तनहुँ-१ मा त्रिपक्षीय चुनावी भिडन्त

भञ्ज्याङ समाचारदाता/तनहुँ

आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं. १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ-१ को निर्वाचन चासो र चर्चाको विषय बन्दै गएको छ । यति मात्र होइन् सत्ता गठबन्धनका साँझा उम्मेदवार पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीबीच भइरहेको रोचक चुनावी भिडन्त सबैको चासोको विषय बन्दै गएको छ ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार र्घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पाटीर्का हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन । स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

विसं २०७४ को निर्वाचनमा पराजित भएका वरिष्ठ नेता पौडेल यो पटक चुनाव जित्ने दाउमा छन् । न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मैदानमा उत्रिएका पौडेलका अगाडि भने चुनौतीका चांग रहेको चर्चा पनि चल्न थालेको छ । वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको पनि विश्लेषण गर्न थालिएको छ ।

यता नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अहिलेका उम्मेदवार मध्ये तनहुँका जनतालाई आफुले जति अरु कसैले पनि नचिनेको र जनताले मलाई भारिमतले विजयी गराउने दाबी गरेका छन् । तनहुँका जनताको सुखदुखमा आफू जति अन्य उम्मेदवार कोही पनि प्रतक्ष्यरुपमा सहभागी नभएको भन्दै रानाले आफूलाई एकपटक तनहुँका मतदाताले न्याय गर्नुपर्ने बताउँछन् ।

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा चुनावी अभियान रहेका रानाले मतदाता समक्ष तनहुँका जनताको पीडा र समस्यालाई नजिकैबाट चिनेको भन्दै रानाले जनताको ती समस्या समाधान गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाएका छन् । विगतमा निर्वाचित भएकाहरुले जस्तो झुटो आश्वासन आफुले नदिने रानाले बताए ।

विगतका उम्मेदवारले झुटा आश्वासन दिएको कारण अहिले जनताले सबैलाई त्यस्तै दृष्टिले हेर्ने गरेको उनको भनाई छ । विगतका उम्मेदवारले काम नगरेको कारण सबैलाई उस्तै उस्तै ठान्नु गलत भएको भन्दै रानाले यसपटक नयाँलाई अवसर दिन मतदातासंग आग्रह गरेका छन् ।

जनताको आधारभूत आवश्यकता प्रति आफू जानकार भएको भन्दै रानाले ती आवश्यकता पूरा गर्न आफू यसपटक चुनावी मैदानमा आएको बताएका छन् । रानाले आफूले कतैपनि झुटा आश्वासन नदिने र पूरा गर्न सक्ने काम मात्रै बोल्ने दाबी गरेका छन् ।

आदिवासी जनजातिहरु अन्य समुदाय भन्दा पछाडि परेको भन्दै जनजातिहरुलाई पनि राज्यको मुलधारमा ल्याउन आफ्नो प्रयत्न हुने रानाले बताए । विगतमा जुन पार्टीमा भोट हालेको भएपनि यसपटक जनताको पार्टी एमालेलाई जिताउनुपर्ने रानाले आग्रह गरेका छन् । एमालेले जितेमा मात्रै राष्ट्रियताको संरक्षण र देशको स्वाधीनताको संरक्षण हुने राना बताउँछन् ।

यस्तै, आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौती भएका छन् । यी तीनै जना उम्मेदवार यतिबेला जनताको मन जित्ने दाउमा छन् । आ-आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थकहरु घरदैलोमा व्यस्त भएका छन् । कांग्रेसका पूर्वनेता जोशीलाई मिलाउन नसक्दा गठबन्धनका साझा उम्मेदवार पौडेल आफैं कमजोर बनेको आंकलन गर्न थालिएको छ ।

लगातार पाँचपटकसम्म संसदीय निर्वाचन जितेका पौडेलले ०७४ मा एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । उनी बाराबाट निर्वाचन लड्दै छन् । तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कमजोर बन्दै गएको जिल्लास्थित नेता तथा कार्यकताहरु बताउँने गर्छन ।

२०७४ मा जोशीले पौडेलको विरुद्धमा उम्मेदवारी दिएपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरेको थियो । यी दुइ नेताको विवादले गर्दा केही हदसम्म एमाालेलाई फाइदा पुग्ने देखिएको छ । सातौँपटक निर्वाचनमा होमिएका पौडेलले एमालेका रानासँग प्रतिस्पर्धा त गर्नैपर्छ त्यसमाथि यसपटक जोशीसँग पनि सामना गर्नुपर्ने भएको छ । यति मात्र होइन अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि पौडेलका बाधककै रुपमा देखिएका छन् ।

पौडेलको चुनाव जित्ने चाहनामा जोशीले ‘ब्रेक’ लगाउने गरी यतिबेला मैदानमा उत्रिएका छन् । जोशी पनि यतिबेला मतदाताको घरदैलोमा खट्टएिका छन् । पाँचदलीय सत्तागठबन्धनका चुनावी कमान्डर बनेका पौडेल अहिलेको चुनावमा भने उनी आफैं ढुक्क छैनन् । पौडेल अहिले दिन रात नभनि मतदाताको घरआँगनमा पुगेर हातजोड्दै आफ्नो पक्षमा भोट माग्न व्यस्थ छन् । केन्द्रमा राम्रो पकड भएका पौडेलले निषेधको राजनीति गरेर जोशीलाई फसाएको आरोप जोशी पक्षधरले लगाउने गरेका छन् । त्यसकोे बदला लिन जोशीले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा (एमाले) का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिका यो क्षेत्रमा पर्छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले बन्दिपुर तथा नेकपा (माओवादी) केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ । क्षेत्र नं. १ तर्फ एक लाख २३ हजार ४९० मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ९१० मा ६७ हजार १४४ र प्रदेश सभा ९२० मा ५६ हजार ३४६ मतदाता छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker