छुवाछुत उन्मुलन दिवसमा दमौलीमा वृहत कार्यक्रम

संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको दिन सोमबार दमौलीमा बृहत कार्यक्रम गर्ने भएको छ । संघर्ष समितिले शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै दिवसको तयारीका बारे जानकारी गराएको छ ।
छुवाछुत र जातीय विभेद गर्नु दण्डनीय अपराध भएपनि समाजबाट अझै पनि छुवाछुत हट्न नसकेकोले जेठ २१ गतेलाई जातीय विभेद र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको रुपमा मनाउने गरी सम्पूर्ण तयारी पुरा भएको संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका संयोजक डोवाटे विकले जानकारी गराए ।
छुवाछुत गर्नु दण्डनीय अपराध रहेको जानकारी दिन आफूहरुले तनहुँका १० वटै पालिकाबाट दलित र गैह्र दलितको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरेको उनले बताए ।
‘कार्यक्रमको सम्पूर्ण तयारी पुरा भई सकेको छ’, संयोजक विकले भने, ‘जातीय विभेद गर्नु हुँदैन रहेछ भन्ने सन्देश प्रवाह गर्न पनि यस कार्यक्रम फलदायी हुने हामीले विश्वास लिएका छौं । जेठ २१ गतेलाई राज्यले राष्ट्रिय पर्वको रुपमा मनाउन विदा दिनुपर्दछ ।’
जेठ २१ गते दमौलीस्थित अनसन चौतारीबाट करिव १२ बजे १ हजार मानिस सहभागी र्यालीले दमौली बजार परिक्रमा गरी देउराली नगरस्थित तमु भवनमा पुगेर सभामा परिणत हुने कार्यक्रम तय गरिएको बताइएको छ ।










