कसरी चिन्ने विषालु च्याउ ?

‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली च्याउ खाएर मान्छे मरेको समाचार सुनिरहँदा पनि च्याउ बटुल्ने र खान छोड्ने क्रम घट्नुभन्दा अरु बढ्दो छ ।

कोही पढेलेखेका मान्छेले नचिनेका च्याउ खान हुँदैन, नखानुहोस् भन्दा ‘तिम्रो किताबी ज्ञान घाममा सुकाइदेऊ, च्याउ खाएरै बुढो भइयो ? भन्ने जवाफ यो पंक्तिकार आफैंले धेरै पटक सुनेको छ । झण्डै दुई महिना हुन लागेछ विषालु च्याउको बारेमा सचेतना जगाउँदै सल्यान-दाङ आसपास घुम्न थालेको । यो बीचमा जंगली च्याउ खानेहरुको दृढता देख्दा निकै अचम्म लागेको छ ।

यतिसम्म कि आज वल्लो घरमा च्याउ खाएर कोही मरेका छन्, भोलिपल्ट बिहानै पल्लो घरका मान्छे च्याउ खोज्न निस्केका छन् । कतिपय ठाउँको बाध्यता पनि होला, खान नपुगेर खान नपाएर मर्नु भन्दा खाएरै मर्नु बेस भन्ने पनि । जे भए पनि यावत् घटना हेर्दा, सुन्दा जीवनलाई हलका रुपमा लिएको देखिन्छ । कहींकतै त १० महिनाका दूधे बालककै आमालाई पनि जंगली विषालु च्याउले ज्यान लगेको देखिन्छ । आफू जाँदा पनि दूधे बालकका लागि अक्षम्य अपराध या पाप गरेर गइएन र ?

हुन त च्याउमा प्रोटिन, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छ र खाँदा स्वादिलो पनि हुन्छ । तर कतिपय च्याउ शत्रु साबित हुन पुग्छन् । नेपालमा हालसम्म पत्ता लागेका झण्डै १३ सय प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु छन् । तिनै १०० र अरु १२ सय च्याउ छुट्याउन नसक्दा नै अकाल मृत्युको सिकार बनेका हुन्छन् मानिस ।

कसरी चिन्ने विषालु च्याउ ?

बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन । तैपनि जंगलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन सक्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ ।

त्यस्तै च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ फेरिन्छ (धेरै निलो हुन्छ, स्थानीयका अनुसार) भने पनि त्यस्तो च्याउ विषालु हुन सक्ने मानिन्छ । धेरै विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खान योग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ ।

कतिपय विषालु च्याउ खाँदा मान्छे तत्कालै मर्न पनि सक्ने हुँदा जथाभावी च्याउ खानु हुँदैन । कतिपय च्याउ खाएको लामो समयपछि मात्र शरीरमा असर देखिन थाल्छ । च्याउले खासगरी कलेजोलाई असर गर्छ र पित्तमा पुगेर त्यसले नयाँ पदार्थ बनाउँछ र त्यसले मिर्गौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ । जसले गर्दा कलेजो र मिर्गौला फेल भएर मान्छे मर्न सक्छ ।

विषालु च्याउको असर बालबालिका र वृद्धवृद्धामा अधिक हुन्छ । विभिन्न च्याउ एकै ठाउँमा राखेर पकाउनु हुँदैन । र, च्याउ खाएको बेला माछा-मासु पनि नखाएको राम्रो मानिन्छ । अर्को कुरा भण्डारण गर्न जानिएन भने खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छ । कुनै विषालु च्याउले भने खाएको आठदेखि २४ घण्टामा पनि असर देखाउँछ ।

समाजमा विषालु च्याउ चिन्नेबारे विभिन्न गलत धारणा व्याप्त रहेकाले तिनबाट जोगिनुपर्ने हुन्छ । समाजमा सबैभन्दा प्रचलित भनाइ छ, ‘जंगली च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाइ हेर्नु ।’ तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा त्यो विधिलाई भरपर्दो मान्न सकिंदैन । चाँदीले च्याउमा हुने धेरैमध्ये एउटा मात्र विषालु तत्त्वको मात्र जाँच हुन्छ, जबकि च्याउमा अनेकथरी विष पाइन्छ ।

त्यसैगरी खरानी, सिस्नु र टिमुरले विष मार्छ भनेर ती हालेर नडराई च्याउ खानु पनि अर्को मूर्खता हुन सक्छ । त्यस्तै अन्य भ्रमहरुमा विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् आदि । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । सेतो दूध आउने च्याउ प्रायः विषालु हुन्छन् । यस विषयमा च्याउ चिन्ने मान्छेको सल्लाह भने अनुशरण गर्नुपर्छ । आफैं जान्ने सुन्ने बन्नु हुँदैन ।

विषालु च्याउ खाँदा देखिने लक्षण

विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जस्तै, आँखाबाट आँसु आउने, मुखबाट र्‍याल निस्कने, जीउ बाउँडिने, जिब्रो सुन्निने, बान्ता आउन खोज्ने वा आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने र सुन्निने, पिसाब थोरै र कालो आउने, बेहोस हुने ।

त्यसैले विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानुपर्छ । सम्भव भएमा विषालु जंगली च्याउ खाएको थाहा हुनेबित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ केन्द्र लैजानु नै उत्तम विकल्प हो । त्यो भन्दा राम्रो नचिनेको च्याउ खानै हुँदैन ।

अबको प्रयास

यसका लागि सरकार (वनस्पति विभाग र सम्बन्धित अन्य निकाय)ले यो विषयमा थप अनुसन्धान गर्दै आम सञ्चारका माध्यमबाट नागरिकमा व्यापक सचेतना फैलाउन जरुरी छ । विभिन्न निकायबाट च्याउको व्यावसायिक खेतीका बारेमा दिइने तालिमसँगै च्याउको विषाक्तताको बारेमा पनि बुझाउनु अति आवश्यक छ । यसबारेमा सबैले बेलैमा सोचेर विषालु च्याउ सेवनका कारण हुने मृत्यु र बिरामी दर घटाउनुपर्छ । जाने गए बाँचेका मान्छेलाई पिरलो भने झैं अनाहकमा ज्यान फालेर आफ्नो परिवारको समेत बिचल्ली पर्ने काम कदापि नगरौं । यो सन्देश गाउँगाउँसम्म पुर्‍याउन धेरै ढिला भइसक्यो । (डा. पाठक वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख हुन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker