व्यास नगरपालिकामा गाउँघर क्लिनिक सञ्चालन
भञ्ज्याङसमाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरबासीलाई गाउँघरमै पुगरे सेवन दिने लक्ष्यसहित नगरपालिकाले गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।
भौगोलिक विकटता, यातायातको समस्याको कारण सहज रुपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि नगरपालिकाले गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
शहरी क्षेत्र बाहेकका वडाहरुमा नगरपालिकाले गाउँघर क्लिनिक सञ्चालन गरिने उनले बताए । उनका अनुसार बजार क्षेत्रसँग जोडिएपनि विकट रहेका वडाहरुमा स्वास्थ्यको पहुँच घरमै पुर्याउनका लागि गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।
उनले भने, ‘हाम्रो व्यास नगरपालिकामा रहेका भित्रि गाउँहरु अझै विकट छन् । स्वास्थ्यको पहुँच पुगेका छैनन् । गाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको छ । उक्त गाउँघर क्लिनिक मार्फत हरेक महिनामा विकट गाउँहरुमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर स्वास्थ्य जाँच तथा औषधी वितरण गरिने छ ।’
गाउँघर क्लिनिक कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य सेवा, गर्भपतनका जटिलताहरुको रोकथाम बारे परामर्श, यौनरोग बाझोपन बारे परामर्श, पाठेघर खस्ने समस्याको परीक्षण, किशोर किशोरीको स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा र साधारण उपचारको सेवा दिईने गरिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताइन ।
उनको अनुसार स्वास्थ्य चेकजाँच गरेपछि निःशुल्क रुपमा औषधी पनि उपलब्ध गराइने छ । गाउँघरमै स्वास्थ्य सेवा पुर्याउन थालेपछि वडामा रहेको स्वास्थ्यचौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीको इञ्चार्ज सुनिता श्रेष्ठले बताईन् । यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उनले बताईन् ।
जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । ‘गाउँघरका महिलाले पुरुष चिकित्सक, स्वास्थ्यकर्मीसँग खुलेर आफ्नो स्वास्थ्य समस्या नराख्ने भएकाले यस कार्यक्रममा महिला टिम नै खटाइएको छ’, उनले भने, ‘महिलाले खुलेर स्वास्थ्य समस्या राखुन भनेर महिला चिकित्सक, स्वास्थ्यकर्मीको टोली नै खटाएका छौं ।
उनीहरुसँग महिलाले खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन सक्छन् ।’ कार्यक्रम मार्फत चिकित्सकहरु नै घरदैलोमा पुगेर गर्भवती जाँच, सुगर, ब्लड प्रेसरको नियमित चेकजाँच सेवा दिने भएकाले ग्रामीण भेगका जनताले यी सेवाका लागि दमौली आईरहनु पर्ने बाध्यता हटेको छ ।