संयुक्त राज्य अमेरिकाका अनुकरणीय पक्षहरु
ध्रुवराज पौडेल

पृष्ठभूमि:
विश्वका सबै देश धनी र शक्तिशाली बन्न चाहन्छन् तर यस्तो अवसर सबैलाई उपलब्ध हुँदैन । सम्पन्न बन्नका लागि एउटा कुरा त प्रकृतिले साथ दिनुपर्दछ, त्यो भन्दा महत्वपूर्ण कुरा देशको वागडोर सम्हाल्ने नेतृत्वमा भिजन, इच्छाशक्ति, इमान्दारिपूर्ण प्रयास र सोको निरन्तरता जरुरी छ । वर्तमान विश्व परिदृश्यमा हेर्दा संयुक्त राज्य अमेरिका सबैभन्दा शक्तिशाली, विकशित, सम्पन्न र सभ्य देशको रुपमा परिचित छ । कतिपयले यसलाई सपनाको संसार (Dreamland) को रुपमा पनि लिएको पाइन्छ । कुनैबेला वेलायतको उपनिवेशको रुपमा रहेको मुलुक आखिर यति विकशित कसरी भयो होला त ? अरु देशहरु किन यस्तो बन्न सकेनन् ? यसका पछाडि धेरै कारणहरु छन्¸ यो देशका कष्टपूर्ण तथा गौरवपूर्ण कालखण्डहरु¸ स्मरणयोग्य इतिहास¸ नेतृत्वको दुरदर्शिता¸ प्राकृतिक स्रोतको उपलब्धता र परिचालन¸ समयानुकुल शिक्षा नीति¸ जनताको ठूलो मिहिनेत अठोट र त्यागको श्रृङ्खलाहरु आदि यससँग जोडिएका छन् ।अमेरिकाको बसाइ यहाँको जनजीवनसँग प्रत्यक्ष जोडिदा प्राप्त अनुभूति र अवलोकन भ्रमणका क्रममा देखिएका दृश्यहरुलाई समेत मध्यनजर गरी यहाँको जीवनचर्या र समग्र राष्ट्रिय परिदृश्यहरुलाई दृष्टिगत गर्दा अमेरिकाबाट हामीले सिक्नुपर्ने धेरै कुरा रहेछन् जसका बारेमा जनकारी गराउने यस लेखको उद्देश्य रहेको छ। अमेरिकाबाट हामीले सिक्नुपर्ने केही तथ्यहरु यसप्रकार रहेका छन् ।
1. दुरदर्शी नीति र नेतृत्व: संयुक्त राज्य अमेरिका सन् १७७६ जुलाइ ४ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भइसकेपछि एउटा सार्वभौमसत्तासम्पन्न मुलुकको रुपमा राष्ट्रिय विकासका लागि अत्यन्त दुरदर्शी र प्रभावकारी नीति योजना र कार्यक्रम ल्याएको देखिन्छ । यहाँका हरेक नीतिले स्थायित्व प्राप्त गर्दछन् र सयौं वर्षसम्मका लागि दीर्घकालीन प्रकृतिका हुँदा रहेछन् । राष्ट्रिय नीतिमा सधैं America First भन्ने लक्ष्य झल्केको हुन्छ ।
2. नीतिगत स्थायित्व र प्राथमिकता: राजनैतिक स्थायित्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरुमा निरन्तरताले गर्दा अमेरिकामा सरकार परिवर्तनको खासै असर नपर्ने रहेछ । यहाँ बहुदलीय व्यवस्था भएपनि व्यवहारत: दुईदलीय व्यवस्था रहेको मुलुक (डेमोक्रेटिक र रिपब्लिकन पार्टी) हुनाले दलहरुको बीचमा देशको अर्थनीति, विदेश नीति एवं अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सुरक्षा, आणविक कार्यक्रम तथा अन्तरिक्ष विज्ञान जस्ता महत्वपूर्ण विषयहरुमा एकमत र स्थायित्व रहेको छ ।यसकारण देशको हितमा शुरु भएका आयोजनाहरुको पूर्णताका लागि सरकार परिवर्तनसँग यसको कुनै सरोकार रहँदैन ।
3. पूर्वाधारको विकास र गुणस्तर: अमेरिकामा बन्ने कुनैपनि सार्वजनिक संरचना वा पूर्वाधारहरु अत्यन्त गुणस्तरीय, टिकाउ र मानवमैत्री एवं अपाङ्गतामैत्री हुने रहेछन् । सडक, रेलवे, सुरुङ् मार्ग, जलविद्युत, भवन, कारखाना, विमानस्थल¸ ऐतिहासिक स्मारकहरु¸ संग्राहलय वा जुनसुकै भौतिक संरचनाको गुणस्तर अत्यन्त राम्रो¸ गुणस्तरीय र टिकाउ हुने रहेछन् ।सडक सञ्जाल यति व्यापक गुणस्तरीय र भरपर्दा छन् कि यहाँका प्रत्येक घरसम्म पक्की सडक पुगेको छ । सबै पिच सडक एकै ठाउँमा जोड्ने हो भने त एउटा विशाल देशको क्षेत्रफल जति हुनपुग्छ ।
4. प्रणालीको विकास र सक्षमता: यहाँ मूलत: सबैकुरा सिष्टममा चलेको छ । कसैको सोर्सफोर्सले कुनै काम हुँदैन । यहाँ सरकारप्रति जनताको विश्वास र भरोसा छ । जनताका लागि राज्यले धेरै अवसरहरु सिर्जना गरेको छ । काम गर्छन्, कमाउँछन्, तोकिएको कर तिर्छन्, यसमा कुनै प्रकारको छलछाम गर्ने गुञ्जाइस नै हुँदैन । कर लिने मात्र होइन राज्यले जनतालाई पनि त्यतिकै मात्रामा सुविधा उपलब्ध गराएको छ । सरकारलाई जनताले अभिभावक मान्छन् । कानून कार्यान्वयनमा कुनै विभेद छैन । हरेक सेवा प्रवाह एउटा प्रणालीमा आवद्ध रहेपछि विभेद र पक्षपात भन्ने कुरा कहिँ कतैपनि सुन्नुपर्ने हुँदो रहेनछ ।
5. आधुनिक सूचना प्रविधिको प्रयोग: सरकारले जनतालाई दिने सेवामा अत्याधुनिक प्रविधिको प्रयोग भएको छ । अधिकाँश सेवाहरु अनलाइन र स्वचालित प्रकृतिको हुन्छ । यसका लागि जनतालाई सास्ती पनि हुँदैन र धेरै जनशक्ति पनि चाहिँदैन । यातायात¸ बजार¸ सरकारी एवं गैरसरकारी सेवा प्रवाह लगायत सबै सार्वजनिक क्षेत्रमा प्रविधिको प्रयोगले जनजीवन सहज बनाएको छ ।यातायात क्षेत्रमा हरेक सबारी चालकले GPS जडान गरेर सोको अनुशरण गरी गन्तव्यसम्म पुग्नुपर्ने रहेछ ।गन्तव्य विन्दुको Location track भएपछि जिपिएस ले सहज रुपमा पुर्याइदिन्छ चाहे जतिसुकै विजी वा अप्ठ्यारो रुट नै किन नहोस् तोकिएको स्थानमा पुग्न सकिन्छ ।
राष्ट्रिय कर नीति र स्रोत परिचालन: यहाँ कर नीति कडा छ । हुनेखानेबाट कर उठाएर हुँदाखानेलाई सुविधा दिने अर्थात् जति बढी आम्दानी त्यति धेरै कर उठाउने पद्धति रहेछ। जनताले तिरेको हरेक करको हिसाब राखिन्छ र भविष्यमा यसलाई सामाजिक सुरक्षासँग जोडिन्छ । आँफूले तिरेको कर खेर जाँदैन ।त्यसैगरी कुनै व्यक्तिले कुनै व्यवसाय गर्न चाह्यो वा सोको स्तरवृद्धि वा विस्तार गर्न चाह्यो वा घर किन्न वा गाडी किन्न वा पढ्न वा व्यवसायिक तालिम लिन चाह्यो वा जुनसुकै काम गर्न चाह्यो भने बैंक तथा वित्तीय संस्थाहरुले विना धितो यथेष्ट ऋण उपलब्ध गराउँछन् । यसका लागि व्यक्तिको आर्थिक प्रोफाइल राम्रो हुनुपर्यो । ऋण तिर्न सक्ने किसिमको आम्दानी र उसले विगतमा लिएका कर्जाको इमान्दारिपूर्ण ढंगले भुक्तानि गरेको हुनुपर्यो । भिजन¸ इच्छाशक्ति र व्यवसायिक योजना भएको व्यक्तिलाई स्रोतको अभावमा भौंतारिइरहनुपर्ने अवस्था नआउने रहेछ । अमेरिकामा विश्वभरका बैज्ञानिकहरु मध्ये अधिकाँशको बसोवास रहेको छ । यसले विश्वका उच्च तहको विशेषज्ञ जनशक्तिलाई आकर्षण गरी सबै सेवा सुविधा र नागरिकता दिई आफ्नै देशमै व्यवस्थापन गरेको छ । दक्ष जनशक्ति, कच्चा पदार्थ, आधुनिक प्रविधि र श्रमिक वर्ग सबै उपलब्ध भइसकेपछि स्वाभाविक रुपमा उच्च तहको र वृहत उत्पादन संभव हुन्छ ।
6. राष्ट्रिय शिक्षा नीति र जनशक्ति व्यवस्थापन: यहाँको उत्कृष्ट शिक्षा नीति, गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति जुन देशमा मात्र हैन विश्व बजारमा राम्रोसँग बिक्ने खालको रहेको छ । बालबालिकाको सिकाइ पद्धति¸ अत्यन्त बालमैत्री र बालमनोविज्ञानमा आधारित विशिष्ट प्रकारको हुने रहेछ । सानै उमेरदेखि बालबालिकालाई भयरहित वातावरणमा बाँच्न¸ बालअधिकारको प्रत्याभूति लिन र आत्मनिर्भर बन्ने सम्बन्धमा विद्यालय तहदेखि नै स्कूलिङ् हुनेरहेछ । विश्वभरीबाट अत्यन्त जेहेन्दार एवं क्रिम विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अमेरिका ल्याई मास्टर डिग्री तथा विधावारिधि गराउँछ र उनीहरुलाई काम दिन्छ, अमेरिकालाई आवश्यक जनशक्ति हो भन्ने लागेमा उसलाई स्थायी बसोबासका लागि ग्रिनकार्ड उपलब्ध गराउँछ र यहाँको कानुन बमोजिम व्यवहार गरेको व्यक्तिलाई पाँचवर्ष पछि नागरिकता उपलब्ध गराउँछ, सबै सेवा सुविधा उपलब्ध गराउँछ, यो सभ्य र विकशित समाजको जीवनशैलीमा घुलमिल गराउँछ र स्वभाविक रुपमा उसले देशकै लागि उच्च स्तरको जनशक्ति भएर काम गर्छ ।फलत: यहाँबाट यन्यत्र बौद्धिक पलायन हुने संभावना रहँदैन ।
7. मानवअधिकारको संरक्षण र सम्बर्द्धन: अमेरिकालाई हरेक व्यक्तिको मानवअधिकारको पूर्ण प्रत्याभूति दिने देशको रुपमा लिइन्छ । यहाँ सकभर व्यक्तिलाई हानी पुर्याउने खालको कानून बनाइदैन । वैयक्तिक स्वतन्त्रा यहाँको राष्ट्रिय प्राथमिकतामा पर्दोरहेछ । विश्व व्यापार संगठनको सदस्य भएको नाताले यहाँ विश्वभरबाट हरेक सामान आउँछ जुन सामग्री अत्यन्त गुणस्तरीय हुँनेरहेछ । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने वा मिसावटयुक्त खाद्य पदार्थ आयात हुँदैन । यसो हुँदा मानिस पनि स्वस्थ नै हुने भए ।यो मानवअधिकारसँग पनि गाँसिएको विषय हो । स्वस्थ नागरिक कुनैपनि राज्यको सक्रिय पुँजी हो ।
8. प्राकृतिक सम्पदाको उच्चतम् सदुपयोग र पर्यटन प्रबर्द्धन: यहाँ प्राकृतिक सम्पदाको भरपुर मात्रामा सदुपयोग भएको पाइन्छ । सार्वजनिक स्थलहरु¸ नदी¸ ताल तलैया¸ बनजंगल¸ सामुन्द्रिक किनार तथा डाँडाकाँडाहरु सबै सम्पदाको संरक्षण भएको छ । वनजंगल फँडानी गर्न पाइदैन र यदि रुख काट्नुपर्ने भएमा त्यति नै संख्यामा रुख अनिवार्य रुपमा रोप्नुपर्ने नियम रहेछ ।हरेक स्थललाई पर्यटकीय गन्तव्य बनाइएको छ र यसलाई आयआर्जनसँग जोडिएको पाइन्छ ।जुन स्थानमा जे संभावना छ त्यसलाई त्यसैगरी आकर्षक रोजगारमूलक र पर्यटकमैत्री बनाइएको छ ।
9. श्रम प्रतिको सम्मान र रोजगारी: अमेरिकामा श्रम प्रति सम्मान गर्ने संस्कृतिको विकास भएको छ । काम भनेको सानो ठूलो हुँदैन, सबैले काम गर्नैपर्छ, काम वा कर्म भनेको पुजा हो भन्ने संस्कारको विकास भएको छ । बेरोजगार व्यक्तिलाई त यहाँ बाँच्न गाह्रो छ । सबैले ठूलो सानो काम गरेकै हुनुपर्छ । समयको महत्व बुझेर होला अमेरिकामा साप्ताहिक सार्वजनिक बिदा बाहेक अन्य बिदा ७ देखि १० दिन मात्र हुने रहेछ । सपनाको संसारको रुपमा लिने हुनाले संसार भरिबाट यहाँ आउने पर्यटकहरुको संख्या करोडौं हुने गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो टेवा पुग्दछ । अमेरिकामा ९६.२ प्रतिशत जनताले रोजगार पाएका छन् । सबैजना आफ्नो काममा व्यस्त छन्, आफ्नै डेली सेड्युल छ, फाल्तु गफ गरेर बस्ने, अरुको कुरा काट्ने वा अरुको खुट्टा तान्ने , तानाबाना बुन्ने समय कसैलाई पनि छैन । सबैले समयको महत्व बुझेका छन् । जव सरकारले अभिभावकीय भूमिका निर्वाह गर्छ, जनता खुशी छन्, पर्याप्त कर संकलन हुन्छ, नागरिकले समयको महत्व बुझेका छन्, सबै नागरिक रोजगारमा छन् भने विकासको गति स्वाभाविक रुपमा अघि बढ्ने नै भयो । बसोबासयोग्य जमिन पर्याप्त भएको हुनाले वर्षेनी हजारौं व्यक्तिलाई EDV को माध्यमबाट आयात गर्दछ जुन सक्रिय जनसंख्या हो । यसबाट पर्याप्त जनशक्तिको आपूर्ति हुनसक्छ । क्षेत्रफलको हिसावले अमेरिका विश्वको तेस्रो ठूलो देश पनि हो । यो देशमा अलास्का क्षेत्र बाहेक प्राय सबै स्थान बसोबासयोग्य रहेको छ । लाग्छ, अमेरिकामा विश्वको आधा जनसंख्यालाई राम्रोसँग बसोवास गराउन सकिन्छ । सक्रिय जनसंख्या विकास र समृद्धिको अनुकुल अवस्था हो । यस देशले जनसाङ्खिक लाभ (population dividend) लिन सकेको छ ।
10. गौरवपूर्ण इतिहासको संरक्षण: अमेरिकाको इतिहास गौरवपूर्ण रहेको छ । हुन त यो देश सन् १७७६ जुलाई ४ भन्दा अघि बेलायतको उपनिवेशको रुपमा रहेको थियो तथापि यसले विगतका ऐतिहासिक¸ पुरातात्विक¸ साँस्कृतिक तथा विश्वयुद्ध लगायत सबै वीरताका गौरवपूर्ण गाथाहरुलाई अत्यन्त व्यवस्थित रुपमा संरक्षण गरेर राखिएको छ । अमेरिकी जनताको सङ्घर्ष र प्रगतिका जीवनगाथाहरुलाई लिपिबद्ध र भौतिक रुपमा स्मारक तथा अभिलेखको रुपमा राखिएको छ ता कि भावि पुस्ताले आफ्ना अग्रज एवं पुर्खाको गौरवपूर्ण गाथा पढ्न¸ हेर्न र गर्व गर्न पाउन् । यसैगरी विभिन्न वैज्ञानिक आविष्कार¸ खोज¸ अनुसन्धान तथा सोको यथार्थ इतिहासलाई संरक्षण गरी राखिएको पाइयो । विश्वमा पहिलो पटक हवाइजहाजको आविष्कार अमेरिकी वैज्ञानिक द्वय राइट ब्रदर्शले गरेका थिए । सोको वारेमा के के भयो¸ शुरुमा कस्तो हवाइजहाज उडाए कहाँ उडाए¸ कति सफलता पाए¸ को को सहभागी थिए आदिको यथार्थ विवरण मात्र होइन भौतिक रुपमा पनि ती कुराहरु नर्थ क्यारोलाइना राज्यको पुर्वी भागमा आन्द्र महासागरको किनारा Outerbank भन्ने स्थानमा सुरक्षित र व्यवस्थित रुपमा संग्रहित गरिएका छन् । यस्ता अनगिन्ती उदाहरणहरु रहेका छन् । यसरी आफ्नो गौरवपूर्ण इतिहास र सफलताको संरक्षणबाट भावि पुस्तामा आफ्नो देश र अग्रजहरु प्रति सकारात्मक दृष्टिकोणको विकास गराई देशका लागि थप योगदान मैले पनि दिनुपर्दोरहेछ भन्ने सन्देश प्रवाह गर्न सकिदोरहेछ ।
11. आन्तरिक लोकतन्त्र र प्रत्यक्ष जननिर्वाचित नेतृत्व: लोकतान्त्रिक शासन प्रणालीको उन्नत स्वरुप अमेरिकामा देख्न सकिन्छ । बहुदलीय व्यवस्था भएपनि व्यवहारमा दुईदलीय सिष्टम रहेको यस देशमा हरेक दलमा नेतृत्वमा पुग्न वा कुनै संवैधानिक पद पाउनका लागि जनताबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने कानूनी व्यवस्था रहेछ । जस्तै राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने बारेमा कुनै दलको पदाधिकारी वा अध्यक्षले नतोकिकन सम्बन्धित दलले ५० वटै राज्यमा जनताको राय संकलन गर्ने¸ उम्मेदवारको छनौटका लागि भोटिङ गरेर कार्यकर्ताबाट अनुमोदन भएपछि मात्र पार्टीले उसलाई उम्मेदवार बनाउने रहेछ । जनतामा जाँदा सम्भावित उम्मेदवारले आफ्नो दृष्टिकोण तथा समृद्ध र शक्तिशाली अमेरिकाको एजेण्डा लिएर जाने र जसको एजेण्डा मन पर्यो उसैलाई उम्मेदवार बनाउने अत्यन्त लोकतान्त्रिक विधि रहेछ जुन सबैका लागि अनुकरणीय लाग्यो । २ कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था छ जसका कारण नेतृत्व विकास र हस्तान्तरणमा यसले सकारात्मक वातावरण निर्माण गर्दछ । यसरी यहाँका दलहरु भित्रको आन्तरिक लोकतन्त्र बलियो रहेको पाइयो ।
12. विधायकहरुमा स्वविवेक प्रयोगको स्वायत्तता: अमेरिकामा दुई सदनात्मक संसद छ House of representative र Senate. कुनै दल विशेषबाट निर्वाचित साँसदहरुले कुनै विषयमा बहस गर्दा वा निर्णायक भोट गर्दा दलको ह्विप मान्नुपर्ने वाध्यात्मक व्यवस्था छैन उसले स्वविवेक प्रयोग गर्न पाउँछ ।यो स्वयत्ताले साँसद वा विधायकको मानवअधिकार र बौद्धिकताको पुर्ण रुपमा प्रयोग हुन पाउँछ । साँसदको व्रम्हले जे देख्यो त्यसैमा विचार व्यक्त गर्न र भोटिङ् गर्न पाइने भएकोले यहाँ बौद्धिक व्यक्तित्वहरु तथा विषय विशेषज्ञहरुलाई कुनै प्रकारको हितनाबोध हुनुपर्दैन ।
अत: अमेरिकाबाट हामीजस्ता अल्प विकासित मुलुकहरुले सिक्नुपर्ने कुराहरु धेरै छन् । देशमा राजनैतिक स्थायित्व हुनुपर्ने रहेछ । देश चलाउने व्यक्तिमा दुरदर्शिता हुनैपर्ने रहेछ । विषय विज्ञलाई सम्बन्धित क्षेत्रको नेतृत्व दिनुपर्ने रहेछ । सरकारले आफ्ना जनतालाई विश्वासमा लिन सक्नुपर्ने रहेछ । सुशासन विकासको पूर्वशर्त रहेछ । देशको आन्तरिक व्यवस्थापन, पूर्ण रोजगारी र जनतासँगको सम्बन्ध सुमधुर भएपछि स्वाभाविक रुपमा पुँजी निर्माण हुने रहेछ । देश विकासका लागि मानवीय स्रोत (दक्ष जनशक्ति) अत्यन्त महत्वपूर्ण रहेछ । त्यसकारण राज्यले शिक्षामा पर्याप्त लगानी गर्नुपर्ने रहेछ । हरेक राष्ट्रले आफ्नो विकासको संभावना र अनुकूलता आँफै देख्नुपर्ने रहेछ । आधुनिक प्रविधिलाई मानव पुँजीमा बदल्नुपर्ने रहेछ । जनतालाई विश्वासमा लिनका लागि देशमा सिष्टमको विकास गर्नुपर्ने रहेछ जसले सबै नागरिकलाई समान देखोस्, तेरोमेरो नभनोस्, कानून कार्यान्वयनमा विभेद नगरोस् र जनतालाई राज्यले दिने डेलिभरी सेवाग्राहीमैत्री होस् । देश विकासका लागि कानून कडा हुनुपर्ने र यसको पालना गर्न र गराउन सक्षम सरकार चाँहिदोरहेछ । कुनैपनि देशको युवा पलायन भएर देश बन्दो रहेनछ । यसका लागि राज्यले आफ्नो सक्रिय जनसंख्यालाई स्वदेशमै राखी उनीहरुलाई स्वरोजगार गराएर मात्र उत्पादन बढाउन सक्दो रहेछ । आफ्नो उर्जावान् जनशक्ति विदेश पठाएर कुनैपनि देशले समृद्धि हासिल गर्न सक्दोरहेनछ भन्ने कुरा समृद्ध मुलुकहरूको अभ्यासबाट पुष्टि हुन्छ ।
हाम्रो देश नेपालमा विकासका पर्याप्त संभावनाहरु रहेका छन् । नेपालको प्राकृतिक सम्पदाहरु अनुपम प्रकृतिका छन् ।नेपालका अथाह नदीनालाहरुले जलविद्युत, सिंचाइ र खानेपानीको संभावनालाई उजागर गरिदिएको छ । दैलेखको जलजलेमा मिथेन ग्यास, नवलपरासीको धौवादीमा फलाम खानी, गणेश हिमालमा पेट्रोल र तामा खानी लगायत देश भरी विभिन्न प्रकारका खनिज तथा पेट्रोलियम पदार्थको संभावना रहेको छ । यसको व्यवस्थित ढंगले उत्खनन् गर्न सके यसमा हामी आत्मनिर्भर हुन सक्ने संभावना छ । नेपालका मनोरम प्राकृतिक सौन्दर्य हाम्रो पर्यटनका लागि बरदानको रुपमा रहेका छन् ।विविधतायुक्त हावापानी, उर्बर माटो र सिंचाइको पर्याप्त संभावनाका कारण यो पनि अर्को बरदान हो ।नेपालको जनसाँङ्खिक हिसाबले हेर्दा अहिले नेपालमा १६-४० वर्ष उमेर समूहका युवाको जनसंख्या करीब ४२ प्रतिशत रहेको छ । यो नेपालको लागि जनसाँङ्खिक लाभ (Population Divident) को समय हो । युवाको जनसंख्या बढी हुनु भनेको विकास र समृद्धिका लागि अत्यन्त अनुकूल अवस्था हो ।नेपालको उत्तर र दक्षिण तिरका विशाल छिमेकी राष्ट्रहरु चीन र भारत विश्वमा उदयीमान शक्तिको रुपमा अगाडि बढेका छन् । यो पनि हाम्रा लागि व्यापार, पर्यटन र बजारको हिसाबले अत्यन्त अनुकुल अवस्था हो । नेपाललाई शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गराउन सक्ने पर्याप्त संभावना देखिएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा नेपाली युवाहरुलाई स्वदेशमा नै संभावना र अवसरहरु छन्, आफ्नै माटो खनीखोस्री गरिएमा यहिँ सुन फल्न सक्छ भन्ने विश्वास जगाउन सक्नु नै विकास र समृद्धिको पूर्वशर्त हो । व्यवसायिक र आधुनिक कृषि प्रणालीमा युवाहरुलाई इन्गेज गराउनका लागि कृषिमा सहुलियत (विउविजन, मल¸ मेशिनरी, विद्युत छुट कृषि बिमा र उत्पादित बस्तुको बजारको सुनिश्चितता) दिन सकिएमा पक्कै पनि यो क्षेत्र उन्नत भएर अघि बढ्छ भन्नेमा शंका छैन । उनीहरुले गरेको उत्पादनको बजारको सुनिश्चितता मात्र गरिदिने हो भने विदेश गएका युवाहरु अधिकांश नेपाल फर्केर कृषि पेशा अंगाल्ने अवस्था रहेको छ ।कृषिमा सहुलियत (Subsidy), सहज कर्जा प्रवाह र बजारको सुनिश्चितता हुने वित्तिकै हाल पहाडी क्षेत्र लगायत देशका विभिन्न ग्रामीण क्षेत्रमा बाँझो रहेका जमिनहरु क्रमश: हराभरा र उर्वर बन्न थाल्नेछन् ।देश विकासको लागि प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन गरी सबै नागरिकलाई रोजगार दिनु अति आवश्यक छ । कुनै युवाले जुनसुकै पेशा वा व्यवसाय सञ्चालन गर्नका लागि कर्जा माग गरेमा उनीहरुलाई विना धितो शुरुवाती पुँजी (Start-up Fund) उपलब्ध गराइयो भने धेरै युवाहरु स्वरोजगार हुन सक्छन् ।
आजका युवाहरुमा विषयवस्तुको ज्ञान पर्याप्त छ, उनीहरुमा इच्छाशक्ति पनि छ, आधुनिक प्रविधिको प्रयोग गर्ने दखलता पनि छ तर शुरुवाती पुँजीका लागि कर्जा प्राप्तिमा समस्या (झण्झटिलो प्रक्रिया र धितो आवश्यक) छ भन्ने युवाको गुनासो रहेको छ । अत: नेपाल सरकारले यस प्रकारको गुनासोको सम्बोधन गरी सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सहज कर्जा प्रवाहका लागि अनुकूल वातावरण निर्माण र आँफू जमानी बसेर भएपनि कर्जा निकासामा वाध्यकारी व्यवस्था लागु गरिदिनु जरुरी छ । युवा पलायनलाई नरोकेसम्म अर्थात् देशको सक्रिय जनशक्तिलाई विदेश पठाएर विकास र समृद्धि संभव छैन । यसलाई गम्भीर ढंगले सम्बोधन गरी अघि बढ्नु जरुरी छ ।यसरी माथि उल्लेख गरिएका नेपालको विकासका संभावनाहरुलाई यथार्थतामा परिणत गर्नका लागि सरकारको नीतिगत मार्गदर्शन, भिजनरी नेतृत्व विकास, स्रोत परिचालन गर्ने उपयुक्त रणनीति, कार्यान्वयन गर्ने शाहस, प्रतिबद्धता, इमानदार प्रयास र योजना र कार्यक्रमको निरन्तरता भएमा हामी पनि समृद्धिको मार्गमा अघि बढ्न सक्छौं । धन्यवाद ।
(लेखक भानु नगरपालिका तनहुँका शिक्षा अधिकृत हुन । हाल Fayatteville, Cumerland County , North Carolina U.S.A. मा छन् ।)










