तनहुँमा मास्क प्रयोग अनिवार्य
भञ्ज्याङ समाचारदाता/दमौली
संक्रमणजन्य बिरामीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मास्कको प्रयोग अनिवार्य गरेको छ । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही, जिल्लामा हुने गोष्ठी, सेमिनार, विद्यालय, धार्मिक स्थल, मनोरञ्जनस्थलहरु, रंगशाला लगायतका सार्वजनिक स्थलहरुमा सहभागि हुँदा मास्कको अनिवार्य प्रयोग जिप्रका तनहुँले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार जरुरी सूचना जारी गर्दै माक्सको प्रयोग गर्न आग्रह गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले बताए ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि सेवा प्रदायक कार्यालयले प्रवेशद्वारमा अनिवार्य स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको प्रजिअ अर्यालले बताए । त्यसैगरी, सार्वजनिक सवारी यातायातमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ । उनले भने, ‘नेपाल सरकारले निर्धारण गरेका जनस्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।’
यस्तै, दमौली अस्पतालमा संक्रमणजन्य बिरामी दैनिक २५० भन्दा बढी उपचारको लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ । उपचारमा आउने बिरामी मध्ये अधिकाँसमा रुघाखोकी, ज्वरो र टाइफाइडका रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. दिवस ढकालले बताए ।










