लोमान्थाङ, पर्यटन र मुस्ताङी राजाको दरवार
के.बि. मसाल

मुस्ताङ गण्डकी प्रदेश मा पर्दछ । माछापुच्छ्रे, धवलागीरी र निलगीरी हिमशिखरको बिचमा मुस्ताङ पर्दछ । हिमालपारी पनि मुस्ताङ उपल्लो र तल्लो दुई भुगोलमा विभाजन भएको छ। मुस्ताङलाई हिमाल पारीको जिल्ला भनिन्छ । मुस्ताङको नामाकरण तिव्वती भाषाबाट राखिएको पाइन्छ। तिव्वती भाषामा मनको अर्थ औषधी र थाङको अर्थ चौर हुन्छ । मनथाङ हुँदै मुस्ताङ भएको हो। नेपालको नक्सामा मुस्ताङ जिल्लाको उत्तरी सिमा टोपीको आकारमा फैलिएको छ र यस भेगलाई लोमान्थाङ भनिन्छ । लोमान्थाङ ३ हजार वर्ष पहिले तिव्वतसंगको व्यापारी नाकाको रुपमा बिकाश भएको स्थल हो । मुस्ताङमा अहिले घरपझोङ, थासाङ, दालोमे, लोमन्थाङ, बाह्रगाउँ र मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेका छन । लोमन्थाङ जादा मुक्तिनाथको दर्शन गर्न समेत सकिन्छ । अहिले लोमन्थाङ जादा सडक मार्गको सुबिधा भएको छ ।
लोमन्थाङमा तिब्बतको मौलिक संस्कृति छ। तर अहिले भने भेरै तिब्बतको संस्कृति लोपोन्मुख हुँदै गएको छ । लोमन्थाङमा खाम्से, साम्सेर, ढोचा र उनीका टोपी लगाएका पुरुषहरु भेडा, च्याङ्ग्रा, घोडा तथा चौंरीका बथानसँग लुकामारी गर्दै हिँडिरहेका देखिन्छन । बख्खु, होङजु, पाङदेन, किटी र मुगाको मालामा सुसज्जित महिलाहरु आफ्ना घर–आँगन तथा खेत–खलियानमा काममा हुन्छन । पहिलो पटक लोमन्थाङमा पुग्ने पर्यटकहरु त्यहाँको वेशभूषा र चालचलन देख्दा अनौठो मान्दछन । कंक्रिटको सहरबाट पहिलोचोटी लोमन्थाङ जानेहरुलाई माटोको सहरजस्तो लाग्छ सक्दछ । किनभने लोमन्थाङमा माटोले नै ढलान गरेका मौलिक घरहरु हुन्छन । त्यसमाथि सजाइएका दाउराका खलियानहरुले अर्कै सौन्दर्य थपिदिएको हुन्छ । लोमन्थाङलाई माटैमाटाका घरहरुको सहरका रुपमा विश्वका पर्यटकहरुले चिन्दै आएका छन ।
विश्वमा १० उत्कृष्ट स्थलहरु मध्य उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको लोमान्थाङ क्षेत्र विदेशिहरुलाई सन १९९२ देखिमात्र भ्रमणको लागी नेपाल सरकारले खुल्ला गरेको हो । अहिले लोमान्थाङमा नेपालीहरु भन्दा पनि विदेशि पर्यटकहरु धेरै जाने गर्दछन । दैनिक सयौको सख्यामा पुग्ने विदेशि पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरवार छ । राजा आमेपालले निर्माण गरेको लोमान्थाङ दरवार ५ तलाको छ । लोमान्थाङको दरवार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालको सास्ंकृतिक सम्पदा हुन । उपल्लो मुस्ताङमा लोमान्थाङ दरवार, चराङ दरवार र घमी दरवारनै पर्यटकका लागी आकर्षणका सम्पदा हुन ।
लोमान्थाङ दरवारको पर्खालमा पाच कुना र विच, विचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेको छ । दरवारको पूर्व तिर एउटा मात्र प्रवेश गेट राखिएको छ । यस भित्र रहेका १५औ शताब्दी तिर निमार्ण भएका मोन्खर दरवार, थुप्तेन गुम्वा, छयोदेन गुम्वा, झयाम्पाल गुम्वाहरु पर्यटकको लागि अध्यनको बिषय बन्छ । स्थानीय भाषामा लो को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र थाङको अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङगी राजाको प्रभाव जहासम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्वा निर्माणको क्रममा पटकपटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाह अनुसार चराङको मराङ भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरिएको छ । तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौ शताव्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्वा, मान्हे र आसपासमा रहेका चैते, प्राचिन कालमा ढुङाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागी हजारौ विदेशि पर्यटकहरु लोमान्थाङ पुग्ने गर्दछन । यो बाहेक लोमान्थाङमा तिब्बतको झोङवासेन जिल्लासंग सिमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुपमा समेत ऐतिहासिक गुम्वाहरु रहेका छन । बौद्धमार्गीहरुको लागि अध्ययन, अनुसन्धान गर्नको लागी उपल्लो मुस्ताङको लोमान्थाङ अति उपयोगि मानिन्छ ।
लोमान्थाङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफाहरु फेला परेका छन्। मानव बसोबास गर्ने गुफाहरु निक्कै ब्यवस्थित र वैज्ञानिक रहेको पाइएका छन् । बसोबासका लागि प्रयोग गरिएका गुफाहरु अग्लो पहाडमा छन् । प्राचिनकालमा सुरक्षाका हिसावले बसोबासका लागि अग्लो ठाउँ रोजेका हुन सक्ने अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्न तलाहरु पनि निर्माण गरिएका छन् । तला चढन भ¥याङको प्रयोग र भ¥याङमाथि घोप्टेको प्रयोग गरिएको भेटिएको छ । छैटौं शताब्दिका सभ्यताको संकेत दिने लोमान्थाङका गुफाहरुमा चैत्यहरु पनि फेला परेका छन् । लोमान्थाङ पुग्ने अधिकाँस पर्यटक गुफामा पुग्ने गरेका छन । गुफामा भित्र मानिसले प्रयोग गर्ने भाडाँकुडा, लगाउने लत्ताकपडा, सत्रुसँग लडन बनाएका धातुका साम्रगी भेटिएका छन । करिव २५ सय वर्ष अगाडि हजगाभा भन्ने तिब्वतीयन समुहले गाउँमा पटकपटक आक्रमण गर्न खोजेपछि गाउँलेहरुले झोङ गुफा बनाएर बसोबास गरेको भनाइ रहेको छ । अहिले एक्याप भन्ने सस्थाले भ्रमणमा आएका पर्यटकहरुलाई गुफाको बारेमा जानकारी गराउने काम गर्दै आएको छ ।
लोमान्थाङमा बाह्रै महिना हिउँ र चिसो हुनाले चिसोबाट बच्नको लागि मुस्ताङका मानिसहरु बाक्लो कापडाहरु लगाउने गर्दछन् । मुस्ताङ अन्नपूर्ण हिमशृंखलाको उत्तरपट्टी रहेको हुनाले पानी कम मात्रामा पर्दछ । उपल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र अर्थात राजधानी लोमान्थाङ गाउँ हो । प्राचिन कला संस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ को बिशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । लोमान्थाङमा परमपरागत एकैठाउमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन्छ। दसैं र तिहारको बिदा मनाउन वाह्य मात्र होइन आन्तरिक पर्यटकहरु लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आजभोली आन्तरिक पर्यटकको आकर्षण धेरै हुने गरेको छ । लोमान्थाङ पुग्नु पर्यटकहरुलाई स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । जस्को कारण धेरै पर्यटक घुम्नको लागि लोमान्थाङ उत्कृष्ट गन्तव्य मान्दछन ।
लोमान्थाङ दरवार र गुम्वाको अवलोकन गरेपछि उपल्लो मुस्ताङमा पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड। धार्मिक अथवा प्राकृतीक रुपले अति मनमोहक सुन्दर हिमाली श्रृंखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दुहरुको आस्थाको पवित्र कालीगण्डकीको उदगम स्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिव १२० कि.मि.को दुरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङको घारागाउँ बाट २ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घारा गाउँ बाट दामोदरकुण्ड सम्मको भूगोलमा मानव बस्ति नभएकोले त्यहा जाने पर्यटकहरुले खाद्यान्न लगायत बन्दोबस्तिका सबै सामान साथमा लिएर जानु पर्दछ ।
तिर्थको लागि होस अथवा घुम्नको लागि दामोदर कुण्ड जानको लागी श्रावर्ण र भाद्र महिना राम्रो हुन्छ । दामोदरकुण्डमा प्राकृतिक मनोरम हिमाली श्रृंखलामा उपत्यका बनेको छ । हजारौ हिमाली फुलहरुले उपत्यकालाई सजाएको छ। दामोदरकुण्ड वरपर अरु साना तिना कुण्डहरु पनि छन । छिन–छिनमा रातो, निलो, सेतो रगंको पानी देखिने कुण्डले त्यहाँ पुग्ने पर्यटकलाई रोमाञ्च बनाउछ । दामोदरकुण्डदेखि बगेर आएको नर्साङ खोलाको किनारमा १२ वटा नुनिलो पानीको मूल रहेका छन्। यो मुलको पानी जमाएर उत्पादन गरिएको नुन पाचँ दशक पहिलेसम्म प्रयोगमा आएको थियो ।
लोमान्थाङ घुम्न जाने पर्यटकहरुले मुस्ताङका केही सँस्कृतिको रुपमा रहेका प्रथाको बारेमा पनि अध्यन गर्न पाउँछन । लोमान्थाङ मात्र होइन मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा छ । लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । भरसक प्रहरी र अदालतमा मुस्ताङी जाँदैनन् । उनीहरुले आफनो समस्या मुखिया कहाँ नै पुगेर छिनोफानो गर्दछन । मुस्ताङका सबै गाउँमा मुखियाका कार्यालय छन । लोमान्थाङमा मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा रहेको छ । शव चोक्टा–चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो लोमान्थाङ क्षेत्रमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तिमा भने विस्तारै हराउँदै गएको छ । उपल्लो भेगका लोमान्थाङ र दालमे गाउँपालिकामा भने यो प्रचलन कायमै रहेको छ । लोमान्थाङमा विष्ट, थकाली, गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ । यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले मृतकको जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । कसैलाई जलाउन, गाड्नु अथवा काटेर पानीमा बगाउनु र कसैलाई चोक्टा–चोक्टा पारेर गिद्धलाई खुवाउनु लामाको बिधि भित्र पर्दछ। काटेर गिद्धलाई खुवाउनु चाहिँ सबैभन्दा राम्रो मानिन्छ । जलाएर अन्त्येष्टि गर्नु दोस्रो विकल्प हो। वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ ।
लोमान्थाङमा अझै बहु पति प्रथा कायम छ । एउटा घरमा रहेका सबै दाजुभाइले एउटा महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहु पति प्रथा भनिन्छ । मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुखाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङ लगायतका गाउँमा अझै यस्तो संस्कृति यथावत पाइन्छ । बाहिरी समाजले यहाँको वैवाहिक संस्कारलाई प्रथाका रुपमा लिने गर्दछन। तर आज भोली यो प्रथा बिस्तारै हराउन थालेको छ । कोरला नाका मुस्ताङको छोसेरसँग जोडिएको छ । तिब्बततर्फको भागमा भौतिक संरचनाहरु बनेको देखिन्छ । त्यहाँ सोलार प्यानल र चिनियाँ सेनाको क्याम्प देखिन्छ । सीमानामा चीन सरकारले तार जाली लगाएको छ। गाडीहरु पनि कोरलासम्म पुगेका छन। जोमसोमबाट ९३ किमी यात्राबाट कोरला नाका पुग्न सकिन्छ। बाटोमा समर, घमी, चराङ हुँदै लोमान्थाङ पुगिन्छ । लोमान्थाङबाट छोन्दुप हुँदै छोसेर अर्थात कोरला नाका पुगिन्छ । कोरला नाका तिब्बततर्फको ढुम्वासेन जिल्लामा पर्दछ ।
लोमान्थाङ घुम्न जादा नयाँ बर्षको सुरुमानै पुग्नु भयो भने चौरी गाईको रगत खाने मेला समेत पर्यटकहरुले हेर्न पाउछन । थासाङ गाउँपालिकाको केन्द्र कोवाङको बोक्सी खोलामा बर्षेनी वैशाखको पहिलो साता चौरीगाईको आलो रगत पिउने मेला लाग्छ । चौरीको आलो रगत पिउँदा दम, मुटु, गानोगोला, मधुमेह, ग्याष्ट्रिक, सर्केको, मर्केका रोग निको हुने विश्वास गरिन्छ । चौरी गाईको रगत पिउन छिमेकी जिल्लाबाट समेत धेरै मानिसहरु पुग्ने गर्दछन । मेलामा धेरै पर्यटकहरु पनि चौरीको रगत पिउने गरेको देखिन्छ । लोमान्थाङमा ऐतिहासिक तिजी पर्व पनि वैशाखको तेस्रो हप्ताबाट सुरु हुन्छ । १५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन हुन्छ । तिजी पर्वमा विभिन्न देवी देवताको पूजापाठ र सांस्कृतिक नृत्य प्रदर्शन हुन्छ । लोमान्थाङमा विश्वशान्ति र दैवीप्रकोप कम होस भन्ने कामनासाथ तिजी पर्व मनाउने प्रचलन छ । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिए छ ।
लोमान्थाङ घुम्न फागुनको अन्तिम सातादेखि असोज महिनासम्म उपयुक्त मौसम मानिन्छ । उपल्लो मुस्ताङ अर्थात लोमान्थाङमा भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनी विभिन्न देशका पर्यटक लोमान्थाङ पुग्ने गर्छन्। अधिकाशं पर्यटकहरु हिमाली श्रृंखलाको अवलोकन गर्ने उद्देश्यका साथ जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान रुचाउछन । विश्वकै उत्कृष्ट पदमार्ग अन्नपूर्ण फेरोको पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरुको सख्या बढाउको छ । लोमान्थाङ जाने अहिले धेरै बाटो भएका छन । लमजुङको सदरमुकाम वेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको तिलिचो तालको अवलोकन गर्दै थोराङपास गरेर मुक्तिनाथ भएर पनि पर्यटकहरु लोमान्थाङ घुम्न जाने गरेका छन । पदयात्राका सौखिनका लागि पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी समेत ठान्ने गरेका छन ।
कोरलानाका जोडने सडक कालिगण्डकी करीडोर गैडाकोटबाट कोरलासम्म ४३५ किलो मिटर रहेको छ । अर्को तर्फ सुनौली नाकाबाट कोरला नाका पुग्न ३४५ किलोमिटर दूरी पर्दछ । सुनौलीबाट कोरला नाकासँग सिधा सडक सञ्जाल जोडिए बुटवल, पाल्पा, रिडी र बाग्लुङ हुँदै मुस्ताङ जान छोटो मार्ग पर्दछ। कोरलाबाट २५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि छोटो मार्ग हुने छ । कोरलाबाट १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिनेछ। लोमान्थाङ घुम्नको लागी आउने जाने बाटोको समय बाहेक कमतीमा पनि ७ दिनको समय निकान्न सके राम्रो हुन्छ । मुस्ताङमा खान बस्नलाई बाटोमा होटल पाइन्छ । सधै चिसो हावापानी हुने हुदा बाक्लो लुगा आवस्यक पर्दछ ।










