आएका पर्यटकहरुको बस्ने ठाउँ पनि फिक्कल नै हो । कन्याम पर्यटकीय भएपनि आवास सुविधा नभएको क्षेत्र हो । यहाँ आउने पर्यटकहरु फिक्कलमा एक दुई रात बस्न मन पराउछन् ।
अन्तु मात्रै होइन, इलामको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर पनि पर्यटकले छुटाउनै नहुने सूचीमा पर्दछ । यसै गरी इलामको रामसार क्षेत्र माइपोखरी, छिन्टापु, फुस्रे पोखरी, टोडके झर्ना, सेतीदेवी भालुढुङ्गा, इलाम बजार, कन्याम, पशुपतिनगर फिक्कल लगायतका पर्यटकीय क्षेत्र इलाम पुगेपछि छुटाउन नहुने ठाउहरु हुन ।