खस्कियो हस्तकला व्यापार

रामबहादुर थापा

कोभिड–१९ महामारीपूर्व पोखराबाट बर्सेनि रु दुई करोड बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो ।

अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । विस्तारै तङ्ग्रिने बाटोमा भने छ । पोखरास्थित महिला सीप विकास संस्थाका अनुसार अहिले वार्षिक झण्डै रु एक करोड बराबरको मात्र हस्तकला सामग्री विदेश निर्यात हुने गर्छ ।

संस्थाको अन्तर्राष्ट्रिय बजार हेर्ने रश्मी शाक्यले पछिल्लो समय समग्र वार्षिक कारोबार रु एक करोड ५० लाख हाराहारीमा खुम्चिएको बताउनुभयो । “कोभिड महामारीले ठूलो असर ग¥यो, अब विस्तारै व्यापार बढ्ला भन्ने आशा छ”, उहाँले भन्नुभयो, “नेपालमा भित्रिने विदेशी पर्यटकको सङ्ख्या घटेकाले हस्तकला व्यापार खस्केको हो ।”

हस्तकलाका सामग्रीको किनबेच बढीजसो पोखराको लेकसाइड, काठमाडौँको ठमेललगायत पर्यटकीय क्षेत्रमा हुन्छ । संस्थाले उत्पादन गर्ने हस्तकलाका सामग्रीमध्ये २० प्रतिशत मात्र खपत नेपाली बजरामा हुने गरेको छ । असी प्रतिशत सामग्री विश्व बजारमा पुग्ने गर्छ ।

हस्तकलाका सामान महँगो पर्ने भएकाले नेपाली ग्राहकको पहुँचमा खासै पर्दैन । सजावट र सोखका लागि किन्नेको सङ्ख्या पनि अति न्यून छ । हस्तकलाका मुख्य ग्राहक विदेशी पर्यटक नै हुन् । कोभिड–१९ महामारीलगायत कारणले पर्यटक आगमन उल्लेख्यरूपमा नहुँदा सामानको खपत कम भएको हो ।

उक्त संस्थाले विदेशबाट माग आएपछि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर सामान विदेशमा निर्यात गर्ने गर्छ । “पचास प्रतिशत अग्रिम भुक्तानी लिएपछि मात्र मागअनुसारको सामान उत्पादन हुन्छ, सबै रकम आएपछि बल्ल कार्गो गरेर सामान विदेशी बजारमा पठाउँछौँ”, शाक्यले भन्नुभयो ।

हस्तकलाबाट विदेशी मुद्रा भित्र्याएर संस्थाले नेपाली अर्थतन्त्रमा टेवा पु¥याउँदै आएको उहाँको भनाइ छ । संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले कोभिड महामारीपछि हस्तकला उद्यममा लाग्ने महिलाको सङ्ख्या पनि घटेको बताउनुभयो ।

पहिले उक्त संस्थामा छ सय बढी उद्यमी महिला आबद्ध रहेकामा अहिले जम्मा तीन सय ५० जना मात्र छन् । बजार मागका आधारमा मात्र हस्तकलाका सामान उत्पादन गर्ने गरिएको कार्यकारी निर्देशक खड्काले उल्लेख गर्नुभयो । “विदेशबाट माग आइरहेको छ, त्यसैले व्यवसाय धानिएको छ, बरु नेपालमै हस्तकलाको व्यापार त्यति राम्रो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

सामान्य अवस्थामा संस्थाले वार्षिक रु चार करोड बराबरको सामग्री उत्पादन तथा बिक्रीवितरण गर्ने गरेको उहाँले सुनाउनुभयो । हस्तकला व्यापार प्रवर्द्धन र महिला उद्यमीका लागि राज्य सहयोगी बन्नुपर्ने कार्यकारी निर्देशक खड्काले बताउनुभयो ।

विसं २०३२ मा स्थापित उक्त संस्थाले महिलाका लागि सीप र आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म २१ हजार बढी महिलाले संस्थाबाट हस्तकला सीप आर्जन गरेका छन् । संस्थामा आबद्ध महिला हस्तकला सिकेर स्वरोजगार बनेका छन् ।

कतिपयले आफ्नै उद्योग खोलेका छन् । कोही अन्यत्र पनि काम गर्छन् । संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम, उन, मकैको खोस्टालगायत स्थानीय कच्चापदार्थको प्रयोगबाट झोला, टोपी, कार्पेट, लुगा, सजावटका सामग्री आदि उत्पादन हुँदै आएको छ ।

“हामीले उत्पादन गरेको सामान अमेरिका, इटाली, जर्मनीलगायतका देशमा निर्यात हुँदै आएको छ”, कार्यकारी निर्देशक खड्काले भन्नुभयो, “बजारको सुनिश्चितता हुन सके अझ धेरै महिलालाई हस्तकला उद्यममा जोड्न सकिन्छ, यसबाट रोजगारी पनि सिर्जना हुन्छ, अर्थतन्त्रको उत्थानमा पनि टेवा पुग्छ ।”

पोखराका उद्यमी महिलाले तयार पारेका हस्तकलाका सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष देवी गुरुङले बताउनुभयो । केही दिनअघि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उक्त संस्थाले पोखरामा हस्तकला प्रदर्शनी गरेको थियो ।

भारत र बेलायतमा छिट्टै प्रदर्शनी आयोजना गरिने भएको हो । उद्यमी महिलाले छ महिना लगाएर हाते तानबाट तयार पारेको १६ मिटर लामो ‘नेचुरल टेक्सटायल कार्पेट’ पनि उक्त प्रदर्शनीमा राखिने अध्यक्ष गुरुङको भनाइ छ । उद्यमीले कटनको धागोलाई आफैँ प्राकृतिक रङ दिएर हाते तान बुनाइबाट सामान उत्पादन गर्ने गर्छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker