धर्मलाई अलग राखेर राजनीति गर्नुपर्छ
सुरशेकुमार पाण्डे

धर्मको सही अर्थ बुझ्न आवश्यक छ । पूजा–पाठ, कर्मकाण्ड वा बाह्य आडम्बरलाई मात्र धर्म ठान्नु यथार्थ होइन ती त समाजले समयअनुसार विकास गरेका सांस्कृतिक परम्पराहरू हुन्। विभिन्न समुदायले आफ्ना–आफ्ना आवश्यकता अनुसार धार्मिक अभ्यास गर्दै आएका छन्। उदाहरणका लागि, सिख समुदायले गुरुद्वारामा अखण्ड पाठ गर्ने परम्परा कायम राखेका छन्, जहाँ सबै मानिस समान हुन्छन्। त्यस्तै, विभिन्न धर्म र समुदायमा आ–आफ्नै तरिकाले पूजा गर्ने चलन छ ।
नेपालमा पनि पूजा–पाठका विविध स्वरूप पाइन्छन- क्षबत्ती, स्वास्थानी, देवाली लगायत अनेकौँ विधिहरू प्रचलनमा छन्। यी सबै परम्परा हुन्, जसलाई अपनाउने वा नअपनाउने निर्णय व्यक्तिको स्वतन्त्रता भित्र पर्छ। कतिपय अवस्थामा समूह वा समाजले पनि साझा निर्णय लिन सक्छ। त्यसैले, धर्मलाई अनिवार्य रूपमा एउटै ढाँचामा बुझ्न सकिँदैन।
तर, यथार्थ के हो भने धर्म र संस्कारको नाममा हुने कतिपय विकृति पनि समाजमा छन्। भाङ, धतुरा, मदिरा सेवन तथा हिंसात्मक गतिविधिहरूलाई धर्मसँग जोडेर अभ्यास गरिँदा समाजमा नकारात्मक प्रभाव परेको छ। बाल्यकालदेखि नै यस्ता रूढिवादी अभ्यास देखेर हुर्केका कतिपय युवाहरू पछि गएर त्यसबाट मुक्त हुन्छन् भने केही त्यसकै लतमा फस्ने गरेका छन्। यसले समाजलाई स्वस्थ दिशातर्फ लैजान चुनौती थपेको छ ।
राज्य सञ्चालनको सन्दर्भमा भने धर्म र राजनीति स्पष्ट रूपमा अलग हुनुपर्छ। राष्ट्रको आधार संविधान हो, जुन सबै नागरिकका लागि समान नियम हो। यदि कुनै एक धर्म वा समुदायको प्रभाव राजनीतिमा हाबी हुन थाल्यो भने त्यो लोकतान्त्रिक मूल्यमान्यताको विपरीत हुन्छ। यस्तो अवस्थाले भविष्यमा सत्तामा आउने समूहले आफ्नो धर्मलाई नै राज्यको धर्म बनाउने प्रवृत्ति जन्माउन सक्छ, जसले सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्छ ।
यस सन्दर्भमा …माटोको सपथÚ जस्ता अभ्यासलाई राष्ट्रियता र देशभक्तिसँग जोडेर सकारात्मक रूपमा लिन सकिन्छ। हामीले आफ्नो माटोका लागि संघर्ष गरेका छौँ, त्यसैले देशप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हो। वास्तवमा, मानवता नै सबैभन्दा ठूलो धर्म हो– अहिंसा, सत्य र सहिष्णुता नै यसको मूल आधार हुन्। तर विडम्बना, हाम्रो समाजमा धर्मकै नाममा हिंसा, झुट र अन्याय हुने गरेको पाइन्छ ।
अहिले पनि देशमा हजारौँ भूमिहीन किसान छन्, लाखौँ बेरोजगार छन्। धेरै युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, जहाँ उनीहरू कठिन र अपमानजनक काम गर्न बाध्य छन्। नेपाली चेलीहरू पनि विभिन्न जोखिमपूर्ण अवस्थाहरूमा परेका छन्। यस्तो अवस्थामा धर्मका नाममा मात्र कर्मकाण्डमा अल्झिनु भन्दा सामाजिक–आर्थिक रूपान्तरणतर्फ ध्यान दिनु आवश्यक छ ।
धर्मको नाममा दैवी शक्तिको आश्रय लिएर समाज परिवर्तन हुन्छ भन्ने सोच अझै पनि बलियो छ। तर व्यवहारमा हेर्दा, उच्च पदमा पुगेका व्यक्तिहरूले समेत चुनाव जित्न वा जनमत प्रभावित गर्न धर्मको प्रयोग गरेको देखिन्छ। शिक्षित र बौद्धिक समाज भए पनि व्यवहारमा परिवर्तन आउन नसक्नु चिन्ताको विषय हो।
छिमेकी मुलुक भारतको सन्दर्भमा पनि धर्म र राजनीति मिश्रणको बहस भइरहेकै छ। आफूलाई धर्मनिरपेक्ष घोषणा गरे पनि त्यहाँ धर्म आधारित राजनीतिक प्रभाव देखिन्छ। तथापि, कुनै पनि देशको संविधान सबै नागरिकका लागि समान हुनुपर्छ भन्ने सिद्धान्त सार्वभौमिक हो। धर्मका आधारमा राज्य सञ्चालन गर्दा अन्य समुदायका अधिकार कुण्ठित हुने खतरा रहन्छ ।
हामीकहाँ पनि कहिलेकाहीँ साना विषयलाई लिएर ठूलो विवाद सिर्जना गरिन्छ– कसैले कुन पूजा ग¥यो वा गरेन भन्ने विषयलाई अनावश्यक रूपमा उचालिन्छ । जबकि, आस्था व्यक्तिगत विषय हो। कसैले पूजा गर्ने अधिकार राख्छ भने नगर्ने अधिकार पनि उत्तिकै महत्त्वपूर्ण छ।
अदालतमा समेत धार्मिक ग्रन्थमा हात राखेर सत्य बोल्ने शपथ गराइने प्रचलन छ, तर त्यसपछि पनि प्रमाण प्रस्तुत गर्नुपर्ने अवस्था देखिन्छ। यसले हाम्रो न्याय प्रणालीमा रहेको विरोधाभास उजागर गर्छ। यदि शपथमै पूर्ण विश्वास हुने हो भने थप प्रमाणको आवश्यकता नपर्ने थियो। यसले देखाउँछ कि व्यवहारिक रूपमा कानुन र प्रमाण नै निर्णायक हुन्छन्, धर्म होइन।
यसैले, धर्मलाई राजनीति वा राज्य सञ्चालनसँग जोडेर हेर्नु उचित हुँदैन। धर्मको वास्तविक अर्थ मानवीयता, नैतिकता र सहअस्तित्व हो, न कि कर्मकाण्ड मात्र। आजको आवश्यकता भनेको राज्य सञ्चालन गर्ने नेतृत्वले देश र जनताको हितमा कत्तिको काम गर्छ भन्ने हो।
अन्ततः नयाँ सरकारहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, असमान सन्धि–सम्झौता पुनरावलोकन तथा समृद्धिको मार्गमा कत्तिको पहल गर्छन् भन्ने नै मुख्य विषय हो। उनीहरूको कार्यसम्पादनका आधारमा नै समर्थन वा विरोध गरिनु लोकतान्त्रिक अभ्यास हो। त्यसैले, धर्मलाई होइन, कामलाई आधार बनाएर राजनीति मूल्यांकन गर्नु आजको अपरिहार्यता हो ।










