पूर्व विद्यार्थी श्रेष्ठ दम्पतीद्वारा बन्दीपुरका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री वितरण

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी तथा हाल काठमाडौंमा बसोबास गर्दै आएका प्रेमकुमार श्रेष्ठ र उनकी पत्नी अञ्जु श्रेष्ठको पहलमा विभिन्न संघ–संस्थाको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभूत विद्यालय, पार्चेमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ यल तथा आयन्स, लक्ष्मी देवभण्डारी (भूमि) तथा सहकार्य सहकारी काठमाडौंको संयुक्त सहयोगमा विद्यालयका ३५ जना विद्यार्थीलाई कापी, कलम तथा पोशाक वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालयलाई विभिन्न शैक्षिक सामग्री, खेलकुद सामग्री तथा प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलक (सुशील) कुँवर, विद्यालयका प्रधानाध्यापक दीपक के.सी., शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, रोटरी क्लब अफ यल तथा आयन्सकै सहयोगमा वडा नम्बर २ स्थित देउराली आधारभूत विद्यालय, बट्टारका २२ जना विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरिएको छ ।

त्यसैगरी, भानु माध्यमिक विद्यालय, बन्दीपुरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष तिलक कुँवर, प्रधानाध्यापक विज्ञान भट्टराई तथा शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा पूर्व विद्यार्थी प्रेमकुमार श्रेष्ठले कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न परिवारका २२ जना विद्यार्थीलाई कापी, कलम लगायतका स्टेशनरी सामग्री व्यक्तिगत तथा पारिवारिक सहयोगस्वरूप प्रदान गरेका थिए ।

यस्तै, बन्दीपुर गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई वडा अध्यक्ष शिवकुमार श्रेष्ठमार्फत कापी र पेन्सिल वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेमकुमार श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा आफ्नो सहयोग आगामी दिनहरूमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयमा गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।

उनले विद्यार्थीहरूलाई उच्च मनोबलका साथ अध्ययनमा केन्द्रित भई आफ्नो भविष्य उज्ज्वल बनाउन प्रेरित गर्दै शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको धारणा व्यक्त गरे ।

स्थानीय स्तरमा शिक्षा तथा विद्यार्थीहरूको समग्र विकासका लागि गरिएको यस सहयोगलाई अभिभावक, शिक्षक तथा स्थानीय समुदायले सकारात्मक रूपमा स्वागत गरेका छन् । स्थानीयवासीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker