विदेशबाट फर्किएर पशुपालन : रोजगारी खोज्दै भौतारिएका युवा अहिले आफै रोजगारी दिन्छन्

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किर्र्का हुन । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो ।

सोचअनुरुप उनले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गरे । शुक्लागण्डकी नगरपालिका-८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबइमा काम गरे । उनि पाँच वर्षअगाडि नेपाल फर्किका हुन् ।

नेपालमै केही गरौं भन्ने भावना उनमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो । शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पहिले रोजगारी खोज्दै भौतारिएका युवाहरु अहिले आफ्नै गाउँठाउँमा पशुपालन व्यवसायी गरी अन्यलाई रोजागरी दिन थालेका छन् ।

पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी-११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । अन्य आठ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् । उक्त एग्रो प्रालिमा हाल १५० गाईभैँसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक समेत रहेका विशालले बताए ।

‘उत्पादनमूलक व्यवसाय गर्नुपर्‍यो भनेर साथीहरूसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ। पाँच जना विदेशबाट फर्किएका युवाहरू छौं’, उनले भने, ‘राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भन्ने उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।’

‘पहिला हामी आफै रोजगारी खोज्दै खाडी मुलुकमा भौतारिएका थियौ’, उनले भने, ‘अहिले यहाँ ५० भैँसी र ३० गाई दुधालु छन् । पशुको रेखदेख तथा उत्पादित दुधको बजारीकरण लगायतका काम गर्न अन्य १७ जनालाई रोजागरी समेत दिएका छौं ।’

फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाए । व्यवसायमा कठिनाइ र संघर्ष रहेको भन्दै पौडेलले भने, ‘पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौं ।’ तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उनको गुनासो छ । दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उनको माग छ ।

प्रालिले १७ जनालाई रोजगारी दिएको छ । घाँस काट्न आवश्यकता अनुसार दश जनासम्मलाई रोजगारी दिइएको छ । प्रालिका सञ्चालक रुपबहादुर गोतामेले सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग नरहेको बताए । ‘गाईभैँसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउनुहुन्न, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ’, उनले भने, ‘एउटा गाईभैँसी बिरामी भयो भने फोन गरेर अन्यत्रैबाट प्राविधिक बोलाउनुपर्छ ।’

उक्त फार्ममा कूल लगानी रु १५ करोड पुगेको छ । त्यसमध्ये बैंकबाट रु दश करोड ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले बताए । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ । फार्मबाट उत्पादित दूध शुक्ला कृषि पर्यटन सहकारीमार्फत् बिक्री वितरण हुँदै आएको छ । सिग्देलले भने, ‘दूध बिक्रीमा समस्या छैन, बजारको माग पुर्‍याउन सकिरहेका छैनौँ, हाम्रो लक्ष्य दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने हो । गाईभैँसी थप्ने लक्ष्य छ ।’

गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्ष्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत् रु एक करोड ७६ लाख अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker