मर्स्याङदी करिडोर अन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा

मर्स्याङदी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङदी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि दुई सय २० केभी बराबर नै छ । आयोजना अन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदिपुर सबस्टेसन आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका काम भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा पनि दुई सय २० केभी क्षमताका का सबस्टेसन निर्माणाधीन छन् ।

खुदी सबस्टेसन आगामी छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदिपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भइसकेका छन् । उपकरण जडान जारी छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, उत्पन्न भएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ ।

नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको एक सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker