अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली : यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो ।

यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ । हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन् ।

नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन । घरायसी परम्पराअनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सीपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो । अचार बनाउने कामलाई पहिले सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

“पहिले अचार बनाउनु भनेको घरको कामजस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ । सीपलाई सही तरिकाले प्रयोग गर्नसके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ”, खनालले भन्नुभयो ।

आरतीजस्तै अन्य महिलाहरूले पनि परम्परागत सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन् । तालिमले महिलाहरूलाई अचार बनाउने विधिमात्र नभई उत्पादनलाई बजारयोग्य बनाउने विभिन्न पक्षबारे पनि व्यावहारिक ज्ञान प्रदान गरेको छ ।

स्थानीय लीला प्रधान श्रेष्ठका अनुसार तालिमले उत्पादनको गुणस्तर कायम गर्ने, सरसफाइमा ध्यान दिने, आकर्षक प्याकेजिङ गर्ने तथा बजारको मागअनुसार उत्पादनलाई प्रस्तुत गर्ने तरिका सिकाएको छ । “पहिले सामान्य तरिकाले बनाइने अचारलाई हाल कसरी व्यावसायिक रूपमा तयार गर्ने भन्ने ज्ञान प्राप्त गभएको छ”, उहाँले भन्नुभयो, “बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको स्वादमात्र होइन, यसको प्रस्तुति र गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने बुझ्यौँ ।”

स्थानीय कोपिला थापाले तालिमपछि आफ्नै क्षमतामाथि विश्वास गर्ने आधार बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा बसेर गरिने कामलाई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने अनुभूति भएको छ । महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्न सक्छ ।”

स्थानीयस्तरमा उपलब्ध आँप, कागती, मूला, खुर्सानी, लसुन, अदुवा, टिम्मुरलगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिन्छ । यसले स्थानीय कृषि उत्पादनको उपयोग बढाउनुका साथै मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानीको अवसर पनि सृजना गर्छ ।

उद्यमी सङ्घकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताउनुभयो । घरासयी प्रयोगका लागि बनाइने अचारको व्यावसायिक उत्पादन गरे आम्दानीको स्रोत बन्ने देखिएपछि महिलाहरूलाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षक तुलसी शाहले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइका मापदण्ड, गुणस्तर नियन्त्रण, लेबलिङ तथा प्याकेजिङबारे प्रशिक्षण दिनुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker