पृथ्वीराजमार्ग स्तरोन्नती तीब्र : जोखिमयुक्त बन्यो यात्रा

भञ्ज्याङ समाचारदाता/तनहुँ

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्डलाई छ लेनको बनाउने कार्य अहिले तीब्ररुपमा अगाडि बढेको छ । तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी-जामुने पूर्वीखण्ड र जामुने-पोखरा पश्चिमखण्डमा विभाजन गरी सडकको स्तरोन्नती कार्यलाई तीब्रता दिइएको छ ।

सडकको कामलाई तीब्रता दिएसंगै अहिले राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । गत साउनको दोस्रो हप्ता पृथ्वीराजमार्गस्थित व्यास-१ तालघारेमा घाँसिकुवाबाट दमौलीतर्फ आउँदै गरेको ग२०प ११२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भयो । कानबाट रगत बगेको र बोल्न नसक्ने अवस्थामा भेटिएका मोटरसाइकल चालकलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्‍यायो ।

गत मंसिर २९ गते राजमार्गकै म्याग्दे गाउँपालिका-६ अकलामन्दिर नजिकै नारायणगढबाट बाग्लुङतर्फ जादै गरेको ग१ख ५५२५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टन पुग्यो । बसमा सवार ३० जना यात्रुमध्ये १८ जना सामान्य घाइते भएका थिए।

आर्थिक वर्ष २०७७/०७८ बाट राष्ट्रिय राजमार्गको स्तरोन्नती कार्यक्रम अन्तर्गत साविक दुइ लेनमा रहेको मुग्लिङ-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न लागिएको छ । राजमार्ग बिस्तारको लागि सडक चौडा बनाउने क्रममा माटो सडकमा थुप्रिएको र धुलो नउडोस भनि पानी हाल्दा सडक हिलम्मे हुँदा राजमार्गको यात्रा जोखिमपुर्ण बन्न पुगेको छ ।

गत मंसिरको पहिलो हप्ता व्यास-१२ घाँसीकुवा सडकखण्डमा निशा थापा दुर्घटनामा परिन । बाटो चिप्लो भएको कारण उनको स्कुटर आफै अनियन्त्रित भई नालीमा पल्टन पुग्यो । ‘सडकमा फुक्का माटो छ, त्यहीमाथी पानी हाल्दिदा टायर चिप्लिएर समाल्नै नसकिने अवस्था हुन्छ’, उनले भनिन्, ‘राजमार्ग बिस्तार कार्य अगाडि बढेदेखि दुइ पांग्रे सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाँध्यता भएको छ ।’

सदरमुकामबाट ९ किलोमिटर पर रहेको देउराली भन्ने ठाउँमा उनको बसोबास छ । कार्यस्थल दमौली भएकाले दैनिकजसो स्कुटरबाट ओहोरदोहोर गर्नुपर्ने उनको बाँध्यता छ । ‘पहिला १५ मिनेटमा घर पुग्थे’, उनले भनिन्, ‘अहिले सडकको अवस्था दयानिय छ, अफिसबाट घर पुग्न कम्तिमा पनि ३५ मिनेट लाग्छ । त्यहीमाथी बाटो चिप्लो हुँदा निकै सम्हालिएर चलाउनुपर्छ ।’

यस्तै, पुषको दोस्रो हप्ता दमौलीमा आफन्त भेट्न आएका शिव वि.क पनि सडकमा अनियन्त्रित भई लड्न पुगे । ‘राजमार्गमा मोटरसाइकलको यात्रा निकै जोखिमपुर्ण रहेछ’, उनले भने, ‘मेरै अगाडि दुइतीन वटा बाइक चिप्लिए । माटो थुप्रिएको सडकमा पानी हाल्दिदा दुइपंग्रे सावारी साधन चिप्लने र अनियन्त्रित भई दुर्घटना हुने गरेको छ ।’

राजमार्ग विस्तारका क्रममा भएका कामले दैनिकजसो सानोतिनो दुर्घटना भइरहने जिल्ला ट्राफिक प्रमुख राजिव बिष्टले बताए । उनले भने, ‘बाटो चिप्लो हुँदा दैनिकजसो ५/६ वटा दुइ पांग्रे सवारी साधान पल्टिरहेका हुन्छन् । गम्भिर प्रकृतिको घटना नभएका कारण हामीले तत्थांक राखेका छैनौं ।’

बाटो चिप्लो भएको कारण पनि चालकले सावधानी अप्नाएर सावरी साधन चलाउदा गम्भिर प्रकृतिका दुर्घटना भएका त छैनन, राजमार्गको आँबुखैरेनी-दुलेगौडा खण्डको यात्रा अहिले जोखिमपुर्ण नै रहेको उनले बताए । ‘पछिल्लो समय घाम नलाग्ने ओसिलो ठाउँमा बढि दुर्घटनाको जोखिम छ’, उनले भने, ‘निर्माणाधिन सडकको अवस्था, मानवीय गल्ति, चालकको लापर्वाही र मादकपदार्थ सेवन गरी सावारी साधान चलाउदा दुर्घटना बढि हुने भेटिएको छ ।’

जिल्ला ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ३७ वटा सडकदुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ भने २५ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा १८ जना मोटरसाइकल प्रयोगकर्ता परेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा भएको ९७ दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो, ६३ जना गम्भिर घाइते र ८५ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा भएको १३० वटा दुर्घटनामा ४८ जनाको मृत्यु भयो भने ७६ जना गम्भिर घाइते भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा भएको एक सय वटा दुर्घटनामा ४९ जनाको मृत्यु भयो भने ६४ जना गम्भिर घाइते भएको ट्राफिक प्रहरी कार्यालय तनहुँको तत्थांकमा उल्लेख गरिएको छ । यसरी दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker