आँवुखैरेनी गाउँपालिका : “भोलीको समाज र देश कस्तो बनाउने भन्ने कुरा आज हामीले दिएको शिक्षामा निर्भर हुन्छ”

आँबुखैरेनी गाउँपालिकाले सामाजिक विकासको क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आफ्नो नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने गरेको छ । अनुत्पादनमुलक क्षेत्रमा गरिने लगानी र वितरणमुखी बजेटको बिगतको अभ्यासले परिणाम दिन सकेन, यसबाट सिक्दै शुरुदेखि नै गाउँकार्यपालिकाले स्थानीय सरकारको मुख्य दायित्व भित्र रहेको शिक्षा, स्वास्थ्यलाई केन्द्रमा राखेर निरन्तर रुपमा विभिन्न लक्षित कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् ।
‘पहिलो कुरा, संविधानत माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहमा छ । संविधानले दिएको यो दायित्व स्थानीय तहले कुनै हालतमा पुरा गर्नुपर्छ । यो वा त्यो बाहानामा अब पनि शिक्षाको जिम्मा नलिने र अरु तिर मात्रै दोष देखाउने कुरा जायज हुँदैन। दोस्रो कुरा, हाम्रा अधिकांस गाउँहरु खाली हुँदै गएका छन् । यसका विभिन्न कारणहरु छन्, ति मध्ये सार्वजनिक विद्यालयमा विश्वास नहुनु पनि हो’, अध्यक्ष चुमानले भने, ‘यदि हामीले हाम्रा गाउँहरु जोगाउने हो भने सामुदायिक विद्यालय जोगाउनु अनिवार्य सर्त बन्न गएको छ । गाउँ जोगाउनु भनेको हाम्रो संस्कृति, भाषा, र पहिचान जोगाउनु हो। यो हाम्रो अमुल्य सम्पति हो ।’
उनले भने, ‘भोलीको समाज र देश कस्तो बनाउने भन्ने आजको बालबालिकालाई हामीले कस्तो शिक्षा दिन्छौं, त्यसमा भर पर्दछ, आज हामीले कलिला बालबालिकालाई गुणस्तरीय, जिवनोपयोगी र कुशल, सक्षम नेतृत्व गर्न सक्ने ज्ञान र सीप उनीहरुमा इन्जेक्ट गर्न सक्यो भने, भोलिको समाज समृद्ध बनाउन सक्छौं । यो कथाले नै हामीलाई शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रेरणा मिलेको हो ।’
गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि दुरगामी महत्वका कामहरु गरिरहेको छ । गाउँकार्यापालिकाका जनप्रतिनिधीले आफ्ना बाबुनानीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर सार्वजनिक विद्यालयको मनोबल उच्च बनाएका छन् । यस अभ्यासलाई शिक्षकहरुले पनि आफै निर्णय गरेर अधिकांसले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाएका छन् । यसबाट बिद्यालयमा उत्साह, थप आत्मबल र सम्मान मिलेको छ र आम अभिवावाकलाई पनि विश्वाश गर्ने दरिलो आधार बनेको अध्यक्ष चुमान बताउँछन् ।
गाउँपालिकाले सार्वजनिक विद्यालयको पूर्वाधारमा सुधार गर्दै लगेको छ । विद्यालयका छाना, कक्षाकोठाको भुइँ, सिलिंग, फर्निचर, अपुग कक्षाकोठा निर्माण, रंगरोगन आदि सम्पूर्ण काम गरेको छ । हेर्दैमा मन खिन्न हुने बिद्यालयहरुको रुप अहिले फेरिदै गएको छ । ‘विद्यार्थी संख्या अत्यन्त कम रहेका ८ विद्यालयलाई समायोजन गरेको छ । यसरी समायोजन गर्दा सहरी क्षेत्रमा बिद्यालय बसको ब्यबस्था गरिएको छ । हाल तीन वटा विद्यालय बसले ८ विद्यालयका बिद्यार्थीलाई सेवा दिएको छ’, उनले भने, ‘यातायात सहज नभएको विद्यालयमा छात्राबासको ब्यबस्था गरिएको छ । टाढाबाट हिडेर विद्यालय आउनुपर्ने विद्यार्थीका लागी दिवा खानाको ब्यबस्था गरिएको छ । आर्थिक अभावका कारण पोशाक नहुने, स्टेशनरी नहुने विद्यार्थीलाई त्यसको पनि व्यवस्था गरी सबैको पहुँचमा शिक्षा पु¥याउने लक्ष्यका साथ हामी अगाडि बढेका छौं ।
‘निःशुल्क तथा अनिवार्य शिक्षा पूर्ण रुपमा कार्यन्वयन गर्ने नीति अनुसार २४ बिद्यालय मध्ये २२ बिद्यालय पूर्ण रुपमा निःशुल्क छन् भने १ माध्यमिक विद्यालयमा कक्षा ६ सम्म पूर्ण निःशुल्क छ भने एउटा माध्यमिक विद्यालयलाई निःशुल्क बनाउन बाँकी रहेको छ’, उनले भने, ‘पालिकाले सत प्रतिशत निःशुल्क बनाउने लक्ष्य र योजना राखेको छ ।’
