सम्पादकीय : खाद्य सुरक्षा र पोषण – स्वास्थ्यपूर्ण जीवनको आधार

विविध कार्यक्रम गरी आइतबार विश्वभर विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ । दूषित र असुरक्षित खाद्य पदार्थका कारण विश्वमा हरेक वर्ष करोडौँ मानिस बिरामी पर्ने र लाखौँले ज्यान गुमाउने गरेको तथ्याङ्कले खाद्य सुरक्षाको गम्भीरतालाई स्पष्ट देखाउँछ । यो समस्या केवल विकसित वा अविकसित देशको मात्र होइन, विश्वव्यापी चुनौती हो । नेपाल पनि यसबाट अछुतो छैन । खाद्य सुरक्षा भनेको केवल खाना खान मिल्ने हुनु मात्र होइन, त्यो खाना सुरक्षित, स्वच्छ र स्वास्थ्यका लागि हानिकारक नहुनु हो । उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा यदि सावधानी अपनाइएन भने सामान्य देखिने खाना पनि रोगको कारण बन्न सक्छ । दूषित पानी, विषादीयुक्त तरकारी, अस्वच्छ भण्डारण, ढुवानी र तयारी प्रक्रियाले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा खाद्यजन्य रोगहरू अझै पनि सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेका छन् । झाडापखाला, टाइफाइड, जन्डिस, हैजा जस्ता रोगहरू असुरक्षित खानेकुरा र पानीकै कारण फैलिने गरेका छन् । अझ चिन्ताको विषय के छ भने यी रोगहरूबाट सबैभन्दा बढी प्रभावित बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र गरिब तथा कमजोर वर्ग हुन् । खाद्य सुरक्षाको विषयलाई अहिले केवल रोगसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । यसको अर्को महत्वपूर्ण पक्ष हो– पोषण । खाना सुरक्षित भए पनि यदि त्यसमा आवश्यक पोषक तत्व छैन भने त्यो स्वास्थ्यका लागि पूर्ण हुँदैन । आज नेपालमा कुपोषण, रक्तअल्पता, पुड्कोपन जस्ता समस्या अझै चुनौतीका रूपमा छन् भने अर्कोतर्फ मधुमेह, उच्च रक्तचाप, मुटुरोग जस्ता नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । यी दुवै समस्याको मूल समाधान पोषणमै निहित छ । यसर्थ खाद्य सुरक्षा र पोषणलाई अलग–अलग विषयका रूपमा होइन, एउटै सिक्काका दुई पाटा भनेर बुझ्न आवश्यक छ । सुरक्षित खाना बिना राम्रो पोषण सम्भव छैन र पोषणविना स्वस्थ समाज निर्माण गर्न सकिँदैन ।
नेपाल सरकारले पछिल्ला वर्षहरूमा खाद्य स्वच्छता र स्वास्थ्यबीचको सम्बन्धलाई प्राथमिकतामा राख्दै नीतिगत प्रयासहरू अघि बढाएको छ । तर नीति मात्र पर्याप्त हुँदैन, यसको कार्यान्वयन प्रभावकारी हुनुपर्छ । खेतबारीदेखि बजारसम्म, भान्सादेखि थालसम्म खाद्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना हुनुपर्छ । आजको वास्तविकता के हो भने खाद्य प्रणालीको हरेक चरणमा चुनौतीहरू छन्। किसानले प्रयोग गर्ने विषादीदेखि लिएर बजारमा हुने अस्वच्छ भण्डारणसम्म, होटल–रेस्टुरेन्टमा हुने लापरवाहीदेखि घरमा हुने असावधानीसम्म समस्या फैलिएको छ । यसलाई सुधार गर्न सरकार मात्र होइन, उत्पादक, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष जनचेतना हो । धेरै मानिसलाई अझै पनि सुरक्षित खाना कसरी चिन्ने, कसरी भण्डारण गर्ने र कसरी प्रयोग गर्ने भन्ने आधारभूत ज्ञान पर्याप्त छैन । विद्यालयदेखि समुदायसम्म खाद्य सुरक्षा र पोषणबारे शिक्षा दिन आवश्यक छ । बालबालिकामा सानै उमेरदेखि स्वस्थ खाने बानी बसाल्न सके भविष्यमा धेरै रोगबाट जोगिन सकिन्छ ।
त्यसैगरी स्थानीय तहको भूमिका पनि महत्वपूर्ण छ । स्थानीय सरकारहरूलाई खाद्य सुरक्षा अनुगमन, बजार निरीक्षण र जनचेतना कार्यक्रम सञ्चालनमा अझ सक्रिय बनाउनुपर्छ । प्रत्येक स्थानीय तहमा पोषण र खाद्य सुरक्षा सम्बन्धी दक्ष जनशक्ति अनिवार्य रूपमा व्यवस्था गर्नु आजको आवश्यकता हो । स्वास्थ्य संस्थाहरूमा पनि आहारविद् र पोषण विशेषज्ञको उपस्थिति अपरिहार्य बन्दै गएको छ । रोगको उपचारसँगै बिरामीलाई सही आहार र पोषण सम्बन्धी सल्लाह दिन सके उपचार प्रभावकारी हुन्छ । तर अहिले धेरै स्वास्थ्य संस्थामा यस्तो सेवा सीमित छ, जुन सुधार गर्न जरुरी छ । खाद्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको मात्र विषय होइन, यो कृषि, शिक्षा, उद्योग, व्यापार र वातावरणसँग पनि जोडिएको छ । त्यसैले बहुक्षेत्रीय समन्वय बिना यसको समाधान सम्भव छैन । सरकारका सबै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक छ ।
आजको विश्व खाद्य सुरक्षा दिवसले हामीलाई यही सन्देश दिन्छ– खाद्य सुरक्षा सबैको जिम्मेवारी हो । सुरक्षित खाना, स्वच्छ वातावरण र सन्तुलित पोषण प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार हो । यो अधिकार सुनिश्चित गर्नु राज्य, समाज र व्यक्तिको संयुक्त कर्तव्य पनि हो । स्वस्थ नागरिक बिना समृद्ध देशको कल्पना गर्न सकिँदैन । त्यसैले खाद्य सुरक्षा र पोषणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ । सुरक्षित र पोषणयुक्त खाना नै स्वस्थ, सक्षम र समृद्ध नेपालको आधार हो ।










