‘ओझेलमा परेको दुम्सीकोट र ऐतिहासिक पृष्ठभूमि’

देव बस्न्यात

विषय प्रवेश

नेपाल एकीकरण अभियानका अग्रज अभियान्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीको पूर्व सन्ध्याको अवसर पारेर क्षत्री उत्थान समाज व्यास–२ ले व्यास–१० दुम्सीकोट स्थित देवीडाँडामा पारिवारिक मिलनमा टेवा प्रदान गर्नका हेतु वनभोज कार्यक्रम आयोजना ग¥यो । सोही अवसरमा व्यास–१० दुम्सीकोट, देवीडाँडा र यसको सेरोफेरोमा रहेका, प्राकृतिक शिला, भ्युटावर, मठमन्दिर देवीदेवताहरुको पूजास्थलहरुमा पुग्ने र त्यहाँका महत्वपूर्ण जानकारी प्राप्त गर्ने सुअवसर मिल्यो । सोही बेला क्षत्री समाज व्यास–१० दुम्सीकोटले पनि देवीडाँडामा वनभोज कार्यक्रम राखेको हुनाले दुम्सीकोटका साथीहरुसंग परिचय एवं भेटघाट हुने सुअवसर र दुम्सीकोटको वस्तुगत जानकारी लिने अवसर मिल्यो । क्षत्री समाजका व्यास–१० दुम्सीकोट निवासी मिनबहादुर थापा र जीवन पोख्रेलले दुम्सीकोट र देवीडाँडोका सेरोफेरोका भ्यूटावर, रुद्रादेवी मन्दिर, शिखारी देवता थान, गोवद्र्धन पोखरी, भयेंरथान, झाक्रीथान, नागकन्या वाराही मन्दिर, खड्गकाली मन्दिर र प्राकृतिक रुपमा सजिएका यहाँ मौजुदा रहेका गोही शिलाा, कछुवा शिलाको साथै हनुमान शिलाको बारेमा संक्षिप्त जानकारी लिने सुअवसर प्राप्त भएको थियो ।

दुम्सीकोटका थरघर

दुम्सीकोट व्यास नगरपालिका–१० मा पर्दछ । दुम्सीकोटको सेरोफेरोमा पोखरेल थरका ब्राह्मण र क्षत्रीहरुको १० घर, सिञ्जाली मगरहरुको २ घर, फेवाली थरका मगरहरुको ३ घर, सारुजर्घा थरका मगरहरुको ३ घर र कमरजोगी थरका दशनामीहरुको दुईघरका मानिसहरु आपसमा मिलेर बसोबास गर्र्दै आइरहेका छन् । दुम्सीकोट जिम्मावाल अमरध्वज पोखरेल, डिट्ठा कृष्णबहादुर पोखरेल, भूर्जबहादुर पोखरेल, मुखिया सिंहबहादुर सिञ्जाली मगर, खड्गदेवी मन्दिरका पुजारी प्रतिमान सारु र लालबहादुर सारुमगरहरुको मूल थालो हो दुम्सीकोट । सारुथरका मगरहरु ऋसिङ गाउँ पालिकाको वडा नं १ कोईदिमबाट बसाई सरी आएको कुरा खड्गकाली मन्दिर दुम्सीकोटका पुजारी अमृत सारु मगरले बताए ।

मानव जीवन स्वास्थ्य एक उपचार प्रणाली अनेक

कृषि पेशामा संलग्न सम्पूर्ण दुम्सीकोट निवासीहरु प्राकृतिक उपचार प्रणाली नै अप्नाउँदै आएका थिए। सुरु सुरुमा झारफूक प्रणालीनै अप्नाएका यहाँका वासिन्दाहरुले अहिले एलोपेथिक, आयुर्वेदिक र तान्त्रिक तीनै पक्षको समान हिसावले प्रयोग गर्दै आइरहेको पाउँदछौं। यहाँका सिंहबहादुर सिञ्जाली मगरले बैद्यको साथसाथै धामीझाँक्री र गुरुको काम पनि गर्दथे । सिंहबहादुर सिञ्जालीकै छोरा माईला सिञ्जाली मगर, दुम्सीचेोरका तुलबहादुर दरै, मैतबहादुर दरै र निवुवाटारीका कृष्णभद्र मिश्रले पनि सिंहबहादुर सिञ्जाली मगरलाई गुरु थपना गरी गुरो विद्या सिकेर जनताहरुको सेवा गर्दै आएका थिए ।

रुद्रादेवी उत्पति र स्थापना

आज भन्दा १२० वर्ष पहिले कुनै एक दिन दुम्सिकोटकै मुखिया एवं बैद्य सिंहबहादुर सिञ्जाली र प्रतिमान सारु देवीडाँडाको थुममा अन्नपूर्ण हिमालको दृष्यहरुको अवलोकन गर्दै टहलिंएर हिंडिरहेका थिए । अचानक देवी डाँडाको हनुमान, कछुवा र गोही शिला भएको स्थान वरीपरी लगभग ७ वर्षको कन्या छमछमी नाचिरहेको देखिनमा आयो । छमछमी नाच्नेको नानी रहेछ भनेर दुबैजना नजिकै पुगेर वरपर नजर दौडाइरहेका थिए । आखिर त्यहाँ केही पनि देखिएन। एकै छिन अगाडि नाचि रहेकी नानी त्यहीको धरतीमा तुरुन्तै अलप भइन। सिंहबहादुर सिञ्जाली स्वयं त्यस क्षेत्रका जान्ने गुरौ र वैद्यका रुपमा चिनिन्थे । आखिर सिंहबहादुर सिञ्जाली घरमा पुगेर सग्ला अक्षताहरु थालमा राखेर आखर हेर्न लागे । आखर हेर्दा छमछमी नाच्ने नानी रुद्रादेवी भएको थाहा लाग्यो। रुद्रादेवी मन्दिरको स्थापना गरिएको स्थानको पासैमा बर र पिपलको रूख आफै उम्रिएर हुर्कदैं बढदै गरेको देखियो । वरपिपल रुखलाई चौतारोको रुप दिन गाउँलेहरुले वरपरका ढुङ्गाहरुको संकलन गरेर ढुङ्गाको पर्खाल लगाएर खाल्टो खाल्टीमा माटोले पुरेरसम्म बनाएका थिए ।

वि.सं. १९६२ सालमा त्यहाँका गाउँलेहरु मिलेरसम्म बनाएकै स्थानमा बाँसका सिट्ठा र स्याउलाले बेरबार गरेर कामचलाउ सानो मन्दिर बनाएका थिए । खड्गकाली मन्दिरकै पुजारी प्रतिमान सारु मगरले फागुन महिनाको शुक्लपक्षको पञ्चमीको शुभदिन पारेर रुद्रादेवीको पूजापाठ एवं कंवर पाठीको भोगदिई विधिवत पूजापाठको सुरुआत गरेको कुरा दुम्सीकोट निवासी जीवन पोखरेलले हामीलाई बताएका थिए भने तिनै प्रतिमान सारुमगर र सिंहबहादुर सिञ्जाली मगरहरुले दुम्सीकोटको खड्गकाली मन्दिर एवं दुम्सीकोट वरपरका देवीदेवता र सिमेभूमे भयेंरथानका पनि पुजारी भई कामकाज गर्दै आइरहेको कुरा मिन बहादुर थापाले बताए । केही समयको अन्तराल पछि त्यहीका रबिलाल बहादुर सारु मगरले जोखना हेरेर ककेरामा रहेको रुद्रादेवीको मन्दिरलाई माथि चौरमा प्रतिस्थापन गरेका हुन् ।

वि.सं. २०५३ साल बैशाख ११ गतेका दिन दुम्सीकोटको चेतना आमा समुहको सक्रियतामा रुद्रादेवीको मन्दिर निर्माण कार्य सम्पन्न गरिएकोमा यही २०८२ साल फागुन महिनामा पहिला बनाइएको रुद्रादेवी मन्दिर भत्काइ नयाँ मन्दिर निर्माणको कार्य चलिरहेको छ। पुरानो मन्दिर निर्माण गर्दाका बखत स्थानीय रामबहादुर बस्नेतले सिकर्मी एवं डकर्मीहरुको नाईकेको भूमिकामा रहेको कुरा स्वयं रामबहादुर बस्नेतले हामीसंगको साक्षात्कार बताएका थिए । चेतना आमा समुहको सक्रियातामा निर्माण गरिएको मन्दिरमा व्यास–११ अर्चलचौरका ढुङ्गाखानीबाट छाउने ढुङ्गाहरु ल्याएर मन्दिरको छाना छाएको देखिन्थ्यो। चेतना आमा समुहको सक्रियतामा टोलवासीको जनश्रम र आर्थिक सहयोगबाट सुरु गरिएको मन्दिर निर्माण कार्यको प्रशंसा गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति श्री रामचन्द्र पोखरेलको पहलमा जिल्ला विकास समिति तनहुँबाट दश हजार रुपैयाँ बजेट विनियोजन भइ सहयोग रकम प्राप्त भएको थियो । तत्कालीन दमौली गाउँ पञ्चायतका प्रधानपञ्च पुरुषोत्तम काफ्लेले गाउँपञ्चायतका तर्फबाट सुरुमा रु १५००/– रुपैयाँ उपलव्ध गराइ दिएर मन्दिर निर्माण कार्य सुरुआत गरिएको सकरात्मक अभियानलाई अहिले आएर ब्यास–१० को कार्यालयले प्रतिवर्ष रु १००००/– पूजाखर्च उपलव्ध गराउँदै आएको बताइएको छ । हाल उक्त मन्दिरमा अमृत सारुले पुजारीको भूमिका निर्वाह गर्दै आएका छन् ।

सिकारी (शिखारी) देवता

नेपाली समाजका हरेक ब्यक्तिहरुको मुख्य पेशा नै कृषि पेशा हो। औसी पूर्णिमा तथा एकादशी र नाच्ले र बासी नाच्लेका दिन सबै दाजुभाइ जम्मा भइ सिकारमा जाने गर्दछन् । प्रायस गाउँलेहरु डाँडाको शिखरमा रहेको रुखको फेद तथा ओडारामा शिकारी देवताको पूजाआजा गर्दै आएको पाइन्छ । शिकारी देवताको पूजाआजा ग¥यो भने गाउँमा चट्याङ पर्दैन भन्ने जनविश्वास रहेको पाउँदछौं । चट्याङ जस्ता प्राकृतिक विपत्तिहरु गाउँघरमा नघटुन भनेर हरेक वर्षको कार्तिक र चैत्र महिनाको शुक्लपक्षको पञ्चमी तिथिको शुभदिन पारेर गोही ढुङ्गाले बनाएको प्राकृतिक थानमा शिकारी देवताको पूजाआजा गर्ने परपरा रहेको पाउँदछौं । दुम्सीकोटका क्षत्री, बाहुन, मगर र जोगीहरुले पूजाआजा गर्दै आएका शिकारी देवता, खासमा देवताको अंश हो या दुष्टात्माको रुप हो भनेर आजसम्म कसैले यकिन गरेको पाइंदैन ।

शिद्धको पूजा

भोटवर्मेली परिवारको मगर भाषामा शिद्ध भन्नाले बृद्ध, बुर्जुवा, तथा वरिष्ठ अभिभावक भन्ने जनाउँछ । उनै शिद्धलाई आर्यहरुले महादेव खसहरुले मष्ट देवता, तमाङहरुले ल्हाछेन्पो, राईहरुले पारोहाङ दराईहरुले खम्वा देवताको रुपमा मान्दै आएका छन् । शिद्धलाई महादेव मान्ने मगरहरु वीरभद्रलाई झाँक्री र महाकालीलाई वाराहीको रुपमा पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । यसबाट शिद्ध महादेव हुन् भने वाराहीलाई पार्वतीको दुर्गा स्वरुप र झाँक्रीलाई शिद्धका सेवक रहेछन् भन्ने कुरा बुझिन्छ । शिद्ध नै शिव भएकाले शिव तत्व नै प्राण तत्व र वाराहीमाई (पार्वती)लाई नै प्रकृति मान्ने गरेका छौं ।

भयेंर थान

देवीडाँडाको ठिक तल चारै तिर पर्खाल बीचमा थान प्रवेश गर्ने मार्ग कम्पाउण्ड वाल भित्र भयेंरथानको गाढी बनाएर शिलालाई सिमेभूमे भयेंर देवताको स्वरुपमा स्वीकारेर भूमिका देवताका स्वरुपमा स्वीकारेर पूजाआरधना गरिन्छ। यहाँ हरेक वर्ष फागुन महिनाको शुक्लपक्षको पूर्णिमाका दिन यहाँका सिमेभूमे भयेंर देवतालाइ बूढी भयेंर तथा सुना भँयेर मानेर बोका पाठाको भोगबलि चढाए पूजाआजा गर्ने परम्परा रहेको छ ।

झाँक्रीथान

देवीडाँडा स्थित गोहीडाँडाको उत्तर पाखामा लाटा, झाँक्री, सुन झाँक्री र रिट्ठे झाँक्रीहरुको पूजाआजा गर्ने परम्परा रहेको छ । झाँक्रीलाई भगवान शिवजीका गणनायक तथा वीरभद्रको प्रतिक स्वीकारेर शाकाहारी देवताको रुपमा पूजाआजा गर्नु पर्नेमा यहाँका आदिवासी जनजातिका दमाइ कुमाल, क्षत्री बाहुन गुरुङलगायत सबैले झाक्रिलाई स्मरण गरेर पनि यहाँ कुखुराको बलि दिने गरेको पाईयो । मगरहरु शिद्ध भगवानका साथसाथै वनझाँक्रीको पनि पूजाआजा गर्दछन् । दुम्सीकोटका मगर, ब्राह्मण, क्षत्री र दराई लगायतका थर घरहरु सबैले मिलेर देवीडाँडा स्थित गोहीढुङ्गा नजिक उत्तर पाखामा लाटाझाँक्री, सुन झाँक्री, रिट्ठे झाँक्रीहरुको विशेष रुपले पूजाआजा गर्ने परम्परा रहेको छ । झाँक्री शाकाहारी देवता भए पनि यहाँ कुखुराको बलि दिने परम्परा रहेको पाईयो ।

गोवर्धन पोखरी

पश्चिम तर्फको बाटोबाट देवीडाँडा उक्लने भञ्ज्याङमा एउटा सानो पोखरी रहेकोछ । देवीडाँडामा रहेको शिला आकारको गोहीको आकारमा पोखरी निर्माण गरिएको थियो । गोवर्धन पोख्रेलका छोरा कृष्णाचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री भएको समयमा यस पोखरीको जिर्र्णोद्वार गर्न प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरेको बताइयो । बेला बखत देवीडाँडाकी रुद्रादेवी साक्षात भगवती दुर्गामाता यस पोखरीमा आएर स्नान गर्थिन भन्न्ने किंबदन्ती रहेको स्थानीय मिनबहादुर थापाले बताए ।

नागकन्या वाराही मन्दिर

दुम्सीकोटको खड्गकालीचोक नजिकै नागकन्या वाराही मन्दिर रहेको छ । यस मन्दिरको संगसंगै नागकुवा पनि रहेको छ । पहिला यस गाउँका सबै जना यही कुवामा पानी भर्न आउँथे । पानी लिन जाँदा कुवामा नाग बसिरहेको देख्दा गाउँलेहरुको मनमा डरले घर बनायो । उनै सारुमगरलाई जोखना हेर्न लाग्दा नागको दोष देखिएकाले नागपञ्चमीका दिन वाराही पूजाको सुरुआत गरियो । दुम्सीकोट निवासी लक्ष्मीनाथ पोखेरेलकी आमा काली माया पोख्रेलले आफ्नै नीजिखर्चमा वाराही माईको मन्दिर बनाई दिएकी छन् । मगर र नागर समानार्थी शब्द हुन् । अर्थात मगर वंश नाग वंशको हुन सक्ने एउटा अधार म र न अक्षरहरु ले नै दुर दराजमा धकेलेको पाईन्छ । मगरहरु नाग जाति भएकाले पनि नाग र नागिनी अर्थात पाखेनाग र जलनागको सम्झनामा पूजाआजा गर्ने गर्दछन् । नागकन्या मन्दिरमा माछा, रजवाम एवं नागपोखरी नभेटिए पनि यिनी छाब्दी वाराहीमाईका सात दिदी बहिनीहरुमा कान्छी बहिनी मानिन्छिन् ।

खड्गकाली मन्दिर दुम्सीकोट र श्री बृद्धि हुने श्रीकोट (अविरल सिरसिर वतास बही रहने सिरसिरे भञ्ज्याङ र श्रीभञ्ज्याङ)

वि.सं. १८३६ मा तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले अचानक तनहुँसुरबाट निर्वुमा तनहुँको राजधानी सार्ने घोषणा गरे। धर्मात्माको रक्षा र पापी र वैरीहरुलाई नाश गर्ने हतियार पनि खड्ग नै हो । अवोध, रागा, भेडा, बोका, हाँस , कुखुराको बलि दिएर पशु पंक्षीको शरीर आत्मालाई मायाँरुपि वन्धनबाट मुक्त गरेर भगवान प्रति प्रेम जागृत गराउने हुँदा तरवार मुक्तिदायक मानिन्छ । हर प्राणीमा प्रेम जागृत गराउने उनै खड्गकाली देवी तनहुँका सेनराजाहरुको कुलदेवी हुन् । तनहुँका राजा तनहुँसुरबाट निर्वुमा सर्ने भएपछि तनहुँका सेनाहरु निर्बुमा आईबसेका र तिनै सैनिकहरुले तनहुँका राजा हरकुमारदत्त सेनको निर्देशनमा सेन राजाहरुको कुलदेवी खड्गकालीदेवीलाई दुम्सीकोटमा स्थापना गरेका थिए। गोरखालीहरुको निरन्तर आक्रमण र निर्वमा औल लागेका कारण निर्बुमा राजा हरकुमारदत्त सेनको बसाईमा स्थिरता आएन । राजा कहिले तनहुँसुर, कहिले बन्दीपुर, कहिले हुस्लाङकोट, कहिले सोमेश्वरगढी कहिले रामनगरमा रहन थाले। पहाडमा गोरखाको र तराईमा बेतियाको पेलाईले तनहुँसुर लरखरायो । त्यही बेला सैनिक सहयोगको लागि राजा हरकुमारदत्त सेन लमजुङ पुगे । अचानक गोरखाले १९३९ साल कार्तिक १७ गते लमजुङको तार्कुकोट माथि आक्रमण गर्यो ।

गोरखासंग लमजुङले पराजय बेहोर्न वाध्य भयो । गोरखासंग लमजुङ पराजय हुनसाथ तनहुँ र लमजुङका दुबै राजाहरु पुरानोकोट, मनाङडाँडा हुँदै कर्पुटार झरे। लमजुङका राजा कास्कीको बाटो समाई पर्वतमा पुगे भने तनहुँका राज हरकुमारदत्त सेन कर्पुटारबाट शिःसाघाट पाटन, डमौली हुँदै बन्दीपुरको गोलडाँडामा पुगेर सन्तोषका सास फेरेका थिए। बन्दीपुरको हुस्लाङकोटमा राजधानी बनाएर तनहुँको कछारखण्डमा राज गरी बसेका राजा हरकुमारदत्त सेन वि.सं १९४१ मा बन्दीपुर खण्डको राजपाठ त्याग गर्दै तनहुँको विरासत राज्य रामनगर पुगेर शासन गर्न थाले ।

श र इ मिलेर श्री हुन्छ । श्री को अर्थ धनधान्य शकल सम्पदा ऋद्धिसिद्धि शोभा र सुष्मा पनि हो। श्री श्रेयस्कर सबैमा लाग्ने उच्चपद स्वीकारोक्ति पनि हो। श्रीनाम वा पदका अगाडि आउने आदरार्थी शब्द पनि हो । जस्तै श्रीराम। गोरखालीहरुसंगको लडाइले तनहुँ दरवारको श्रीसम्पती स्वाहा भइ पलपलमा ऋण लागेको थियो। त्यही ऋणका कारण राजा कामारीदत्त सेना मृत्यृको सन्मुख पुग्दा तेजमान प्रवृत्तिले राजालाई प्राथमिक उपचार गराउनुको सट्टामा ऋण असुली नै प्रमुख मुद्धा बनाउने समाजबाट टाढै रहन श्री (दाम, दुमो), धनसम्पती र लक्ष्मी प्राप्त गर्न दुम्सीहरु भांडाकुटी खेल्न गरेको कोटलाई नै श्री कोट सम्झेर राजा हरकुमार दत्त सेनले यस्को नाम श्रीकोट राखेका हुन् ।

राजा रामनगर पुगेपछि दुम्सीकोट (दुमकोट, दुमचउर र दुमो)को खड्गकाली मन्दिरमा पूजा अलपत्र पर्यो । वि.सं. १९६२ सालमा रामनगरका राजा हरकुमारदत्त सेनको अचानक मृत्यु भयो । यता वि.सं. १९६२ सालकै आसपासमा पटकपटक खड्काली मन्दिरको प्राङ्गणमा सेतोधरा बाँसको डाँडीमा टाँगिएको र उक्त धरो सिरसिरे हावाले फरफराएको देखिन थाल्यो। सिरसिर बतास चलेको हुनाले यस स्थानलाइ कसैले श्रीकोट र कसैले सिरसिरेकोट र तलको भञ्ज्याङलाई सिरी भञ्ज्याङ भन्न थालेका हुन् । यस्तो के भयो भनि खड्गकालीका पुजारी प्रतिमान सारुले जितबहादुर सिञ्जाली मगरलाई जोखना हेर्न लगाउँदा खड्गकाली माता देखा परिन । त्यहीबेलादेखि दुम्सीकोटमा खड्गदेवीको मन्दिर बनाई प्रतिमान सारु मगरले पूजाआजाको सुरुआत गरेका हुन् । प्रतिमान राना पछि हिरालाल सारु मगर र अहिले अमृत सारु मगरले खड्काली मन्दिरको पुजारी भई नियमित पूजाआजा गर्दै आएको पाइन्छ। खड्गकाली मन्दिरको नजिकै महादेव कमर जोगीले खड्गकालीको सेवा गरेर बसेकोमा हाल उनी नारायणगढमा बसाई सर्न पुगेका छन् ।

कसरी पुगिन्छ दुम्सीकोट

दमौली बजारबाट डिही गाउँ सेवर हुँदै देवी डाँडासम्म ७ किलोमिटर दुरी पार गरेपछि दुम्सीकोट पुग्न सकिन्छ । दमौली छाङ्गा वाराहीबाट सिधै श्रीभञ्ज्याङ हुँदै देवीडाँडा र दमौली कलेस्ती, अंध्येरी भञ्ज्याङ काम डाँडा हुँदै देवीडाँडा दुम्सीकोट र दमौली घाँसीकुवा लामीडाँडा अंध्येरी भञ्ज्याङ, कामीडाँडा हुँदै दुम्सीकोटको देवीडाँडामा पुग्न सकिन्छ ।

पर्यटकीय स्थल दुम्सीकोट र देवी डाँडाबाट वरपरका मिर्लुङकोट, क्यामिनकोट, थप्रेककोट, छिम्केश्वरी, मानहुँकोट, किलचोक, भूजिकोट र बन्दीपुर, जस्ता महाभारत पर्वत र मादी, कलेस्ती र बुल्दी उपत्यकाको दृष्यहरुको सहजै अवलोकन गर्न पाईने स्थान भएकाले एकपटक दुम्सीकोट तथा देवीडाँडासम्म पुगेर प्राकृतिक दृष्य स्थलको अवलोकन गरी ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक महोत्व बुझ्न सकिन्छ यहाँको अनुपम मनै लोभ्याउने खालका दृष्यहरुका कारण पटक–पटक दुम्सीकोटसम्म जाउँजाउँ जस्तो बनाउँछ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker