कृषिमा आधुनिकिकरण र उत्पादित उपजको बजारीकरणमा ध्यान दिन तनहुँका कृषकको आग्रह
भञ्ज्याङ न्यूज

तनहुँका कृषकहरुले कृषिमा आधुनिकिरण भित्र्याउन र उत्पादित उपजको सहज बजारिकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । कृषि ज्ञान केन्द्र तनहुँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोरखाले संयुक्त रुपमा बुधबार दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सहभागि कृषकहरुले उक्त आग्रह गरेका हुन् ।
‘अझैपनि कृषिमा आधुनिकरण भित्र्याउन नसक्दा कृषि उपजको लागत बढ्दै गएको छ र उत्पादन घट्दै गएको छ’, आँबुखैरेनी-१ बरादीका कृषक हेमेन्द्र के.सीले भने, ‘अहिले सरकारले आवश्यक समयमा उचित मात्रमा मलको उपलब्ध गराउन सकिरहेको छैन । यसका लागि कम्पोष्ट मल बनाउने मेसिनहरु हामीलाई उपलब्ध गराउन सकियो भने मलको समस्या हामी आफै समाधान गर्न सक्थ्यौं ।’
कृषकले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा पनि बारीमा कुहिने समस्य आएको उनले बताए । ‘हामीले उत्पादन गरेको अदुवा, खुर्सानी, बेसारले बजार नपाउँदा बारीमै कुहिने, ब्रि्रने अवस्था छ’, उनले भने, ‘यसका लागि विद्युतीय ड्रयार मेशिनको व्यवस्था मिलाइदिएमा सुकाउन सकिने र विग्रेर खेरा जाने थिएन ।’

यस्तै, सम्बन्धित कार्यालयले दिएको अनुदान असली कृषकलाई नभई झेले कृषकमाझ बढि पुग्ने गरेको व्यास नगरपालिका-१३ का श्रीप्रसाद साँखीले गुनासो गरे । गाई पालक समेत रहेका साँखीले भने, ‘पछिल्लो समय पाडीबाच्छी पालनमा अनुदान कार्यक्रम ल्याइएको थियो तर असली कृषकले नभई केही समयका लागि कृषक बनेकाले अनुदान पाए । यसमा पनि अनुदान दिने कार्यालयले अनुदान अघि र पछि त्यसको अनुगमन गर्नुपर्ने आवश्यक छ ।’
आँबुखैरेनी-१ की तारा अधिकारीले खेती गरेपश्चात अन्नबाली बाँदरले नष्ट गरेको भन्दै स्थानीय तह र कृषि ज्ञान केन्द्रसंग यो समस्याको समाधानका उपाए खोजिदिन आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘बाँदरले हामी कृषकलाई धेरै सताएको छ । हाम्रा खेतबारीमा बाँदर नै नआउने वातावरण बनाइदिनु पर्यो, नत्र बाँदरले नष्ट गरेका कृषि उपजको उचित मूल्याङ्कन गरी राहत दिने व्यवस्था मिलाइदिनुपर्यो ।’
यस्तै, काम गर्ने जनशक्ति कम भएकाले पनि अधिकांश खेतियोग्य जमिनहरु बाँझो रहेको हुँदा ती जग्गालाई कसरी उपयोगमा ल्याउन सकिन्छ ? विक्ल्प खोज्नुपर्ने कृषकहरुले आग्रह गरेका छन् । बाँझो रहेका खेतीयोग्य जमिनलाई कृषकलाई सस्तो मूल्यमा भाडामा उपलब्ध गराउन सके त्यहाँ आवश्यक सिंचाईको व्यवस्थापन गरी घाँस र बाख्रालाई आवश्यक पनि मकै उत्पादन गर्न सकिने व्यास-४ का बाख्रापालक कृषक नारायण अधिकारीले सुझाएका छन् ।
उनले भने, ‘अहिले चोकर, घाँस, दाना आदि बाहिराबाट खरिद गर्दा कृषकलाई उत्पादन लागत बढि पर्न जान्छ । उत्पादन लागत अनुसारको बजार मुल्य नपाउँदा कृषकहरु मारमा पर्ने गरेका छन् । त्यसैले कृषकहरुलाई बाँझो बनेका जग्गा सस्तो मूल्यमा भाडा उपलब्ध गराउन सकियो भने आवश्यक पर्ने मकै, घाँस त्यही बारीमै लगाउथे र उत्पादन लागत पनि काम हुने थियो ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कृषि तथा पशु प्राविधिकहरुको व्यवहार कृषकमैत्री हुनुपर्ने बताए । उनले भने, ‘प्राविधिकहरु खेतबारीमै पुगेर कृषकका गुनासा, पीडा र आवश्यक कृषि ज्ञानको ख्याल गर्नुपर्छ । उनीहरुले न्यायमैत्री काम गर्नुपर्छ ।’

पछिल्लो समयमा जिल्लाका कृषकहरु कुन खेतीप्रति आकर्षित छन् बुझेर उक्त खेतीप्रति कृषकहरुलाई प्राविधिक ज्ञान उपलब्ध गराउनुपर्ने जोड दिंदै प्रजिअ रिजालले भने, ‘गाउँघरका कृषकहरु मात्रै नभई विश्वविद्यालयका टपरहरुलाई पनि कसरी कृषिमा आकर्षण गर्न सकिन्छ त्यसतर्फगृहकार्य गर्न जरुरत छ ।’
यस्तै, बदलिदो समयअनुसार कृषि र पशुपालनमा पनि अनेक चुनौतीहरु बढ्दै गएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘कृषि र पशुपालनका क्षेत्रमा स्थानीय स्तरमै कस्तो नीति बनाएर प्रभावकारी रुपमा अगाडि बढ्न सकिन्छ विज्ञहरुले राय सुझावको खाँचो रहेको छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कृषिमा राज्यको ठुलो लगानी भएपनि प्रतिफल आउन नसकेको बताए । उनले भने, ‘कृषकले समयमै राम्रो विउविजन पाउन सकेका छैन । समयमा मल पाउन सकेका छैन । यावत समस्य छन् तर यसलाई चिर्दै कृषि क्षेत्रलाई थप व्यवस्थित गर्दै कसरी अगाडि लग्न सकिन्न्छ भनेर सोच्नुपर्ने समय आएको छ ।’
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी तथा पशु विज्ञ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना गोरखाकी प्रमुख पूर्ण ढुंगानाले आर्थिक वर्ष २०७९/०८० मा आ-आफ्ना कार्यालयबाट सम्पादन भएका कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।
यस्तै, तनहुँ लम्पी स्किन रोगबाट ४ हजार एक सय पशु संक्रमित भएको पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनका अनुसार हालसम्म ४७ वटा पशुको लम्पी स्किन संक्रमणबाट मृत्यु भएका जसमध्ये ४३ वटा गोरु रहेका छन् । हालसम्म १० हजार ५ सय पशुलाई रोग विरुद्धको खोप लगाइएको छ उनले बताए ।











