अलपत्र खानेपानी आयोजना

सम्पादकीय

सुखाग्रस्त क्षेत्रका रुपमा लिएको तनहुँको भानु नगरपालिका वडा नं. १३ मिर्लुङ र सतिस्वाँरा लगायतका गाउँबस्तिमा खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको खानेपानी आयोजना अलपत्र बनेको छ । तीन वर्षभत्र आयोजना सम्पन्न गर्नुपर्नेमा ६ वर्षवित्तिसक्दा पनि घरघरका धारामा पानी खस्नुको सट्टा बनाइएका संरचनाहरु समेत भत्कन थालेका छन् । साविक मिर्लुङ्ग र सतिस्वाँरा गाविसको उच्च भागका बसिन्दाले हिउँद लागेसंगै झेल्नुपर्ने पानीको समस्या समाधानका लागि भन्दै आर्थिक वर्ष२०७२/०७३ सालमा विद्युतीय लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको थियो ।

हाल कायम गरिएको भानु नगरपालिका-१३ र व्यास नगरपालिका-९ का बासिन्दालाई खानेपानीको सहज पहुँच पुर्‍याउने लक्ष्य भएपनि अहिले यो आयोजना अलपत्र अवस्थामा पुगेको छ । उच्च पाहाडी भू-धरातलका बस्तिमा पानीको स्रोत अभाव हुँदा स्थानीयले आफ्नो दैनिकी खानेपानीको जोहो गर्नमै बिताउनु पर्ने बाध्यता छ । यो बाध्यतालाई अन्त्य गराउने लक्ष्यका साथ मिर्लुङ्ग-सतिस्वाँरा विद्युतीय लिफ्ट खानेपानी आयोजना निर्माण कार्य अगाडि बढेसंगै सहजै खानेपानी उपभोग गर्न पाइन्छ कि भन्ने आशामा बसेका गाउँलेहरु अहिले निराश छन् । तीन वर्षभत्र घरघरमा खानेपानीको धारा आउँछ भनिएपनि छ वर्षबित्तिसक्दा पनि पानीको समस्या समाधान हुन सकेको छैन ।

मिर्लुङको बासपानी, टुटेपानी, ठूलोढुङ्गा, पयाँस्वारा, पोखरीछाप, मियाँगाउँ, समजुर, तारुका लगायतका गाउँमा हिउँद लागेसंगै खानेपानीको अभाव खड्किन्छ । एक गाग्री पानीको जोहो गर्न स्थानीयले घण्टौ समय खर्चनुपर्ने बाध्यता छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका आधारभूत आवश्यकता सहज नहुँदा बर्साईसराइका कारण यी गाउँ उजाडिदै गएका छन् । आयोजना सुरु गर्नु पूर्व स्थानीय उपभोक्तालाई आयोजनाका बारेमा बुझाउन नसक्नु, समयमै आवश्यक बजेट प्राप्त नहुनु, उपभोक्ताको लागत सहभागिता जुट्न नसक्नु, मुहानदेखि पानी संकलनको मुख्य ट्याङ्कीसम्म विस्तार गरिएको पाइपलाइन र ट्याङ्कीमा बाढीपहिरोले पुर्‍याएको क्षतिका कारण आयोजना प्रभावित भएको छ ।

मुहानदेखि मुख्य ट्याङ्कीसम्मको करिब चार किलोमिटर दुरीमा चार स्टेपको लिफ्ट प्रविधिबाट पानी वितरणका लागि पाँच वटा ट्याङ्की निर्माण गरिएको छ । करिब १५० घर धुरीमा धारा समेत जडान गरिएको हुँदा बाढीपहिरोले पाइप र ट्याङ्कीमा पुर्‍याएको क्षतिको मर्मत सुधार भएमा तिहार लगत्तै पानी वितरण गर्न सकिने अवस्था भएपनि यस तर्फसम्बन्धित निकायको ध्यान पुगेको देखिदैन । कृपा कन्स्ट्रक्सन भरतपुर चितवनले आयोजनाको पहिलो चरणको कामको जिम्मा लिएको छ भने दोश्रो चरणको कामको जिम्मा गण्डकी निर्माण सेवा नेपालगञ्ज बाँकेले लिएको छ । यी निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न नगर्दा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले तेश्रो पटक समय थप गर्ने तयारी गरेको छ ।

भानु-१३ स्थित खरस्याङ्ग खोला, सिस्ने मुल र देउराली खोलाको पानी विद्युतीय लिफ्ट प्रविधिबाट करिब ४ किलोमिटरको उचाईमा निर्माण गरिएको मुख्य ट्याङ्कीसम्म पानी पुर्‍याएर वितरण गरिने छ । निर्माण गरिएका ट्याङ्कीमा एक पटक पानी खसालेर परीक्षण गरिएपनि ट्याङ्कीमा पानी नअडिएपछि कामको गुणस्तरीयतामा पनि प्रश्न उठेको छ । केन्द्रीय सरकारले सुरु गरेको यो आयोजना अहिले प्रदेश सरकार मातहत आएको छ । समयमै आवश्यक बजेट पाउन नसकेको र आर्थिक वर्ष२०७६/०७७ मा प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत राखेर बजेट माग गरिएको छ । जटिल प्रकृतिको आयोजना भएको र प्रयाप्त बजेट समेत नआएको हुँदा समय लागि रहेको बताउने गरिएको छ ।

खानेपानी आयोजनामा आर्थिक वर्ष२०७७/०७८ सम्म २ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको छ । आयोजना पूर्णरुपमा सम्पन्न हुन करिब २ करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि प्रदेश सरकारले चालु आर्थिक वर्षा लागि ६० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । २ करोड ५७ लाख ९१ हजार उपभोक्ताको लागत सहभागिता सहित १२ करोड ८९ लाख ९८ हजार रुपैयाँ आयोजनाको लागत स्टमेट निकालिएको छ । मिर्लुङकोट, शहीदगाउँ पुलिमराङ्ग लगायतका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक क्षेत्रले भरिपूर्ण र ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको यस क्षेत्रमा खानेपानीको सहज पहुँच नहुँदा धेरै जसो गाउँ बर्साई सराइका कारण उजाडिदै गएका छन् । गाउँघरमा रहेका मानिसहरु पनि हिउँदको समयमा देखिने खानेपानी समस्याको दर्ीघकालिन समाधानको खोजीमा बसेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker