भिमादमा नेकपा एसको निर्वाचन सम्पर्क कार्यालय स्थापना
भञ्ज्याङ समाचारदाता/भिमाद

मंसिर ४ हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले भिमादमा निर्वाचनमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा एकीकृत समाजवादीले तनहुँ क्षेत्र नम्बर प्रदेश २ को कार्यालय सोमबार स्थापना गरेको हो ।
उक्त कार्यालयको नेकपा एसका पोलिटव्युरो सदस्य एवं प्रदेश सभा सदस्य उम्मेदवार प्रतापलाल श्रेष्ठले उदघाटन गरे । तनहुँ क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २ का उम्मेदवार समेत रहेका श्रेष्ठले नेकपा एसले गठबन्धनमा समर्थन गर्दा वा विद्रोह गर्दा परिणाम अनपेक्षित आउने बताए ।
‘हामी जिल्लामा निर्णायक शक्ति हौं, उनले भने ‘हामीलाई सम्मान जनक ब्यवहार गर्ने जोसँग पनि मिलेर वा एक्लै चुनावमा सहभागि हुने स्थिती बन्छ ।’ उनले गठबन्धनमा सम्मानजनक ब्यवहार नगरेको भन्दै आक्रोस व्यक्त गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार भक्त रसाइलीले आफुहरु पार्टीको आधिकारिक उम्मेदवार भएको र गठबन्धनको विद्रोही शक्ति भएको बताए । विद्रोह शक्ति भएको र सचेतहरुले मात्र गर्न सक्ने दावि गर्दै रसाइलीले निर्वाचन पछि जिल्लामा नेकपा एसको शक्ति देखिने दावि गरे ।
नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले गठबन्धनका शिर्ष नेताको हेपाहापूर्ण ब्यवहारको प्रतिवाद चुनावबाट गर्नुपर्ने भन्दै नेकपा एसको पक्षमा माहोल बन्ने गरि लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । भिमाद नगर कमिटीका अध्यक्ष काजिमान श्रेष्ठका अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरु बोलेका थिए ।










