कृषि क्रान्तिको अभियानमा बन्दीपुर : उत्कृष्ट कृषकलाई नगदसहित सम्मानदेखि ‘गुरु किसान’ कार्यक्रमसम्म

बन्दीपुर : कृषि पेशा उपेक्षामा परिरहेको समयमा तनहुँको बन्दीपुर गाउँपालिकाले स्थानीय स्तरमै कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसयिक बनाउने महत्वकाङ्क्षी कार्यक्रमहरु अगाडि ल्याएको छ । युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला गाउँपालिकाले कृषि पेसालाई सम्मानित, मर्यादित र आयआर्जनसँग जोड्न लक्ष्यसहित उत्कृष्ट कृषक तथा कृषि संस्थालाई नगदसहित सम्मान गर्ने निर्णयसँगै नवीन अवधारणाका रूपमा ‘गुरु किसान’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामै पहिलो पटक उत्कृष्ट कृषक, कृषि समूह तथा कृषि सहकारीलाई विशेष सम्मान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ। गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार यो कार्यक्रम केवल औपचारिक सम्मानमा सीमित नभई बन्दीपुरलाई कृषिमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजनाका रुपमा हेरिएको छ ।
‘बन्दीपुर पर्यटनको केन्द्र मात्र नभई कफी, सुन्तला, तरकारी तथा पशुपालनका दृष्टिले समेत अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै वास्तविक र रैथाने किसान पहिचान गरी उनीहरूको श्रम र लगानीको सम्मान गर्न कार्यक्रम ल्याइएको छ’, उनले भने, ‘कृषि क्षेत्रमा युवा आकर्षण बढाउन र उत्पादन वृद्धि गर्न यसले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।’
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक कृषि फर्म, कृषक समूह तथा सहकारीलाई आवश्यक कानुनी कागजातसहित आवेदन दिन आव्हान गरेको छ । आवेदनका लागि वडा कार्यालयको सिफारिसपत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा), तथा कृषि फर्म, समूह वा सहकारीको दर्ता र नवीकरण प्रमाणपत्र अनिवार्य गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीका अनुसार वास्तविक कृषकहरू नीतिगत प्रक्रियाबाट नछुटून् भन्ने उद्देश्यले वस्तुगत मापदण्ड तयार गरिएको छ । उनले भने, ‘समयमै प्राप्त आवेदनहरूलाई प्राविधिक टोलीमार्फत स्थलगत अनुगमन र मूल्याङ्कन गरी उत्कृष्ट कृषक तथा संस्थाको छनोट गरिने छ ।’

किसानको बारीमै पुग्ने ‘गुरु किसान’

यस्तै, कृषि उत्पादनलाई आधुनिक र व्यावसायिक बनाउने अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। परम्परागत तालिम शैलीभन्दा फरक यस अवधारणामा अनुभवी किसान स्वयं अन्य किसानको खेतबारीमै पुगेर व्यवहारिक ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नेछन्।
गाउँपालिकाको कृषि विकास शाखाले संघीय सशर्त वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा दुईवटा कृषक समूह तथा फार्म छनोट गरेको छ । छनोट हुनेहरूमा बन्दीपुर गाउँपालिका–१ को भुँडाटार कृषक समूह तथा वडा नम्बर ५ स्थित भञ्ज्याङ कृषि तथा पशुपंक्षी फार्म (बुद्धिबहादुर मगर) रहेका छन् ।
गाउँपालिकाले छनोट भएका प्रस्तावकलाई आवश्यक कागजातसहित सात दिनभित्र सम्झौताका लागि उपस्थित हुन आग्रह गरेको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
विशेषगरी बन्दीपुर क्षेत्रमा कफी र लिची खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी किसानको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । कार्यक्रममा आबद्ध किसानले अनुदानमा बिरुवा, प्राविधिक सहयोग तथा निःशुल्क व्यवहारिक तालिम प्रदान गरिने भएको छ ।
परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै प्रविधिमैत्री र बजारमुखी कृषि उत्पादनमा जोड दिन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनले भने, ‘बन्दीपुरलाई कफी र लिची उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।’
यस्तै, प्रवक्ता श्रेष्ठले ‘गुरु किसान’ अवधारणालाई रैथाने सीप र व्यवहारिक ज्ञान हस्तान्तरण गर्ने नवीन प्रयासको रूपमा लिइएको बताए । उनले भने, ‘अनुभवी किसान स्वयं अन्य किसानको घरदैलो र खेतबारीमा पुगेर प्रत्यक्ष रूपमा खेती प्रविधि सिकाउने भएकाले यस कार्यक्रमले कृषि प्रसारलाई गाउँस्तरसम्म प्रभावकारी बनाउनेछ ।’
स्थानीय तहले कृषि क्षेत्रमा ल्याएका यस्ता योजनाले वैदेशिक रोजगारीतर्फ पलायन भइरहेका युवालाई गाउँमै उद्यम र रोजगारी सिर्जनामा प्रेरित गर्ने अपेक्षा गरिएको छ । कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र सम्मानित पेशाका रूपमा स्थापित गर्न बन्दीपुर गाउँपालिकाको यो पहललाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker