एसइइ परीक्षा दिने विद्यार्थीको विवरण पेश गर्न व्यास नगरपालिकाको निर्देशन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयलाई एसइइ परीक्षा दिने विद्यार्थीको विवरण १० दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्रका माध्यमिक विद्यालयमा २०७८/०७९ मा एसइइ परीक्षा दिने विद्यार्थीहरुका गणित, विज्ञान, अंग्रेजी विषयको विद्यार्थी विवरण, नतिजाको अवस्था र सम्बन्धित शिक्षकहरुको विवरण १० दिन भित्र पेश गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको हो ।

यस्तै, कार्यपालिकाले यस वर्ष स्थानीय धावकहरु बीच मात्र मानुङ-पुलिमराङ अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । व्यास नगरपालिकाले प्रत्येक वर्ष माघ १६ गते सहिद दिवसका दिन आयोजना गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष पनि आयोजना गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले व्यास नगरपालिका-५ मानुङदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएको छ । विगतका वर्षहरुमा देशभरका धावकको सहभागिता रहने प्रतियोगितामा यस वर्ष भने स्थानीय धावकको मात्र सहभागिता रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बताए । खर्चलाई मितव्ययी बनाउन यसपटक स्थानीय धावकको सहभागितामा मात्र प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै, नगरपालिकाले विगतका वर्षमा भन्दा यस वर्ष प्रतियोगिताको पुरस्कार राशि घटाउने भएको छ । त्यसका लागि केही दिनमा पुरस्कारको राशि निर्धारण गरिने गुरुङले बताए । गुरुङका अनुसार ‘मितव्ययी तरिकाले प्रतियोगिता सम्पन्न गर्न यो निर्णय गरेका हौ, समिति बनाएर पुरस्कारको राशी निर्धारण गरिन्छ ।’

गत वर्ष आयोजित प्रतियोगिताको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जितेका थिए । गत वर्ष आयोजित प्रतियोगिताको पहिलो पुरस्कार राशि ८७ हजार ७८ रुपैयाँ प्रदान गरिएको थियो । नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबर्द्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

व्यास नगरपालिका-५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमी दूरीको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

यस्तै, नगरपालिकाले चैत ३० गते स्थापना दिवस मनाउने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट योगदानदातालाई सम्मान गर्न उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्ने भएको छ ।

बैठकले सञ्चारकर्मी सहयोग सम्बन्धी कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ । सडक बोर्ड अन्तर्गत मर्मतसम्भार गर्नुपर्ने बाटोहरुको प्राप्त स्रोत सीमाभित्र रही लगत इष्टमेट तयार गरी माघ मसान्तभित्र पेश गर्न सम्बन्धित शाखाहरुलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker