आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन स्नातक कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातक तहको होटल व्यवस्थापन -बीएचएम) कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयबाट गठित टोलीले सोमबार सम्भाव्यता अध्ययन गरेको छ ।
होटल व्यवस्थापन विषय थपका लागि आएको सम्भाव्यता अध्ययन टोलीले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक तयारी, आर्थिक व्यवस्थापन तथा आवश्यक स्रोत–साधनको अध्ययन एवं अवलोकन गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
अध्ययनका क्रममा टोलीका होटल व्यवस्थापन विज्ञ सूर्यकिरण श्रेष्ठले क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन तथा कर्मचारीहरूसँग होटल व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि क्याम्पसले गरेको तयारीबारे अन्तरक्रिया गरेका थिए । उनले पूर्वाधार, जनशक्ति, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका सम्भावनाबारे जानकारी लिएको क्याम्पस प्रमुख हड्खलेले बताए ।
क्याम्पसले होटल व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि आवश्यक अधिकांश पूर्वाधार तयार गरिसकेको जनाएको छ । हाल क्याम्पसमा स्वीट रुम, रेस्टुरेन्ट, भान्सा, डाइनिङ हल, रिसेप्सन, होटल व्यवस्थापन विभागको कार्यालय, बैठक कक्ष, सेमिनार हल, इन्क्युबेसन सेन्टर, पुस्तकालय, तालिम कक्षा, बगैँचा, छात्र–छात्रा शौचालय, प्राचार्यको कार्यकक्ष, प्रशासन, लेखा, स्टोर्स तथा परीक्षा शाखालगायतका संरचना सञ्चालनमा रहेका छन् ।
यसैबीच, विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको संयुक्त लगानीमा होटल व्यवस्थापन तथा सूचना प्रविधि -आईटी) कार्यक्रम सञ्चालनका लागि इनोभेटिभ कम्प्लेक्स भवन निर्माण भइरहेको क्याम्पसले जनाएको छ। आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको छ । भवनमा आधुनिक कक्षाकोठा, कार्यालय तथा प्रयोगशालाको व्यवस्था रहने बताइएको छ ।
क्याम्पसले तीन वर्षअघिदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषयको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ । हाल यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
गोरखा, लमजुङ र तनहुँ जिल्लामा हालसम्म स्नातक तहको होटल व्यवस्थापन कार्यक्रम सञ्चालनमा नरहेको अवस्थामा आदिकवि भानुभक्त क्याम्पसमा उक्त कार्यक्रम सञ्चालन भए तीनै जिल्लाका विद्यार्थी लाभान्वित हुने अपेक्षा क्याम्पसले गरेको छ ।
ग्रामीण तथा बाह्य पर्यटनको विस्तारसँगै तनहुँ, लमजुङ र गोरखामा पर्यटन पूर्वाधार तीव्र रूपमा विकास भइरहेका छन् । यी जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय पढाइ भइरहेकाले स्नातक तहमा अध्ययन गर्ने अवसरको माग बढ्दै गएको छ ।
होटल व्यवस्थापन अध्ययन गरेका जनशक्तिको स्वदेश तथा विदेश दुवै क्षेत्रमा उच्च माग रहेकाले क्याम्पसमा स्नातक तहको कार्यक्रम सञ्चालनले दक्ष जनशक्ति उत्पादनसँगै क्षेत्रीय शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।










