तनहुँको आँबुखैरनी-१ स्थित प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा एकादशी मेला
भञ्ज्याङन्यूज/दमौली

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूल मन्दिरमा हरिबोधनी एकादशी मेला लागेको छ । आँबुखैरेनी गाउँपालिका-१ मा अवस्थित आँधीमूल मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा आज मेला लागेको हो ।
विगतका वर्षहरुमा कोभिड-१९ को संक्रमणका कारण भक्तजनको कम उपस्थिति रहे पनि यस वर्ष धेरै भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाका अनुसार मेलाका लागि फूल तार्न भक्तजन आउने क्रम सुरु भएको जानकारी दिए ।
मेलामा आउने दर्शनार्थीको ठूला सवारीसाधनलाई सत्रसयतर्फबाट आउनेका लागि याञ्चोकमा पार्किङको व्यवस्था मिलाइएको छ । मोटरसाइकललाई मन्दिरको उत्तरपूर्वतर्फ र याम्पाफाँटदेखि आउनेका लागि मन्दिर नजिकै पश्चिमतर्फ पार्किङको व्यवस्था गरिने मन्दिर व्यवस्थापन समितिका सचिव कुमार पोख्रेलले जानकारी दिए ।
मनले चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौं भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताए । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ वर्षमा विशेष चहलपहल हुने गर्दछ । हरिबोधनी एकादशीको अवसरमा आँबुखैरेनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्यरुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मास्केले बताए ।
मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो । दुइ वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जालीसहितको रेलिङ निर्माण गरिएको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विर्सजन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भिर्त्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
पृथ्वी राजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयदेखि साढे दुइ किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्खया अझै बढ्ने विश्वास गरिएको चुमानले बताए । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा-टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।
पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।
गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुइ पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जा लगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।










