लोमान्थाङ, पर्यटन र मुस्ताङी राजाको दरवार

के.बि. मसाल

मुस्ताङ गण्डकी प्रदेश मा पर्दछ । माछापुच्छ्रे, धवलागीरी र निलगीरी हिमशिखरको बिचमा मुस्ताङ पर्दछ । हिमालपारी पनि मुस्ताङ उपल्लो र तल्लो दुई भुगोलमा विभाजन भएको छ। मुस्ताङलाई हिमाल पारीको जिल्ला भनिन्छ । मुस्ताङको नामाकरण तिव्वती भाषाबाट राखिएको पाइन्छ। तिव्वती भाषामा मनको अर्थ औषधी र थाङको अर्थ चौर हुन्छ । मनथाङ हुँदै मुस्ताङ भएको हो। नेपालको नक्सामा मुस्ताङ जिल्लाको उत्तरी सिमा टोपीको आकारमा फैलिएको छ र यस भेगलाई लोमान्थाङ भनिन्छ । लोमान्थाङ ३ हजार वर्ष पहिले तिव्वतसंगको व्यापारी नाकाको रुपमा बिकाश भएको स्थल हो । मुस्ताङमा अहिले घरपझोङ, थासाङ, दालोमे, लोमन्थाङ, बाह्रगाउँ र मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेका छन । लोमन्थाङ जादा मुक्तिनाथको दर्शन गर्न समेत सकिन्छ । अहिले लोमन्थाङ जादा सडक मार्गको सुबिधा भएको छ ।
लोमन्थाङमा तिब्बतको मौलिक संस्कृति छ। तर अहिले भने भेरै तिब्बतको संस्कृति लोपोन्मुख हुँदै गएको छ । लोमन्थाङमा खाम्से, साम्सेर, ढोचा र उनीका टोपी लगाएका पुरुषहरु भेडा, च्याङ्ग्रा, घोडा तथा चौंरीका बथानसँग लुकामारी गर्दै हिँडिरहेका देखिन्छन । बख्खु, होङजु, पाङदेन, किटी र मुगाको मालामा सुसज्जित महिलाहरु आफ्ना घर–आँगन तथा खेत–खलियानमा काममा हुन्छन । पहिलो पटक लोमन्थाङमा पुग्ने पर्यटकहरु त्यहाँको वेशभूषा र चालचलन देख्दा अनौठो मान्दछन । कंक्रिटको सहरबाट पहिलोचोटी लोमन्थाङ जानेहरुलाई माटोको सहरजस्तो लाग्छ सक्दछ । किनभने लोमन्थाङमा माटोले नै ढलान गरेका मौलिक घरहरु हुन्छन । त्यसमाथि सजाइएका दाउराका खलियानहरुले अर्कै सौन्दर्य थपिदिएको हुन्छ । लोमन्थाङलाई माटैमाटाका घरहरुको सहरका रुपमा विश्वका पर्यटकहरुले चिन्दै आएका छन ।
विश्वमा १० उत्कृष्ट स्थलहरु मध्य उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको लोमान्थाङ क्षेत्र विदेशिहरुलाई सन १९९२ देखिमात्र भ्रमणको लागी नेपाल सरकारले खुल्ला गरेको हो । अहिले लोमान्थाङमा नेपालीहरु भन्दा पनि विदेशि पर्यटकहरु धेरै जाने गर्दछन । दैनिक सयौको सख्यामा पुग्ने विदेशि पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरवार छ । राजा आमेपालले निर्माण गरेको लोमान्थाङ दरवार ५ तलाको छ । लोमान्थाङको दरवार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालको सास्ंकृतिक सम्पदा हुन । उपल्लो मुस्ताङमा लोमान्थाङ दरवार, चराङ दरवार र घमी दरवारनै पर्यटकका लागी आकर्षणका सम्पदा हुन ।
लोमान्थाङ दरवारको पर्खालमा पाच कुना र विच, विचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेको छ । दरवारको पूर्व तिर एउटा मात्र प्रवेश गेट राखिएको छ । यस भित्र रहेका १५औ शताब्दी तिर निमार्ण भएका मोन्खर दरवार, थुप्तेन गुम्वा, छयोदेन गुम्वा, झयाम्पाल गुम्वाहरु पर्यटकको लागि अध्यनको बिषय बन्छ । स्थानीय भाषामा लो को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र थाङको अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङगी राजाको प्रभाव जहासम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्वा निर्माणको क्रममा पटकपटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाह अनुसार चराङको मराङ भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरिएको छ । तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौ शताव्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्वा, मान्हे र आसपासमा रहेका चैते, प्राचिन कालमा ढुङाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागी हजारौ विदेशि पर्यटकहरु लोमान्थाङ पुग्ने गर्दछन । यो बाहेक लोमान्थाङमा तिब्बतको झोङवासेन जिल्लासंग सिमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुपमा समेत ऐतिहासिक गुम्वाहरु रहेका छन । बौद्धमार्गीहरुको लागि अध्ययन, अनुसन्धान गर्नको लागी उपल्लो मुस्ताङको लोमान्थाङ अति उपयोगि मानिन्छ ।
लोमान्थाङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफाहरु फेला परेका छन्। मानव बसोबास गर्ने गुफाहरु निक्कै ब्यवस्थित र वैज्ञानिक रहेको पाइएका छन् । बसोबासका लागि प्रयोग गरिएका गुफाहरु अग्लो पहाडमा छन् । प्राचिनकालमा सुरक्षाका हिसावले बसोबासका लागि अग्लो ठाउँ रोजेका हुन सक्ने अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्न तलाहरु पनि निर्माण गरिएका छन् । तला चढन भ¥याङको प्रयोग र भ¥याङमाथि घोप्टेको प्रयोग गरिएको भेटिएको छ । छैटौं शताब्दिका सभ्यताको संकेत दिने लोमान्थाङका गुफाहरुमा चैत्यहरु पनि फेला परेका छन् । लोमान्थाङ पुग्ने अधिकाँस पर्यटक गुफामा पुग्ने गरेका छन । गुफामा भित्र मानिसले प्रयोग गर्ने भाडाँकुडा, लगाउने लत्ताकपडा, सत्रुसँग लडन बनाएका धातुका साम्रगी भेटिएका छन । करिव २५ सय वर्ष अगाडि हजगाभा भन्ने तिब्वतीयन समुहले गाउँमा पटकपटक आक्रमण गर्न खोजेपछि गाउँलेहरुले झोङ गुफा बनाएर बसोबास गरेको भनाइ रहेको छ । अहिले एक्याप भन्ने सस्थाले भ्रमणमा आएका पर्यटकहरुलाई गुफाको बारेमा जानकारी गराउने काम गर्दै आएको छ ।
लोमान्थाङमा बाह्रै महिना हिउँ र चिसो हुनाले चिसोबाट बच्नको लागि मुस्ताङका मानिसहरु बाक्लो कापडाहरु लगाउने गर्दछन् । मुस्ताङ अन्नपूर्ण हिमशृंखलाको उत्तरपट्टी रहेको हुनाले पानी कम मात्रामा पर्दछ । उपल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र अर्थात राजधानी लोमान्थाङ गाउँ हो । प्राचिन कला संस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ को बिशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । लोमान्थाङमा परमपरागत एकैठाउमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन्छ। दसैं र तिहारको बिदा मनाउन वाह्य मात्र होइन आन्तरिक पर्यटकहरु लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आजभोली आन्तरिक पर्यटकको आकर्षण धेरै हुने गरेको छ । लोमान्थाङ पुग्नु पर्यटकहरुलाई स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । जस्को कारण धेरै पर्यटक घुम्नको लागि लोमान्थाङ उत्कृष्ट गन्तव्य मान्दछन ।
लोमान्थाङ दरवार र गुम्वाको अवलोकन गरेपछि उपल्लो मुस्ताङमा पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड। धार्मिक अथवा प्राकृतीक रुपले अति मनमोहक सुन्दर हिमाली श्रृंखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दुहरुको आस्थाको पवित्र कालीगण्डकीको उदगम स्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिव १२० कि.मि.को दुरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङको घारागाउँ बाट २ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घारा गाउँ बाट दामोदरकुण्ड सम्मको भूगोलमा मानव बस्ति नभएकोले त्यहा जाने पर्यटकहरुले खाद्यान्न लगायत बन्दोबस्तिका सबै सामान साथमा लिएर जानु पर्दछ ।
तिर्थको लागि होस अथवा घुम्नको लागि दामोदर कुण्ड जानको लागी श्रावर्ण र भाद्र महिना राम्रो हुन्छ । दामोदरकुण्डमा प्राकृतिक मनोरम हिमाली श्रृंखलामा उपत्यका बनेको छ । हजारौ हिमाली फुलहरुले उपत्यकालाई सजाएको छ। दामोदरकुण्ड वरपर अरु साना तिना  कुण्डहरु पनि छन । छिन–छिनमा रातो, निलो, सेतो रगंको पानी देखिने कुण्डले त्यहाँ पुग्ने पर्यटकलाई रोमाञ्च बनाउछ । दामोदरकुण्डदेखि बगेर आएको नर्साङ खोलाको किनारमा १२ वटा नुनिलो पानीको मूल रहेका छन्। यो मुलको पानी जमाएर उत्पादन गरिएको नुन पाचँ दशक पहिलेसम्म प्रयोगमा आएको थियो ।
लोमान्थाङ घुम्न जाने पर्यटकहरुले मुस्ताङका केही सँस्कृतिको रुपमा रहेका प्रथाको बारेमा पनि अध्यन गर्न पाउँछन । लोमान्थाङ मात्र होइन मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा छ । लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । भरसक प्रहरी र अदालतमा मुस्ताङी जाँदैनन् । उनीहरुले आफनो समस्या मुखिया कहाँ नै पुगेर छिनोफानो गर्दछन । मुस्ताङका सबै गाउँमा मुखियाका कार्यालय छन । लोमान्थाङमा मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा रहेको छ । शव चोक्टा–चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो लोमान्थाङ क्षेत्रमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तिमा भने विस्तारै हराउँदै गएको छ । उपल्लो भेगका लोमान्थाङ र दालमे गाउँपालिकामा भने यो प्रचलन कायमै रहेको छ । लोमान्थाङमा विष्ट, थकाली, गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ । यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले मृतकको जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । कसैलाई जलाउन, गाड्नु अथवा काटेर पानीमा बगाउनु र कसैलाई चोक्टा–चोक्टा पारेर गिद्धलाई खुवाउनु लामाको बिधि भित्र पर्दछ। काटेर गिद्धलाई खुवाउनु चाहिँ सबैभन्दा राम्रो मानिन्छ । जलाएर अन्त्येष्टि गर्नु दोस्रो विकल्प हो। वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ ।
लोमान्थाङमा अझै बहु पति प्रथा कायम छ । एउटा घरमा रहेका सबै दाजुभाइले एउटा महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहु पति प्रथा भनिन्छ । मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुखाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङ लगायतका गाउँमा अझै यस्तो संस्कृति यथावत पाइन्छ । बाहिरी समाजले यहाँको वैवाहिक संस्कारलाई प्रथाका रुपमा लिने गर्दछन। तर आज भोली यो प्रथा बिस्तारै हराउन थालेको छ । कोरला नाका मुस्ताङको छोसेरसँग जोडिएको छ । तिब्बततर्फको भागमा भौतिक संरचनाहरु बनेको देखिन्छ । त्यहाँ सोलार प्यानल र चिनियाँ सेनाको क्याम्प देखिन्छ । सीमानामा चीन सरकारले तार जाली लगाएको छ। गाडीहरु पनि कोरलासम्म पुगेका छन। जोमसोमबाट ९३ किमी यात्राबाट कोरला नाका पुग्न सकिन्छ। बाटोमा समर, घमी, चराङ हुँदै लोमान्थाङ पुगिन्छ । लोमान्थाङबाट छोन्दुप हुँदै छोसेर अर्थात कोरला नाका पुगिन्छ । कोरला नाका तिब्बततर्फको ढुम्वासेन जिल्लामा पर्दछ ।
लोमान्थाङ घुम्न जादा नयाँ बर्षको सुरुमानै पुग्नु भयो भने चौरी गाईको रगत खाने मेला समेत पर्यटकहरुले हेर्न पाउछन । थासाङ गाउँपालिकाको केन्द्र कोवाङको बोक्सी खोलामा बर्षेनी वैशाखको पहिलो साता चौरीगाईको आलो रगत पिउने मेला लाग्छ । चौरीको आलो रगत पिउँदा दम, मुटु, गानोगोला, मधुमेह, ग्याष्ट्रिक, सर्केको, मर्केका रोग निको हुने विश्वास गरिन्छ । चौरी गाईको रगत पिउन छिमेकी जिल्लाबाट समेत धेरै मानिसहरु पुग्ने गर्दछन । मेलामा धेरै पर्यटकहरु पनि चौरीको रगत पिउने गरेको देखिन्छ । लोमान्थाङमा ऐतिहासिक तिजी पर्व पनि वैशाखको तेस्रो हप्ताबाट सुरु हुन्छ । १५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन हुन्छ । तिजी पर्वमा विभिन्न देवी देवताको पूजापाठ र सांस्कृतिक नृत्य प्रदर्शन हुन्छ । लोमान्थाङमा विश्वशान्ति र दैवीप्रकोप कम होस भन्ने कामनासाथ तिजी पर्व मनाउने प्रचलन छ । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिए छ ।
लोमान्थाङ घुम्न फागुनको अन्तिम सातादेखि असोज महिनासम्म उपयुक्त मौसम मानिन्छ । उपल्लो मुस्ताङ अर्थात लोमान्थाङमा भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनी विभिन्न देशका पर्यटक लोमान्थाङ पुग्ने गर्छन्। अधिकाशं पर्यटकहरु हिमाली श्रृंखलाको अवलोकन गर्ने उद्देश्यका साथ जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान रुचाउछन । विश्वकै उत्कृष्ट पदमार्ग अन्नपूर्ण फेरोको पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरुको सख्या बढाउको छ । लोमान्थाङ जाने अहिले धेरै बाटो भएका छन । लमजुङको सदरमुकाम वेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको तिलिचो तालको अवलोकन गर्दै थोराङपास गरेर मुक्तिनाथ भएर पनि पर्यटकहरु लोमान्थाङ घुम्न जाने गरेका छन । पदयात्राका सौखिनका लागि पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी समेत ठान्ने गरेका छन ।
कोरलानाका जोडने सडक कालिगण्डकी करीडोर गैडाकोटबाट कोरलासम्म ४३५ किलो मिटर रहेको छ । अर्को तर्फ सुनौली नाकाबाट कोरला नाका पुग्न ३४५ किलोमिटर दूरी पर्दछ । सुनौलीबाट कोरला नाकासँग सिधा सडक सञ्जाल जोडिए बुटवल, पाल्पा, रिडी र बाग्लुङ हुँदै मुस्ताङ जान छोटो मार्ग पर्दछ। कोरलाबाट २५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि छोटो मार्ग हुने छ । कोरलाबाट १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिनेछ। लोमान्थाङ घुम्नको लागी आउने जाने बाटोको समय बाहेक कमतीमा पनि ७ दिनको समय निकान्न सके राम्रो हुन्छ । मुस्ताङमा खान बस्नलाई बाटोमा होटल पाइन्छ । सधै चिसो हावापानी हुने हुदा बाक्लो लुगा आवस्यक पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker