आ.व. २०७९/०८० का लागि भानु नगरपालिकाको रु ८९ करोड अनुमानित बजेट
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८९ करोड ६८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले विहीबार आयोजना गरेको दशौं नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उमा गोतामेले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक बजेटको कुल खर्च व्यहोर्ने स्रातमा आन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड ८ लाख, सशर्त पुँजीगत रु १ करोड ३९ लाख, विशेष अनुदान रु १ करोड ५० लाख, समपुरक अनुदान रु २ करोड २० लाख, संघीय राजश्व बाडफाडबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै नगरपालिकाले गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु १ करोड ८८ लाख ९० हजार, प्रदेश राजश्व बाडफाड रु १ करोड २२ लाख १५ हजार, प्रदेश समपुरक रु १ करोड प्राप्त हुने अनुमान गरेको छ । आन्तरिक आय तर्फ रु २ करोड ५० लाख र चालु आवमा खर्च नभई बाँकी हुने अनुमान गरिएको उपप्रमुख गोतामेले नगरसभामा जानकारी गराएकी थिइन् ।
उपप्रमुख गोतामेले यस बजेटको भित्र संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण भई आउने बजेटहरु अन्तरसरकारी अख्तियारी मार्फत प्राप्त भई खर्च हुने भएकाले बजेटमा समावेश नगरिएको बताइन् । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अनुदान, समपुरक अनुदान तथा अन्य अख्तियारी मार्फत प्राप्त हुने बजेटहरु स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रणालीमा नै स्वीकृत गरी भुक्तानी दिने व्यवस्था मिलाएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा संघीय सरकारबाट समानिकरण अनुदान रु १४ करोड ८३ लाख, शसर्त रु. ४१ करोड ५४ लाख ७७ हजार र विशेष अनुदान रु. २ करोड ८ लाख गरी कुल रु. ५८ करोड ४५ लाख ७७ हजार बजेट सीमा प्राप्त भएकोमा हालसम्म रु. ४५ करोड ६८ लाख ३२ हजार खर्च भएको उपप्रमुख गोतामेले नगरसभामा जानकारी गराइन् ।
नगरपालिकाले राजश्व बाडफाँड तर्फ रु. ११ करोड ३९ लाख ९७ हजार हुने गरिएकोमा रु. १० करोड ३० लाख प्राप्त गरेको छ । यस्तै, गण्डकी प्रदेश सरकारबाट चालु आवका लागि समानिकरण अनुदान रु १ करोड ७८ लाख १० हजार सशर्त तर्फ रु ४० लाख र समपुरक अनुदान रु ९९ लाख, राजश्व बाडफाड रु १ करोड १ लाख ७९ गरी कूल रु १४ करोड २८ लाख ८९ हजार सीमा प्राप्त भएकोमा हालसम्म रु ३ करोड ४९ हजार प्राप्त भएको बताइएको छ ।

आन्तरिक आम्दानी तर्फ नगर मौज्दात सहित रु २८ करोड २७ लाख ७० हजार ६४३ उठ्ने अनुमान गरिउकोमा असार ८ गतेसम्म २८ करोड ५ लाख ५७ हजार ८३८ रुपैयाँ आम्दानी गरी आव २०७८/०७९ कुल अनुमानित आय रु १ अर्ब १ करोड ४० लाख ५४ हजार ६४३ रहेामो असार ८ गतेसम्म रु ८६ करोड ३५ लाख ८९ हजार ९७ आम्दानी भएको उपप्रमुख गोतामेले नगरसभामा जानकारी गराइन् ।
नगरपालिकाले चालु आवको कुल बजेट मध्ये असार ८ गतेसम्म ५३ करोड ४३ लाख २१ हजार ७६८ अर्थात ५२.६९ प्रतिशत वित्तीय प्रगती गरेको छ । कुल खर्च मध्ये चालु तर्फ ३६ करोड ८३ लाख ४६ हजार ६१० रुपैयाँ अर्थात ५८.९५ प्रतिशत, र पुँजीगत तर्फ १६ करोड ५७ लाख ७५ हजार १५८ रुपैयाँ अर्थात ४२.६२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख गोतामेले जानकारी गराइन् ।
नगरप्रमुख आनन्दराज त्रिपाठीको सभाध्यक्षमा आयोजित दशौं नगरसभामा उपप्रमुख गोतामेले आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति प्रस्तुत गरेकी थिइन् । नगरवासीलाई घरमै सेवा पुर्याउने र कर भुक्तानीलाई सरल, सहज र प्रविधि मैत्री बनाउन चालु आवदेखि नै मालपोत तथा सम्पत्ती कर घर घरबाट नै नागरिकलहरुले प्रयोग गर्ने मोबाइलबाट क्यूआर कोड मार्फत समेत भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी गराइन् ।
नगरपालिकाले कुल बजेटमा आन्तरिक आम्दानीको अंश वृद्धि गर्दै लौजाने गरी करको दरमा सामान्य परिवर्तन तथा करको दायराको व्यापक उपयोग नीति लिइको छ । खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक २०७९ तथा करका दरहरु समेत ल्याइने उपप्रमुख गोतामेले बताएकी छन् ।










