क्रसर उद्योगमाथि तनहुँ प्रशासनको कडाई

दमौली : तनहुँमा सञ्चालनमा रहेका क्रसर उद्योगमाथि प्रशासनले अनुगमन सुरु गरेको छ। वातावरणीय मापदण्ड उल्लङ्घन, राजश्व चुहावट तथा सञ्चालन प्रक्रियामा अनियमिततासम्बन्धी गुनासो बढेपछि सम्बन्धित निकायले संयुक्त रूपमा अनुगमनलाई तीव्र बनाएका हुन्। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभरका क्रसर उद्योगको अनुगमन थालिएको जानकारी दिए। उनका अनुसार हालसम्म चारवटा उद्योगमा स्थलगत निरीक्षण गरिएको छ ।
अनुगमन टोलीले बेलबास, झापुटार, सत्रसय तथा आँबुखैरेनी क्षेत्रका क्रसर उद्योगहरूमा पुगेर कागजात तथा सञ्चालन अवस्थाबारे अध्ययन गरेको थियो। सो क्रममा केही उद्योगबाट आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने अन्यलाई तीन दिनभित्र सम्बन्धित निकायमा उपस्थित भई सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
क्रसर उद्योगहरूले आन्तरिक राजश्व, दर्ता, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका अनिवार्य कागजात पेश गर्नुपर्ने प्रावधान रहेको छ । तर, धेरै उद्योगले यी मापदण्ड पूर्ण रूपमा पालना नगरेको प्रारम्भिक अनुगमनबाट देखिएको प्रशासनको भनाइ छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशासनका अनुसार प्रारम्भिक चरणपछि जिल्लाभर रहेका अन्य क्रसर उद्योगहरूमा पनि क्रमशः निगरानी बढाइनेछ ।
जिल्लामा झण्डै तीन दर्जन क्रसर उद्योग सञ्चालनमा रहे पनि अधिकांशले आवश्यक मापदण्ड पूरा नगरी काम गर्दै आएको पाइएको छ । लामो समयदेखि यस्ता उद्योगमाथि प्रभावकारी अनुगमन तथा नियमन हुन नसक्दा समस्या जटिल बन्दै गएको स्थानीयको गुनासो छ ।
प्रशासनले अब उजुरीका आधारमा मात्र नभई नियमित रूपमा अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ । मापदण्डविपरीत सञ्चालन हुने उद्योगमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। सरोकार निकायहरूले वातावरण संरक्षण र राजश्व पारदर्शिताका लागि यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।










