सोलर प्रविधिबाट सुख्खा टारमा सिंचाई : आकाशे पानीको भरमा खेती गर्दै आएका कृषक उत्साहित
भञ्ज्याङ न्यूज
शुक्लागण्डकीको करिव ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाई सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकले सोलर प्रविधिबाट सिंचाई सुविधा पाउँदा उत्साहित भएका छन् । शुक्लागण्डकी नगरपालिका-१० को लोकेतिटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिंचाईको सुविधा उपलब्ध भएपछि खेतीकिसानीमा सहज भएको कृषक मिनबहादुर खत्रीले बताए ।
उपभोक्ता समितिका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘आकाशे पानीको भरमा परम्परागत तरिकाले खेती गर्दै आएका थियौं । सोलर प्रविधिबाट पानी तानेर अहिले सिंचाई सुविधा प्राप्त भएको छ । हामी व्यवसायीक रुपमा मौषमी तथा बेमौषमी खेती गर्ने तयारीमा जुटेका छौं ।’
क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फ पानी तानेर २ वटा टयांकीमा संकलन गरिएको छ । टयांकीमा संकलित पानी करिब ४ किलोमिटर क्षेत्रफलमा पाइप विच्छयाएर प्लट-प्लटमा पानीको धारा जडान गरिएको अध्यक्ष खत्रीले बताए । उनले भने, ‘उक्त धाराबाट करिव एक महिनादेखि पानी बितरण गरी सिंचाई सुविधा उपलब्ध गराइएको छ ।’ गण्डकी प्रदेश सरकारको करिव एक करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको लोकेतिटार लिफ्ट सिंचाई योजनाबाट करिव ३ सय उपभोक्ता लाभान्वित भएका छन् ।
यस्तै, सिस्नेरी ठुलोफाँट लिफ्ट सिंचाई योजनाबाट ३ सय रोपनी क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ । ‘हिउँदमा खेतबारीमा सिंचाईको सुविधा नहुँदा हामीले चाहेअनुसारको खेतीपाती गर्न सकिरहेका थिएनौं’, उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्माले भने, ‘यो योजनाका कारण अब हिउँदमा पनि हरियो सागसब्जि र तरकारी खेतीका लागि प्रयाप्त सिंचाईको उपलब्ध भएको छ।’ उनका अनुसार २०७५ सालदेखि सुरु भएको योजना हाल सम्पन्न भई बिगत डेढ महिनादेखि धारामा पानी आएको छ ।
सुख्खा जमिनमा सिंचाईको लागि पानी प्रयाप्त भए कृषकहरुले तरकारी खेती संगसंगै धान खेती पनि गर्ने योजना बनाएका छन् । सिंचाई सुविधा उपलब्ध भएसंगै कृषकहरुले गहुँ, धान, मकै, काउली, बन्द, तोरी लगायतका खेती गर्न थालेका छन्।
सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फ सिंचाइको सुविधा उपलब्ध गराउन लागि परेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले बताए । कार्यालयले अहिले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिंचाई योजना सम्पन्न गरिसकेको छ भने भिमाद-८ बाह्रबिसे र बन्दिपुरमा योजना निर्माणको चरणमा रहेको छ।
शुक्लागण्डकी-१० को लोकेतिटार, भिमाद-७ को सिस्नेरी र देवघाट-२ बेसारघारीमा सोलरका माध्यमबाट पानी लिफ्ट गरी सिंचाइको व्यवस्था गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियार जगनाथ चापागाईले बताए। उनका अनुसार यी योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।
भिमादस्थित सिस्नेरीमा ७९ लाख रुपैयाँ र देवघाटस्थित बेसारघारीमा एक करोड २१ लाख रुपैयाँको लागतमा योजना निर्माण गरिएको सूचना अधिकारी चापागाईले बताए । ‘लोकेतिटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिंचाइको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘सोलर लिफ्टको माध्यमबाट लोकेतिटारमा करिव ४६० रोपनी, सिस्नेरीमा करिव ३ सय रोपनी र बेसारघारीमा ६ सय रोपनी क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध भएको छ ।’
सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्यांकीमा संकलन गरिएको छ । उक्त योजना अर्न्तर्गत ३ किलोमिटर क्षेत्रफलमा पाइप विच्छयाइएको छ । त्यस्तै, बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी करिव ११० मिटर उच्चाईमा सोलरको माध्यमबाट पानी लिफ्ट गरिएको कार्यालयले जनाएको छ।
सुख्खा टारमा सिंचाई सुविधा उपलब्ध गर्राई स्थानीय कृषकहरुलाई व्यवसायीक रुपमा कृषि पेशा अंगाल्न सहज बनाउने उद्देश्यले सोलर लिफ्ट प्रविधिको माध्यमबाट यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख शर्माले बताए ।
उनले भने, ‘पानीको श्रोतभन्दा सिंचाईको सुविधा पुर्याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएका ठाउँ विद्युतको माध्यमबाट लिफ्ट प्रविधि प्रयोग गर्दा महशुल चर्को आउने हुँदा कृषकलाई सहज रुपमा सिंचाई सुविधा उपलब्ध गराउन सोलर प्रविधिको प्रयोग उपयोगि देखिएको छ ।’