तनहुँमा भारतीय कार दुर्घटना, तीन जना पर्यटक घाइते

दमौली : तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो १ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको कार देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार ५ जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँको भनाइ छ ।
घाइते हुनेमा भारत बिहार राज्यको मधुवनीका ३७ वर्षीया आशा देवी, सोही ठाउँका ४० वर्षीया मनिका देवी र कार चालक भारत बिहार भगलपुरका २८ वर्षीय सोनु रहेको प्रहरीले जनाएको छ ।