शिक्षक दरबन्दी अपुग भएको बिद्यालयमा गाउँपालिकाले स्वयंसेवक शिक्षकको ब्यबस्था गरेको छ । हाल २४ जना स्वयंसेवक शिक्षक कार्यरत छन् । अध्यक्ष चुमानले भने, ‘फरक शैली, नविनतम बिधि प्रयोग गरी उत्कृष्ट कार्य गरिरहेका संस्थासंग सहकार्य गर्दै विद्यालयको शैक्षिक सुधारमा २ वटा संस्थासंग लागत साझेदारीमा सहकार्य शिक्षक कार्यक्रम अन्तर्गत प्राथमिक तहमा गणित र विज्ञान अध्यापन गराउन पाँचवटा विद्यालयमा १० जना साथी शिक्षकले अध्ययापन गराइरहेका छन् भने सिएसएन संस्थासंग विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका लागि ३ वटा विद्यालयमा सहकार्य भएको छ । यी विद्यालयमा सिएसएनका ६ जना स्कुल लिडर कार्यरत छन् ।’
समुदायलाई बिद्यालायसंग जोड्न, गाउँमा रहने अभिभावकको प्रोत्साहन गर्न र सामुदायिक विद्यालयप्रति विश्वास जगाउन गाउँपालिकाको दुर्गम क्षेत्र वार्ड नं. ४, ५ र ६ का विद्यालयमा अध्ययनरत विद्यार्थीको परिवारको स्वास्थ्य बीमा गरिएको छ । गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यार्थी बचत खाता खोलेको छ र हाल सामुदायिक विद्यालयका छात्राको खातामा रु एक हजार बचत गरेको छ । विद्यार्थीलाई उद्यमशील बनाउने योजना अन्तर्गत यो बिउ पुञ्जी बचत गरिएको हो । विद्यार्थीलाई निजको रुची अनुसारको कुनै उत्पादन, परियोजना, ब्यबसाय वा अनुसन्धानमा सहयोग गरी उद्यमशीलताको अभ्यास गर्न यो कार्यक्रम शुरु गरिएको अध्यक्ष चुमानले बताए ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीले आफ्नो पढाइ बिचैमा छाड्न नपरोस भन्ने नीति अनुरुप गाउँपालिकाले अभिभावकत्व लिन माध्यामिक तथा स्नातक तहमा अध्ययन गर्ने गरीब तथा जेहन्दार विद्यार्थीलाई निरन्तर रुपमा छात्रवृति कार्यक्रम प्रदान गरेको छ। करिव पैतिस लाख रुपैयाँ बराबरको छात्रवृति उपलब्ध गराई डाक्टर पढाएको र यस कार्याक्रमलाई निरन्तरता दिईने पालिकाको योजना छ । कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गरेको छ । विद्यालय संचालन तथा ब्यवस्थापन लागि हरेक विद्यालयलाई एकमुष्ट अनुदान प्रधानाध्यापक प्रोत्साहन गर्न थप प्रोत्साहन भत्ताको ब्यबस्था, हरेक वर्षा उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम, विभिन्न अतिरिक्त क्रियाकलाप, निरन्तर शिक्षक तालिम, विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सञ्चालनका साथै पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पुष्प खेती कार्यक्रमलाई पनि प्रभावकारी ढंगले अगाडि बढाइएको छ ।
शिक्षक तथा विद्यार्थीलाई जागरुक बनाइरहन सृजनशीलता, आविस्कार क्षेत्रमा जोड दिदैं स्टिम संग सम्बन्धित गाउँपालिकास्तरीय शैक्षिक मेला वार्षिक रुपमा आयोजना गर्ने गरिएको छ । एसइई नतिजा सुधार अन्तर्गत आवासीय बुट क्याम्प संचालन गरेको छ । पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई दुई वटा विद्यालयमा आवासीय छात्राबास सहित अतिरिक्त शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको र सो कार्यक्रमबाट एसइईको नतिजा वृद्धि भएको अध्यक्ष चुमानले बताए ।
‘सिमान्तकृत, पिछडिएको समुदाय र अति बिपन्न वर्गका चेपाङ, भुजेल समुदायका विद्यार्थीको माध्यामिक शिक्षा सम्मको पूर्ण जिम्मा गाउँपालिकाले लिएको छ’, अध्यक्ष चुमानले भने, ‘संविधानले दिएको अधिकार र दायित्व पुरा गर्न, स्थानीय सरकारको नाताले पहिलो अभिभावकको भूमिका निर्वाह गर्न, माध्यामिक शिक्षालाई पूर्ण रुपप्मा निःशुल्क बनाउँदै, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाई आम जनताको विश्वास आर्जन गर्ने साथै विद्यालयसंगै गाउँ, समाज र हाम्रो मौलिक पहिचान जोगाउने शैक्षिक सुधार संगै गाउँ जोगाउने यो अभियानमा सम्पूर्ण सरोकारवालाको सहयोग रहेको छ । गाउँपालिकाले आव्हान गरेको सार्वजनिक शिक्षा सुधार अन्तर्गत गाउँ शिक्षा कोषमा विभिन्न सहकारी, टोल, व्यक्तिले स्वेच्छिक रुपमा गरेको आर्थिक सहयोगबाट पनि पुष्टि हुन्छ ।’
आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरिरहेको यो शैक्षिक सुधारका कार्यक्रमका लागि पुँजीगत बजेटको करीब २५% बजेट शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ । यसबाट छोटो समयमा नै विद्यालयको भैतिक तथा प्राज्ञिक वातावरणमा आएको सकारात्मक परिणामले हामीलाई उत्साहित बनाएको छ। बिद्यालय प्रति अभिवाकको चासो र उपस्थित, शिक्षकको नियमित उपस्थिती, तयारी सहितको कक्षा, विद्यार्थीको नतीजा सबैले गरे सम्भव छ भन्ने सन्देश दिएको छ ।

विद्यार्थीको रुचिअनुसारको सिकाइलाई प्रभावकारी बनाउनुपर्छ : प्रमुख प्रशासकीय अधिकृत शर्मा

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीको रुचिअनुसारको सिकाइ प्रणालीलाई प्राथमिकता दिँदै विभिन्न नीतिगत कार्यक्रमहरू अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताएका छन्।
उनका अनुसार गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आकर्षक र उपयोगी वातावरणमा सहभागिता गराउँदै सिकाइलाई प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ । शिक्षा सँगै सीप विकास जोड्ने उद्देश्यले “पढ्दै कमाउँदै” कार्यक्रम लागू गरिएको छ । कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीहरूले स्थानीय जातका कुखुरा पालेका थिए र त्यसबाट आएको आम्दानी उनीहरूको अध्ययनमा प्रयोग गरिएको छ । विद्यार्थीहरूको पहुँच सहज बनाउन गाउँपालिकाले दुर्गम क्षेत्रका लागि निःशुल्क स्कुल बस सेवा उपलब्ध गराएको छ। बसले हाल दुईदेखि तीन विद्यालयमा सेवा दिइरहेको छ ।
यस्तै, वडा नं. ५ र ६ का विद्यार्थीहरूका लागि कन्यादेवी माविमा छात्रावासको व्यवस्था गरिएको छ। “छात्रावासमा बस्ने विद्यार्थीहरूले हप्तामा एक दिन आफ्नै घरबाट ल्याएको खानेकुरा प्रयोग गर्छन् र अन्य दिनको खानपान र बसोबासको व्यवस्था गाउँपालिकाले गर्छ,” प्रमुख शर्माले जानकारी दिए । शिक्षाको गुणस्तर मापन गर्ने सूचकको रूपमा रहेको एसईई परीक्षाको नतिजा सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले भने, “पहिले नतिजा कमजोर भए पनि पछिल्लो समयमा विभिन्न नीति लागू गरेपछि सुधार देखिएको छ । यस वर्षको नतिजा अझ राम्रो आउने अपेक्षा गरेका छौं ।”
विद्यार्थीको सिकाइमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै गाउँपालिकाले शिक्षकलाई रोटेसनमा विद्यार्थीको घरमा होम भिजिट गर्न पनि लगाएको छ । साथै, विद्यालय प्रमुखहरूसँग महिनामा एक पटक नियमित बैठक गरी समस्याहरूको समीक्षा र सुधारको पहल गरिने गरिएको छ ।
“सानो उमेरदेखि नै राष्ट्रप्रेम जगाउँदै सीपसँग जोडेर शिक्षा दिन सकियो भने युवापुस्ताले विदेशी मोहभन्दा आफ्नै देशको विकासमा योगदान दिन थाल्छन्,” प्रमुख शर्माले बताए। विषयगत शिक्षकको अभावलाई सम्बोधन गर्न प्रारम्भमा स्वयंसेवक शिक्षक राखिएको र अहिले स्थायी शिक्षक आएसँगै समस्या केही हदसम्म समाधान भएको उनले जानकारी दिए । उनले भने, “जहाँसम्म लाग्छ, आँबुखैरेनीले शिक्षा क्षेत्रमा नयाँ मोड दिन सक्ने सम्भावना देखिएको छ ।”

“शिक्षक र विद्यार्थीको अन्तरक्रिया अब रचनात्मक र आधुनिकता तर्फ हुनुपर्छ” : शिक्षा अधिकारी कुँवार

आँवुखैरेनी गाउँपालिकामा २४ सामुदायिक र ८ संस्थागत गरी ३२ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा १ हजार ७९९ छात्रा र १ हजार ९५६ छात्र गरी ३ हजार ७५५ जना र संस्थागत तर्फ १ हजार ५०५ जना छात्रा र १ हजार १७८ जना छात्र गरी २ हजार ६८३ जना विद्यार्थी अध्ययरत छन् । समग्रमा गाउँपालिकाका विद्यालयमा ३ हजार ३०४ जना छात्रा र ३ हजार १३४ जना छात्र गरी ६ हजार ४३८ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस्तै, गाउँपालिकामा प्राविधिक शिक्षा तर्फ वडा नं. ३ को आँवुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सिभिल इजिनियरिङ विषयको पढाई हुने गरेको छ । यस्तै, गाउँपालिकाको वडा नं. ३ मा रहेको आँवुखैरेनी क्याम्पसमा २७० जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी गराइन् ।
गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुरुवात गरेका कार्यक्रमहरु :
क) जनप्रतिनिधी तथा शिक्षक र कर्मचारीको छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने निर्णय गरी कार्यान्वयन,
ख) सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको मासिक रुपमा तलब भत्ता रकम निकासा गरिएको,
ग) विद्यार्थी संख्या, भौगोलिक अवस्था तथा समुदायको आवश्यकताको आधारमा विद्यालय समायोजन, कक्षा थप–घट गरी गाउँपालिकाद्वारा विद्यालय बसको व्यवस्था गरिएको,
घ) विद्यालयको आवश्यकताका आधारमा विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत, रंगरोगन, फर्निचर तथा स्मार्ट टिभी प्रदान गरिएको,
ङ) गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने बालबालिकालाई स्पोर्ट ड्रेस, जुत्ता, मोजा तथा स्कूल ब्याग प्रदान गरिएको,
च) सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने बाल बालिकाहरुलाई आन्तरिक स्रोतबाट दिवाखाजाको व्यवस्था गरिएको,
छ) दुर्गमको विद्यालय (कन्यादेवी माध्यमिक विद्यालय, आँबुखैरेनी–६, हिलेखर्क) मा आवासीय विद्यालय स्थापना गरिएको,
ज) गाउँ शिक्षाकोषको स्थापना गरी विभिन्न सहयोगी संघ–संस्थाले विद्यालयका लागि सहयोग गर्ने रकम संकलन गरिएको,
झ) शिक्षक दरबन्दी कम भएका विद्यालयमा गाउँपालिकाको अनुदानमा स्वयं सेवक शिक्षकको व्यवस्था गरी पठन–पाठनमा नियमितता प्रदान गरिएको,
ञ) गाउँपालिकाद्वारा गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ती रकम प्रदान गरीएको जस अन्तर्गत पैतिस लाखको छात्रवृत्ति प्रदान गरी एक जना विद्यार्थीलाई एम.बि.बि.एस. तथा एक जनालाई इन्जिनियरिङ अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको ।
ट) विद्यालयको प्रधानाध्यापकलाई प्रोत्साहन स्वरुप थप प्रधानाध्यापक भत्ता (प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहको लागि क्रमशः ७००, १,०००/– र १,५००/–), र विद्यालय सञ्चालन तथा व्यवस्थापन (प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहको लागि क्रमशः ३०,०००/–, ४०,०००/– र ५०,०००/–) तथा सुत्केरी सट्टा शिक्षक व्यवस्थापनका लागि ९८ दिनका लागि (प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहको शिक्षकका लागि क्रमशः ६०,०००/–, ६६,०००/– र ७५,०००/–) थप रकमको व्यवस्थापन गरिएको,
ठ) विद्यालयको शैक्षिक गुणस्तर मापनको लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रत्येक विद्यार्थीको Annual Status of Education Report द्वारा उपलब्धी मूल्याङ्कन गरिएको,
ड) विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि Collaborative School Network (CSN) तथा HELP Nepal संस्थासंग सम्झौता गरी विद्यालयमा साझेदारी कार्यक्रम सञ्चालन गरिएको,
ढ) गाउँपालिकास्तरीय परीक्षा समिति गठन गरी गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गरिएको,
ण) गाउँपालिकास्तरीय शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको,
त) संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयले प्रदान गर्नुपर्ने छात्रवृत्तिका लागि गाउँपालिकाले परीक्षा सञ्चालन गरी छात्रवृत्ति रकमलाई व्यवस्थित गरिएको तथा संस्थागत विद्यालयले लिने शुल्कलाई एकरुपता कायम गर्ने कार्य गरिएको,
थ) माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतीजा सुधारका लागि गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आवासीय रुपमा अतिरिक्त कक्षा सञ्चालन गरिएको,
द) विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सिएसएन तथा साथी नेपाल संस्थासंग साझेदारी कार्यक्रम गरिएको,
ध) सामुदायिक विद्यालयमा अध्यापन गराउने अभिभावको लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन,
न) सामुदायिक विद्यालयको सिकाइ उपलब्धी वृद्धिको लागि सिकाइ आपुरण तथा द्रुत सिकाइ कार्यक्रम अन्तर्गत अतिरिक्त कक्षा सञ्चालन गरिएको तथा कक्षा ८ र १० को उपलब्धी वृद्धिका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको,
प) बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि विद्यार्थी बचत खाता कार्यक्रम सञ्चालन गरिएको,
फ) गाउँपालिका अन्तर्गतका वडा नं. ४, ५ र ६ मा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको,
ब) विद्यार्थीको प्रतिभा पहिचान तथा शिक्षकको दक्षता पहिचानको लागि गाउँपालिका स्तरीय कार्यक्रम गरिएको,
भ) उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने गरिएको छ ।
शिक्षा क्षेत्रमा गरिएको लगानी :
क) शसर्त तर्फको बजेट : १२ करोड ८६ लाख ४३ हजार रुपैयाँ,
ख) आन्तरिक तर्फको बजेट : ४ करोड १० लाख
समस्या तथा चुनौतिहरु :
क) माध्यमिक तथा आधारभूत तहमा विषयगत तथा तहगत दरबन्दी अपुग,
ख) भौगोलिक विकटताले गर्दा विद्यालय समायोजन तथा कक्षा घटाउन समस्या,
ग) विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवहारिक शिक्षा प्रदान,
घ) शिक्षकको क्षमता अभिवृद्धि तथा प्रविधिमा पहुँच,
ङ) कक्षाकोठामा सूचना प्रविधिको पहुँच र प्रयोग ।
‘अहिले हाम्रा बीचमा केही कानुनी जटिलता छन् । संबिधानले निर्दिष्ट गरेको अधिकार कार्यन्वयनका सवालामा विद्यालय शिक्षा समबन्धी संघीय कानूनले अझ थप स्पष्ट पार्न सक्थ्यो कि भन्ने लाग्छ’, शिक्षा शाखा प्रमुख कुँवरले भनिन्, ‘हाम्रो मूल्याङ्कन प्रणाली एकदम कमजोर छ, आज हामीलाई चाहिएको जनशक्ति VUCA (Volatility, Uncertainty, Complexity, Ambiguity) विश्वमा विक्नसक्ने जनशक्ति हो । यसका लागि विद्यार्थीलाई सीपसंगै नेतृत्वको बारेमा पनि अभ्यास गराउनु जरुरी छ ।’
‘जीवन पद्धतिकै एक अंगको रुपमा शिक्षालाई विकास गरी सोही अनुसार नै मूल्याङ्कन गर्नका लागि सोही अनुसारको पाठ्यक्रम, पाठ्यबस्तु, शिक्षण पद्धति/शैली र मुल्याङ्कन प्रणालीलाई नै समिक्षा गरेर परिवर्तन गर्नुपर्छ’, उनले भनिन्, ‘हिजो कुनै कुराको बारेमा जानकारी दिने शिक्षकले नै हो, तर, आज त्यो बदलिएको छ । अहिले सूचनाको पहुँच र विस्तारको काम त प्रविधिले गरिहाल्यो, शिक्षक र विद्यार्थीको अन्तरक्रिया अब रचनात्मक र आधुनिकता तर्फ हुनुपर्छ ।’
(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा भञ्ज्याङ दैनिकले वैशाख १ गते प्रकाशन गरेको विशेषाङ्कमा प्रकाशित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker