इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो

सुदूरपश्चिम : इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो । मृतक चार युवाविद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गरेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजनलगायतले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुग्नुभएको थियो । स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकोमा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये दश जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी वेपत्ता रहेको बताइएको छ । घटनामा घाइते भएका तीन जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।

घटनाबाट दुःखी छु : इजरायली राजदूत

मृतकको शव लिएर धनगढी विमानस्थल पुग्नु भएका नेपालका लागि इजरायली राजदूत खनान गुडेरले मृतक परिवारका आफन्तसँग भेट गरी घटनाबाट आफू दुःखित रहेको बताउनुभयो । धनगढी विमानस्थलको विशिष्ट कक्षमा राजदूत गुडेरले मृतकका परिवारजनसँग दुःख साट्नका लागि आफू धनगढी पुगेको भन्दै सम्वेदना व्यक्त गर्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker