व्यासको नगरसभामा पेश गरिने विभिन्न प्रस्तावहरु पारित

दमौली : तनहुँको व्यास नगरपालिकाले ४४औं नगरसभामा पेश गरिने विभिन्न प्रस्तावहरु पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले गत कार्यपालिकाबाट भएका निर्णयहरू तथा नगरपालिकाबाट प्रवाह हुँदै आएका सेवाको समीक्षा गर्दै आगामी पौष २५ गते बस्ने ४४औँ नगरसभामा पेश गरिने आर्थिक विधेयक, विनियोजन विधेयक, व्यासनगर वनसम्बन्धी विधेयक लगायत आवश्यक अन्य ऐनहरूको संशोधन प्रस्ताव विधायन समितिबाट प्रस्तुत प्रस्ताव पारित गरेको हो ।
उक्त बैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विषयगत शाखा र उपशाखा प्रमुखहरूको सहभागितामा नगरपालिकाको समग्र सेवा प्रवाह, आर्थिक तथा संस्थागत व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरू गरेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, आगामी नगरसभामा पेश गरिने आर्थिक वर्ष २०८२/०८३ को आय–व्ययको संशोधित प्रस्ताव समेत बैठकले पारित गरेको छ। प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तावित संगठन संरचनालाई संशोधनसहित पारित गर्दै उक्त संरचना आगामी नगरसभामा पेश गर्ने निर्णय पनि गरिएको छ ।
नगर शिक्षा समितिबाट पारित भई नगर शिक्षा शाखा प्रमुखद्वारा प्रस्तुत विद्यालय शिक्षक तथा कर्मचारी दरबन्दी मिलान प्रतिवेदन र शिक्षक अध्ययन विदा सम्बन्धी प्रस्तावलाई समेत आवश्यक संशोधनसहित बैठकले स्वीकृत गरेको छ ।










