वैकल्पिक माध्यमबाट एसइई परीक्षा गर्ने गृहकार्य भएको छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको छ ।

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै आज उहाँले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसइई र कक्षा १२ को परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र नयाँनयाँ योजना आउनसक्ने बताउनुभयो । उहाँले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभयोे । परम्परागत शिक्षा अहिलको आवश्यकता नभएको भन्दै उहाँले प्रयोगात्मक र प्रविधिययुक्त शिक्षाको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयका रोकिएका परीक्षा सुचारु गर्नुपर्ने र अनलाइनमा कक्षा लिएबापत्को शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।”

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एसइई र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा मन्त्रालयले दुई–तिन दिनभित्र निर्णय गर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष महरले मन्त्रालयले एसइई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट भएपनि सञ्चालन गराउनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये झण्डै ८० प्रतिशत इन्टरनेट पहुँच बाहिर रहेको भन्दै सरकारलाई गम्भीर बन्नुपर्ने औँल्याउनुभयो ।

शिक्षा क्षेत्रलाई कसरी सुचारु गर्ने, विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापसँग कसरी अद्यावधिक गराइराख्ने भन्ने विषयमा मन्त्रालयले ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा कक्षा ८ र स्थानीय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने, सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ ।

विद्यालयमा भौतिक रुपमा उपस्थित भइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्था गर्नुपर्ने बताइएको छ । अहिलेको अवस्थामा विद्यार्थी तथा शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिलाई कोभिडविरुद्ध खोप लगाउन प्राथमिकता सूचि राख्नुपर्ने माग गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker