एमालेले मात्र समृद्ध नेपाल निर्माण गर्छ : सिग्देल
भञ्ज्याङ समाचारदाता/घिरिङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं. २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेले मात्र देश समृद्ध बनाउन सक्ने बताएका छन् । एमालेले बिगतमा खेलेको भुमिकालाई हेर्ने हो भने यसले पुष्टि गर्दछ कि एमालेले मात्र देशको राष्ट्रियता र स्वाधिनता जोगाउन सक्दछ ।
‘आग्रह पुर्वाग्रह हैन, यथार्थको कसीले हेर्ने हो भने एमाले मात्र देशको पार्टी हो’, उम्मेदवार सिग्देलले भने, ‘यसमा आम जनता र कार्यकर्ताले मुल्याङ्कन गर्नुभएको छ ।’
ओली सरकारको पालामा देशमा धेरै गौरवको आयोजना शुरु गरिएको तर परमादेशी सरकारले राष्ट्रिय गौरवको योजनामा समेत पुर्वाग्रह राखेर बजेट काटेको आरोप लगाउँदै उनले भने, ‘गठबन्धनले जनताको हितमा काम गर्न सक्दैन । सत्ता र शक्तिका लागि मात्र गठवन्धन बनेको हुँदा यसले देशलाई निकास दिंदैन ।’
यस्तै, प्रतिनिधीसभा तनहुँ क्षेत्र नं २ का उम्मेदवार किरण गुरुङले गण्डकी प्रदेशको अर्थमन्त्री भएर यो क्षेत्रमा विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको बताए । ‘खानेपानी, बाटोघाटो, पुलपुलेसो र विकास निर्माणमा पार्टी र मैले सधै जनताको पक्षमा काम गरेको छु’, गुरुङले भने, ‘जनताको उत्थान बाहेक अन्य केही स्वार्थ छैन, सधै राजनीतिमा निरन्तर जनतासंगै छु ।
यहि नै मेरो मुल मर्म हो । जनताको आशा र अपेक्षा बाहेक मेरो कुनै स्वार्थ छैन ।’ चुनावी प्रचारको क्रममा घिरिङ गाँउपालिकाको विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रमलाई उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।
यस्तै, तनहुँ-२ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता र चाहना वमोजिम काम गर्ने मतदातासंग प्रतिवद्धता जनाएका छन् । ‘जनताको आवश्यकतालाई नजिकबाट चिन्ने अवसर पाएको छु’, उम्मेदवार महतले भने, ‘मैले लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रहेर बिताएको छु । जनताको चाहनालाई आत्मासात गरेर पुरा गर्नु बाहेक अन्य केही स्वार्थ छैन ।’
व्यास-५ नगर कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार महतले जनताको घरदैलोमा जाँदा सकारात्मक प्रभाव पाएको र जनताको आशा नटुटाउने बताए । जिल्ला विकास समिति सदस्य, गाविस अध्यक्ष, विभिन्न सहकारीको लामो समय नेतृत्व गरिसकेको महतले जनता के चाहन्छन्, राम्रोसँग थाहा पाएको र अबको बाँकी जीवन जनताको सेवामा बिताउने बताएका छन् ।
घरदैलो अभियानको क्रममा महतले चापाघाट, पाटन, कण्टार, पतेनी, वरवोटे, शेरा, नेपालटार, रानीटारी हुँदै चिन्तुटार पुगेका थिए । सोही कार्यक्रममा गायक प्रेमराजा महत पनि गएर दाजु श्यामराजा महतका पक्षमा भोट मागेका थिए ।










