कोरोना संक्रमितको उपचारमा समन्वय गर्न “क्विक रेस्पोन्स टिम” गठन
होम आइसोलेसन र क्वारेन्टाइनमा बस्नेले स्वास्थ्य र सुरक्षा मापदण्ड पालनामा लापरवाही गरे कारवाही गरिने
- भञ्ज्याङ समाचारदाता/दमौली
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तनहुँको बैठकले कोरोना संक्रमितहरुको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरेको छ । केन्द्रको मंगलबार बसेको बैठकले कोभिड-१९ का संक्रमितहरुको उपचारमा समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा तीन सदस्यीय टिम गठन गरेको हो । क्विक रेस्पोन्स टिमको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, दमौली अस्पतालका मे.सु. डा सुनिल पौड्याल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी रहेका छन् ।
बैठकले दमौलीमा यस अगाडि आइसोलेशन सञ्चालन गरिएको कृषि विकास बैंकको पुरानो भवनमा पुन आईसोलेशन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । होम आईसोलेसनमा बस्ने स्थान नभएका विपन्न व्यक्तिहरुका लागि स्वास्थ्यकर्मी र अक्सिजनको सुविधा सहित व्यास नगरपालिकाले सामुहिक आइसोलेशन सेन्टर सञ्चालन एवं व्यवस्थापन गर्ने र उक्त आइसोलेशनमा कृषि विकास बैंकका संक्रमित कर्मचारीलाई आवश्यक भएमा प्राथमिकता दिई राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी गराएका छन् ।
यस्तै, स्वास्थ्य सामाग्रि र शव व्यवस्थापनका आवश्यक सामाग्रिको प्रवन्ध मिलाउने सम्बन्धमा प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य सामाग्रि र औषधिको प्रबन्ध गर्ने, प्रत्येक स्थानीय तहले आ-आफ्नो स्थानीय तहमा संक्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधान, शव वहान, पिपिई, डेडबडी व्याग लगायतका सम्पूर्ण सामाग्रिको व्यवस्था स्थानीय तहले अग्रिम तयारी अवस्था राख्ने केन्द्रको बैठकले निर्णय गरेको छ ।
यस्तै, जिल्ला कोडिभ-१९ संकट व्यवस्थापन केन्द्रको गत आइतबारको निर्णयानुसार आ-आफ्ना स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सकेसम्म धेरै आईसोलेशन बेडको प्रबन्ध गर्ने र त्यस्ता आइसोलेशनमा स्वास्थ्य प्राविधिकको उचित प्रबन्ध स्थानीय तहले नै मिलाउने पर्ने निर्णय गरिएको केन्द्रले जानकारी गराएको छ ।
प्रत्येक स्थानीय तहले आफु अन्तरगत रहेका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने एवं संक्रमितलाई कुनै पनि समयमा अस्पताल लैजानु पर्दा स्वास्थ्य शाखा प्रमुखको निर्देशनमा एम्बुलेन्स सञ्चालन हुने व्यवस्था मिलाउन र आ-आफ्नो स्थानीय तहमा सञ्चालित एम्बुलेन्सले यस्तो अवस्थामा पनि अटेर गरेमा कारवाहीको लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
प्रत्येक स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होम आइसोलेशन र क्वारेण्टाइनको अनुगमनमा जिम्मेवार बन्न र अनुगमन गर्दा होम आइसोलेशनमा रहेका संक्रमित र क्वारेण्टाइनमा रहेका व्यक्तिहरुले स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना नगरेको पाईमा सचेत गराउने र सो गर्दा समेत नमानेमा कानुन अनुसार कारवाही गर्न सम्बन्धित निकायमा अनुगमन समितिले सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै केन्द्रको बैठकले होम आईसोलेशनमा र स्वास्थ्य संस्थामा रहेका संक्रमितहरुसंग स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई निरन्तर सम्पर्कमा राख्न लगाउने निर्णय भएको छ। संक्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसंग स्वास्थ्य शाखा प्रमुखले समन्वय गर्न लगाउने र सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा विरामीको अवस्था र दिनुपर्ने सेवाको आधारमा संक्रमितको उपचारको प्रबन्ध गर्नुपर्ने निर्णय बैठकले गरेको छ । संक्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनु पर्दा अस्पतालका विशेषज्ञ डाक्टरले पठाउनु पर्ने अस्पतालसंग समन्वय गरी पठाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।










