सम्पादकीय : खाद्य सुरक्षा र पोषण – स्वास्थ्यपूर्ण जीवनको आधार

विविध कार्यक्रम गरी आइतबार विश्वभर विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ । दूषित र असुरक्षित खाद्य पदार्थका कारण विश्वमा हरेक वर्ष करोडौँ मानिस बिरामी पर्ने र लाखौँले ज्यान गुमाउने गरेको तथ्याङ्कले खाद्य सुरक्षाको गम्भीरतालाई स्पष्ट देखाउँछ । यो समस्या केवल विकसित वा अविकसित देशको मात्र होइन, विश्वव्यापी चुनौती हो । नेपाल पनि यसबाट अछुतो छैन । खाद्य सुरक्षा भनेको केवल खाना खान मिल्ने हुनु मात्र होइन, त्यो खाना सुरक्षित, स्वच्छ र स्वास्थ्यका लागि हानिकारक नहुनु हो । उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा यदि सावधानी अपनाइएन भने सामान्य देखिने खाना पनि रोगको कारण बन्न सक्छ । दूषित पानी, विषादीयुक्त तरकारी, अस्वच्छ भण्डारण, ढुवानी र तयारी प्रक्रियाले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा खाद्यजन्य रोगहरू अझै पनि सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेका छन् । झाडापखाला, टाइफाइड, जन्डिस, हैजा जस्ता रोगहरू असुरक्षित खानेकुरा र पानीकै कारण फैलिने गरेका छन् । अझ चिन्ताको विषय के छ भने यी रोगहरूबाट सबैभन्दा बढी प्रभावित बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र गरिब तथा कमजोर वर्ग हुन् । खाद्य सुरक्षाको विषयलाई अहिले केवल रोगसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । यसको अर्को महत्वपूर्ण पक्ष हो– पोषण । खाना सुरक्षित भए पनि यदि त्यसमा आवश्यक पोषक तत्व छैन भने त्यो स्वास्थ्यका लागि पूर्ण हुँदैन । आज नेपालमा कुपोषण, रक्तअल्पता, पुड्कोपन जस्ता समस्या अझै चुनौतीका रूपमा छन् भने अर्कोतर्फ मधुमेह, उच्च रक्तचाप, मुटुरोग जस्ता नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । यी दुवै समस्याको मूल समाधान पोषणमै निहित छ । यसर्थ खाद्य सुरक्षा र पोषणलाई अलग–अलग विषयका रूपमा होइन, एउटै सिक्काका दुई पाटा भनेर बुझ्न आवश्यक छ । सुरक्षित खाना बिना राम्रो पोषण सम्भव छैन र पोषणविना स्वस्थ समाज निर्माण गर्न सकिँदैन ।

नेपाल सरकारले पछिल्ला वर्षहरूमा खाद्य स्वच्छता र स्वास्थ्यबीचको सम्बन्धलाई प्राथमिकतामा राख्दै नीतिगत प्रयासहरू अघि बढाएको छ । तर नीति मात्र पर्याप्त हुँदैन, यसको कार्यान्वयन प्रभावकारी हुनुपर्छ । खेतबारीदेखि बजारसम्म, भान्सादेखि थालसम्म खाद्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना हुनुपर्छ । आजको वास्तविकता के हो भने खाद्य प्रणालीको हरेक चरणमा चुनौतीहरू छन्। किसानले प्रयोग गर्ने विषादीदेखि लिएर बजारमा हुने अस्वच्छ भण्डारणसम्म, होटल–रेस्टुरेन्टमा हुने लापरवाहीदेखि घरमा हुने असावधानीसम्म समस्या फैलिएको छ । यसलाई सुधार गर्न सरकार मात्र होइन, उत्पादक, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष जनचेतना हो । धेरै मानिसलाई अझै पनि सुरक्षित खाना कसरी चिन्ने, कसरी भण्डारण गर्ने र कसरी प्रयोग गर्ने भन्ने आधारभूत ज्ञान पर्याप्त छैन । विद्यालयदेखि समुदायसम्म खाद्य सुरक्षा र पोषणबारे शिक्षा दिन आवश्यक छ । बालबालिकामा सानै उमेरदेखि स्वस्थ खाने बानी बसाल्न सके भविष्यमा धेरै रोगबाट जोगिन सकिन्छ ।

त्यसैगरी स्थानीय तहको भूमिका पनि महत्वपूर्ण छ । स्थानीय सरकारहरूलाई खाद्य सुरक्षा अनुगमन, बजार निरीक्षण र जनचेतना कार्यक्रम सञ्चालनमा अझ सक्रिय बनाउनुपर्छ । प्रत्येक स्थानीय तहमा पोषण र खाद्य सुरक्षा सम्बन्धी दक्ष जनशक्ति अनिवार्य रूपमा व्यवस्था गर्नु आजको आवश्यकता हो । स्वास्थ्य संस्थाहरूमा पनि आहारविद् र पोषण विशेषज्ञको उपस्थिति अपरिहार्य बन्दै गएको छ । रोगको उपचारसँगै बिरामीलाई सही आहार र पोषण सम्बन्धी सल्लाह दिन सके उपचार प्रभावकारी हुन्छ । तर अहिले धेरै स्वास्थ्य संस्थामा यस्तो सेवा सीमित छ, जुन सुधार गर्न जरुरी छ । खाद्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको मात्र विषय होइन, यो कृषि, शिक्षा, उद्योग, व्यापार र वातावरणसँग पनि जोडिएको छ । त्यसैले बहुक्षेत्रीय समन्वय बिना यसको समाधान सम्भव छैन । सरकारका सबै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक छ ।

आजको विश्व खाद्य सुरक्षा दिवसले हामीलाई यही सन्देश दिन्छ– खाद्य सुरक्षा सबैको जिम्मेवारी हो । सुरक्षित खाना, स्वच्छ वातावरण र सन्तुलित पोषण प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार हो । यो अधिकार सुनिश्चित गर्नु राज्य, समाज र व्यक्तिको संयुक्त कर्तव्य पनि हो । स्वस्थ नागरिक बिना समृद्ध देशको कल्पना गर्न सकिँदैन । त्यसैले खाद्य सुरक्षा र पोषणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ । सुरक्षित र पोषणयुक्त खाना नै स्वस्थ, सक्षम र समृद्ध नेपालको आधार हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker