काममा ढिलासुस्ती गरी दुःख दिएको भन्दै देवघाटका लेखाअधिकृतलाई दलियो कालोमोसो
भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिकाका लेखा अधिकृत सहित दुइ जना कर्मचारीलाई कार्यकक्षमै कालोमोसो दलिएको छ । गाउँपालिकाको वडा नं. ३ का स्थानीयले गाउँपालिकाका दुइ कर्मचारीमाथि दुर्व्यवहार गरेका हुन् ।
छिपछिपेका बासिन्दाले सोमबार लेखा अधिकृत उमानाथ ढकाल र सहायक लेखा अधिकृत सञ्जय शर्मामाथि कार्यकक्षमै कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् ।
गाउँलाई हरेक काममा दुःख दिएको, पालिकाभित्र अनियमितता गरेको भन्दै स्थानीयले दुइ कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ।
छिपछिपे भञ्ज्याङ सोलार लिफ्टिङ खानेपानी आयोजनामा गाउँपालिकाबाट दिनुपर्ने सात लाख रूपैयाँ रोक्का गरेको स्थानीयको आरोप छ । आयोजना सम्पन्न भइसक्दा पनि बजेट निकासा नगरिदिँदा गाउँले आजित भइसकेको स्थानीयको भनाइ छ ।
छिपछिपेबाट देवघाटसम्म आइपुग्न तीनवटा सवारीसाधन परिवर्तन गरेर आउनुपर्ने बाध्यता छ । यसरी पटक पटक गाउँपालिका धाउँदा पनि लेखा अधिकृतले विभिन्न बहाना बनाएर पटक पटक दुःख दिने गरेको स्थानीय छिपछिपे टोल विकास संस्थाका अध्यक्ष रवीन्द्र गुरूङको आरोप छ ।
उनका अनुसार छिपछिपेमा खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएको, गत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने रकम नयाँ आर्थिक वर्षको साढे चार महिना बितिसक्दासमेत भुक्तानी नदिएपछि गाउँले आक्रोषित बनि कालोमोसो दलेका हुन् ।
कर्मचारीमाथि दुर्व्यवहार भएपछि इलाका प्रहरी कार्यालय देवघाटले सुरक्षा दिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले बताए ।










