तनहुँका पर्यटकीय गन्तव्यले तानेको आन्तरिक पर्यटक

कृष्ण न्यौपाने/दमौली

तनहुँका पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेका छन् । पर्यटकलाई लक्षित गरी नयाँ-नयाँ गन्तव्य थपिएपछि त्यस्ता गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका हुन् । खासगरी कोभिड-१९ को संक्रमणको बीचमा जिल्लामा थपिएका पर्यटकीय गन्तव्यले प्रचारप्रसार पाउँदा त्यसको फाइदा अहिले भइरहेको बताइन्छ ।

घिरिङ गाउँपालिका-१ पुट्टारमा पर्यटक आकर्षित गर्न रूखमा पुल निर्माण गरिएको छ । शालिग्राम उद्यानभित्र रहेको रूखमा निर्माण गरिएको पुल पर्यटकको रोजाइमा पर्न थालेको छ । डिभिजन वन कार्यालयको रु १५ लाख सहयोगमा पुट्टार युवा क्लबले सम्झौता गरेर रूखमा पुल निर्माण गरेको सचिव मणि सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार यसमा स्थानीय उपभोक्ताले रु तीन लाख बराबरको श्रमदान गरेका छन् ।

“शालिग्राम उद्यानभित्र केही नयाँ पूर्वाधार निर्माण गरौँ भन्ने सोचका साथ दुइ रूखलाई समेटेर फलामको पुल बनाएका हौँ”, उहाँले भन्नुभयो, “यो जिल्लामै नयाँ भएकाले यसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।”

जिल्लामा यसअघि म्याग्देमा रूखमाथि घर निर्माण गरिएको थियो। त्यसले आन्तरिक पर्यटकको ध्यान खिच्यो । फोटो तथा भिडिओ खिच्नका लागि पर्यटक त्यस ठाउँमा ओइरिए । रूखमाथि पुलले पनि आन्तरिक पर्यटकलाई यहाँसम्म डोर्‍याउने सिग्देलको विश्वास छ। उद्यानभित्र दुबोलगायत विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी छ । साथै उद्यानलाई कम्पाउन्ड गरिनेछ । उक्त पुलमा एकैपटक १० जना चढ्न मिल्नेछ ।

डिभिजन वन कार्यालयले उद्यान निर्माणका लागि बजेट सहयोग गर्दै आएको छ । वनको रु १२ लाख ५० हजार सहयोगमा म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको उद्यानसहितको ‘ट्री हाउस’ ले निकै चर्चा कमाएको छ ।

पृथ्वीराजमार्गबाट दुइ सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । दुइ स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ । पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको छ ।

भिमाद नगरपालिका-९ मोहोरियामा एउटा अग्लो ढुङ्गा छ । ढुङ्गालाई सिङ्गारेर आकर्षण बनाइएको छ । वरिपरि उद्यान बनाइएको छ । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । गत वर्ष मात्रै अग्लो ढुङ्गा हेर्न १७ हजार पर्यटक पुगेका छन् ।

घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लो ढुङ्गा हो । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए तर, अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ ।

जङ्गलमा बेवारिसे ढुङ्गा सिङ्गारिएला र चिटिक्कको पार्क बन्ला भन्ने कल्पनासमेत नभएको स्थानीय बाबुराम रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलको बीचमा थियो, परार साल जङ्गल फाँडेर देखिने बनायौ, अहिले उद्यान बनेको छ, यस्तो राम्रो उद्यान बन्ला भनेर कसैले चिताएका थिएनौँ ।”

गण्डकी प्रदेश सरकारको रु २० लाखको लगानीमा उद्यान निर्माण गरिएको छ । उद्यान निर्माणका लागि स्थानीयले १० प्रतिशत लागत सहभागिता बेहोरेका थिए । ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको वडा सदस्य शिवकुमार आलेले बताउनुभयो ।

उद्यानमा चराको गुँड पनि बनाइएको छ। ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यहाँ पैदल मार्ग बनाइएको छ भने चराचुरुङ्गी आकषिर्त गर्न चेरीको बिरुवा रोपिएको छ ।

सूर्योदय र कुहिरोको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहानैको समयमा सूर्योदय र कुहिरो हेर्न सयौंको सङ्ख्यामा पर्यटक मानुङकोट डाँडा पुग्छन् ।

अन्य दिनभन्दा शनिबार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिबारका दिन करिब पाँच हजार पर्यटक यहाँ पुग्छन् । चिसो मौसम सुरु भएसँगै अरू दिनको तुलनामा शनिबार पर्यटक बढी हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker