एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि

तनहुँ : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका स्थानीय तहमा सञ्चालन गर्दै आएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे शिविर प्रभावकारी बन्दै गएको छ । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सञ्चालन गरिएका शिविरबाट कुल ८७३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यी मध्ये ४० जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ ।
ऋषिङ गाउँपालिकामा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था जेएएनटिआरएको संयुक्त आयोजनामा सोमबार सञ्चालन गरिएको शिविरमा ३२६ जनाको परीक्षण गरिएको थियो । तीमध्ये १७ जनामा क्षयरोग पुष्टि भएको छ भने ३५ जनालाई कन्ट्याक्ट ट्रेसिङका लागि पहिचान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापाले जानकारी गराए ।
उक्त शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा टेवा पुगेको चर्चा गरे । उनले गाउँपालिका बासिन्दाको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउनका लागि समय समयमा वडा तथा टोलटोलमा समेत शिविर सञ्चालन एवं स्वास्थ्यकर्मीहरु खटाएर परीक्षण तथा औषधी वितरण कार्यलाई निरन्तरता दिंदै आएको बताए ।
यस्तै, घिरिङ गाउँपालिका वडा नं. ३ मा सञ्चालन गरिएको शिविरमा ५४७ जनाले सेवा लिएका छन् । परीक्षणका क्रममा २३ जनामा क्षयरोग पुष्टि भएको छ भने ३९ जनाको खकार नमुना थप परीक्षणका लागि संकलन गरी प्रयोगशालामा पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी गराए ।
उनका अनुसार एआई प्रविधिको प्रयोगबाट एक्स–रे परीक्षण गर्दा छिटो र सटीक रूपमा रोग पहिचान गर्न सम्भव भएको छ । यसले विशेषगरी क्षयरोग जस्तो सरुवा रोगको प्रारम्भिक चरणमै पहिचान गरी उपचारमा ल्याउन महत्वपूर्ण सहयोग पु¥याएको उनले बताए ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यी शिविरहरूमा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो । परीक्षणसँगै क्षयरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
स्थानीय तह, प्रदेशस्तरीय निकाय र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता प्रविधिमैत्री स्वास्थ्य कार्यक्रमले समुदायमै पुगेर रोग पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरमा १७२ जना लाभान्वित

यस्तै, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा तथा ऋषिङ गाउँपालिकाको सहयोगमा महिलाहरूका लागि प्रजनन् स्वास्थ्यसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न छ ।
गत शुक्रबार श्री शंकर प्रा.वि., ऋषिङ–५ रुपटारमा आयोजित उक्त शिविरमा १७२ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। शिविरमा परीक्षण गरिएकामध्ये १३२ जनालाई औषधिमार्फत उपचार गरिएको थियो। साथै १० जनामा पाठेघरको मुखको क्यान्सरको शंका देखिएको र तीमध्ये ३ जनालाई प्रारम्भिक उपचार गरिएको जनाइएको छ। यसैगरी सम्भावित जोखिममा रहेका ६ जनालाई थप परीक्षण (कोल्पोस्कोपी)का लागि उपचार केन्द्रमै बोलाइएको छ ।
ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। यस्तो प्रकारका शिविरले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने भएकाले प्रभावकारी ढंगले समय समयमा सञ्चालन गर्ने योजनामा रहेको उनले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker