पाल्पा दरबार र सग्रहालय
के.बि. मसाल
सग्रहालय देशको ऐना हो । सग्रहालयले विगतको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक स्थिति झल्काउँछ । सग्रहालय धेरै पढे लेखेका विद्वानहरुले लेखेका अप्ठयरा शब्दहरुले भरिएका पुस्तक होइन । सग्रहालय भारी बोक्ने भरिया, निरक्षर, केटाकेटी, शिक्षित, विदेशी सबैले बुझन सक्ने विश्व भाषा जस्तै खुला विद्यालय हो । पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ । पाल्पाको तानसेन पुग्ने पर्यटकहरुले ऐतिहासिक, धार्मीक, सास्कृतिक स्थलहरु समेत अवलोकन गर्न रुचाउछन् । पाल्पामा सेन राजाहरुद्वारा अमर बनेका इतिहास, धार्मीक, पुरातात्विक महत्वका अनेकौ सम्पदाहरुले पर्यटकहरुलाई खोज अनुसन्धानमा सहयोग पुर्याउछ। पर्यटकहरुले पाल्पाको सुन्दरता देखेर कसैले नेपालको दार्जलिङ भन्दछन भने कसैले काठमाण्डौको भाई अथवा पहाडकी रानी समेत भनेर पाल्पालाई तुलना गर्दछन् । तानसेनका ऐतिहासिक पुरातात्विक सम्पदाहरु अहिले पर्यटकिय स्थलको रुपमा विकास हुन थालेका छन । पर्यटकहरुले इतिहास, संस्कार र संस्कृतिको खोजी गर्दछन् । तानसेनको श्रीनगर, अग्रेजसंगको लडाइमा विजयको उत्सवमा उजीर शमसेरले निर्माण गर्न लगाएका भगवतीको मन्दिर, शितलपाटी, एशियाकै ठूलो मानिने शितलपाटीको मुलढोका, अमरनारायणको मन्दिर, तानसेन दरवार जस्ता ऐतिहासिक स्थलले पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र दृष्यावलोकनका स्थलहरु वनेका छन ।
इतिहासमा रुचि राख्ने पर्यटकहरुले पाल्पा पुगेपछि सेनबशंको राजाहरुको बारेमा जान्ने उत्सुकता देखाउछन् । भारतका चितौर र सिसौदियाका राजपुतहरुको सन्तान सेनवंशी राजाहरुले पाल्पामा राज्य सन्चालन गर्दा उत्कृष्ट पराक्रम राजनीति र कुटनीतिको परिचय दिएका थिए । प्राचीनकालमा मगर मुखियाहरुका ससाना भुरेटाकुरे थुम राज्य भएको पाल्पाक्षेत्र बाह्रौ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म खस राज्यको प्रभावमा थियो । खस राज्यको विघटन पछि पाल्पा क्षेत्र पुनः भुरेटाकुरे राज्यमा विभाजित भयो । जसलाई आफ्नो अधिनमा पारेर सेन वंशका शासकहरुले इसाको पन्ध्रौ शताब्दीको उत्तरार्द्धदेखि उन्नाइसौँ शताब्दीको प्रारम्भ अर्थात वि.सं. १४७७ देखि १८६१ सम्म पाल्पा राज्यमा रिब्दीकोट, भैरवस्थान र श्रीनगरमा समेत गरी ३१२ बर्षसम्म राज्य सन्चालन गरेका थिए । सेनवंशका ११ औं पुस्ताका राजा अर्थात अन्तीम राजा पृथ्वीपाल सेन हुन । रण बहादुर शाहको बि.स.१८६३ मा हत्या भएपछि भोलिपल्ट ललितपुरको राज भवनमा थुनिएका पृथ्वीपाल सेनलाई भण्डारखालको बगैचामा मारेर सेनवंशको पाल्पा राज्य नेपाल राज्यमा विलय गराइएको थियो । पाल्पामा मुकुन्द सेन नाम गरेका राजा दुइ जना भए । जसलाई मुकुन्द सेन प्रथम र मुकुन्द सेन द्वितीय भनिन्छ । पाल्पा राज्यका संस्थापक रुद्रसेनका छोरा मणिमुकुन्द सेन प्रथम हुन भने तानसेनको श्रीनगरमा शहर बसाल्ने राजा महादत्त सेनका बाबु राजा मुकुन्द सेन द्वितीय हुन ।
पाल्पा गौडाको तैनाथवाला मध्य आफ्नो छोरा केदारनरसिहको रेखदेख गर्न चार वर्ष र आफू तैनाथवाला भएर १६ वर्ष १९११ देखि १९३० सम्म पाल्पामा रहदा बद्रीनरसिहको पालामा पनि दरबार निर्माण भएको थियो । अहिले त्यो दरवार छैन । तर त्यसैठाउमा पछि प्रताप शमशेरले निर्माण गरेको दरबार पनि २०६२ साल माघ १८ गते तत्कालीन वि द्रो ही नेकपा माओवादीको आक्रमणबाट क्षति ग्रस्त भएको थियो । अहिले दरबार पुननिर्माण भएपछि सग्रहालय सञ्चालन भएको छ । दरबारको संग्रहालय लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पाल्पा दरबारमा क्षत्रि्रस्त हुनभन्दा अघि जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवास लगायतका संरचना रहेको थियो ।
पाल्पा तानसेनको दरबार पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा द्वारा बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बि.सं. १९८२ सालदेखि १९८९ सम्म सात बर्षलगाएर निर्माण गरिएको संरचना हो । जर्नेल प्रताप शमशेर बि.स. १९८० मा काठमाण्डौबाट धपाइए पछि पाल्पाको प्रशासक हुन पुगे । तत्कालित पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य सन्चालन गर्न र निजि प्रयोजनका लागि आज भन्दा १०९ वर्ष अगाडी निर्माण गरेका थिए । यो दरबार परिशरमा करिव ५० रोपनी क्षेत्रफल जमिन भएपनि दरबारले ७ रोपनी १४ आन २ पैसा १ दाम क्षेत्रफल जमिन प्रयोगमा आएको छ । अत्यन्त सुन्दर आधुनिक शैलीमा निर्माण भएको दरबारमा बुर्जा समेत ४ तलामा ६३ कोठा, २ बैठक कोठा र २ बुर्जा रहेको छ । दरबारको भर्याङमा घोडाबाटनै उक्लन र ओर्लन मिल्ने किसिमले भर्याङ बनाइएको छ । दरबार निर्माण गर्दा तानसेन भन्दा तल परबासमा इटा बनाइएको थियो भने परबास भन्दा माथी अहिले मोटरमार्ग भएको ठाउँ लामडाडाको जंगलबाट दरबारलाई आवस्यक पर्ने काठ ल्याइएको थियो। त्यसबेला लामडाडा भन्ने ठाउमा सालैसालको ठूलो जगंल थियो । काठै काठ र इट्टाबाट बनेको दरबारमा चुना, सुर्की र गिट्टी मिसाएर निर्माण भएको थियो ।
प्रतापशमशेर राणाको मृत्युपछि दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । राजा महेन्द्रले विसं २०१५ मा पाल्पा दरबारलाई प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबार संग्रहालयमा परिणत भएपछि दरवार परिसरमा जनरल प्रताप शमशेर राणाको अर्धकतको शालिक राखिएको छ । आजभोली पाल्पा दरबारको संग्रहालयमा देश विदेशबाट पर्यटकहरु अवलोकन गर्न पुग्ने गर्दछन् । पाल्पा दरबार संग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारु, मगर जातिको पहिचान झल्कने वेशभूषा रहेका छन । माथिल्लो तल्लामा नेपाल अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेको पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले संग्रहालयका रुपमा विकास गरिएपछि तानसेन पर्यटनको लागि गन्तब्य बन्दै गएको छ ।
पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपालको मुख्य सम्पदाका रुपमा रहेको छ । दरबारमा रहेको ऐतिहासिक वस्तुले पछिल्लो पुस्ताहरुमा ज्ञानको समेत संग्रह गर्नका लागि थलो बनेको छ । संग्रहालयमा ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरु शैक्षिक भ्रमणमा पाल्पामा जाने गर्दछन् । दरबारलाई संग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले तानसेनबासीलाई थप उत्साह थपेको छ । अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग गरिने ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो लगायतका सामग्री राखिएको छ । संग्रहालयमा लुम्विनी प्रदेशका प्रमुख धार्मिक स्थानहरुको फोटो र जानकारी, नेपाल अग्रेज जितगढी युद्धका सामाग्रीहरु, पाल्पा जिल्लाबाट संकलन गरिएका पुराना सामाग्रीहरु राखिएका छन । संग्रहालयको पहिलो तलामा मगर तथा थारु विषयका सामाग्रीहरु, दोस्रो तलामा नेपाली सेना गोरखदल गणले पृथ्वीनारायण शाह देखी हालसम्मका सैनिक सम्वन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारी सचित्र राखिएको छ ।
तानसेन पुगेपछि पर्यटकहरु श्रीनगर पुगेन भने घुमफिर अधुरो मात्र हुनेहैन सधैको लागि कौतुहलको बिषय हुन्छ । श्रीनगरको काखमा रहेको तानसेन बजारबाट गणेश मन्दिर हुदै पैदल आधा घन्टामा श्रीनगर पुग्न सकिन्छ । तर बतासेडाडा हुदै श्रीनगर सम्म मोटर मार्ग समेत छ । श्रीनगरमा शान्त वातावरण, वरिपरी जंगल, सल्लाका रुख र लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिदै श्रीनगर पार्कमा पुगिन्छ । पार्कको पूर्व दिशातिर बौद्ध स्तूप पर्दछ । बौद्ध स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन् । यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ । प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेका थिए । श्रीनगर आफैमा प्राकृतिक भ्युटावर हो । तर पनि पर्यटकहरुलाई थप आकर्षा गर्न श्रीनगरमा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्युटावर पर्यटकहरुका लागि प्रमुख आर्कषणको केन्द्र बनेको छ । श्रीनगरको सुन्दर बगैचा, एकान्त बाताबरणले पनि सबै पर्यटकहरको मन लोभ्याउछ ।
बसन्त ऋतुको सुरुवात सगै अर्थात चैत्र बेशाख महिना लागेपछि तानसेनको श्रीनगरमा पर्यटकहरुको भिडभाड हुन थाल्दछ । लुम्विनी प्रदेशको पाल्पा तानसेनको श्रीनगर हरियाली स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताका कारण घुमफिर गर्न पर्यटकहरुको रोजाईमा पर्दछ । श्रीनगरमा विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिक मात्र होइन हिमालको दृष्यावलोकन गर्न पनि पुग्दछन् । अन्य दिन भन्दा बिदाको दिन पिकनिक खाने र घुमफिर गर्नेको भिडनै लाग्छ । श्रीनगर प्रकृति प्रेमीका लागि रोजाइको स्थलमा पर्दछ। करिव १ हजार पाचँसय रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त वातावरण छ । श्रीनगर पुगेपछि पर्यटकहरु प्राकृतिक सौर्न्दर्यले एकैछिन त अचम्मीत हुन्छन् । कतिपय पर्यटकहरुले धर्तीको र्स्वर्ग रहेछ भन्छन् । मौसम सफा भएको बेला श्रीनगरबाट तानसेनलाई हेदा बादलमाथिको सुन्दर नगरी जस्तो देखिन्छ । अझ माडी फाँटलाई बादलले ढाक्दाको दृश्यले तानसेन बादलमाथि तैरिइरहेको सुन्दर नगरजस्तो देखिन्छ । उत्तरतिरका सेतै टल्किने हिमश्रृखला, सूर्योदय र सूर्यास्तपख देखिने मनोरम प्राकृतिक छटालाई र्आँखामा थुनि राखूँझैं गराउँछ। श्रीनगर प्राकृतिक रुपले मात्र सिगारिएको छैन, यो स्थल ऐतिहासिक पनि हो ।
के हो सग्रहालय ?
संग्रह गर्न योग्य विभिन्न वस्तु संग्रह गरेर राखिएको थलोलाई संग्राहलय भनिन्छ ।. त्यस्तो थलोमा प्राचिन र वर्तमान समयका विविध वस्तु संग्रह र प्रदर्शन गरिएको हुन्छ। त्यहाँ एकै प्रकारका अथवा विविध प्रकारका वस्तुहरु संग्रह र प्रदर्शित हुन्छन् । हामीहरुको सम्पूर्ण जीवनपद्धती नै संस्कृतद्वारा शासित छ। एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने संस्कृति मानिसले सिक्छ र सिकाउन खोज्दछ । इतिहासको विभिन्न कालखण्डमा बसोवास गरेका विभिन्न मानव समुदाय वा मानव समुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोवास गरिरहेका हाम्रा विभिन्न जात जाति एवं समुदायका पुर्खाहरुले सिर्जना र अवलम्बन गरि हामीलाई जिम्मा लगाएर गएका भौतिक र अभौतिक सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्ठिगत रुप नै संग्रहालय हो । पाल्पा दरबारको संग्रहालयमा पुरातात्वीक इतिहाँस झल्कने सामाग्रहिरु व्यवस्थित तवरले राखिएको छ । संग्रहालयलाई इतिहास, संस्कृति र पहिचानसंग जोडिएका पुरातात्वीक सामाग्रीले पाल्पाको इतिहास खोज्ने पर्यटकहरुलाई अध्यनस्थल भएको छ।
संग्रहालयको इतिहास
संग्रहालयलाई अंग्रेजीमा म्युजियम भनिन्छ । ल्याटिन शब्द म्युजियम ग्रिक शब्द मउसाबाट उत्पत्ति भएको मानिन्छ । नेपालीमा म्युजियमलाई संग्रहालय भनिन्छ । नवौँ र दशौँ शताब्दीतिर युरोपका गिर्जाघरहरुमा बहुमुल्य, आर्कषक वस्तुहरु सकलन गरिएका थिए । सौखिन र धनाडय मानिसहरुले पनि आ-आफ्नै ढंगले विविध सामाग्री संकलन गर्दथे । नीजी घर र गीर्जाघरमा त्यस्ता सामानहरु थुप्रदैँ गएर नअटने भएपछि सत्रौँ शताब्दीमा एउटा बेग्लै घरमा ती सामान सारीएर संग्राहलयको स्वरुपमा परिणत भएको मानिन्छ । सामान्यतया म्युजियम भन्नाले मठ, मन्दिर, चर्च आदिका विभिन्न बहुमूल्य, कलात्मक एवं सांस्कृतिक वस्तुहरु संकलन गरिने घर वा मनोरञ्जन स्थलको रुपमा थियो । प्राचीन वस्तुहरुको खोजी गर्ने रुचिले त्यस्ता वस्तुहरुको संकलन गर्ने र अध्ययन गर्ने चलन युरोपका विद्वानहरुले थालेका थिएरु। पछिल्लो चरणमा पुराना सामग्री खोज्न राजपरिवार र व्यापारीले पनि क्रियाशीलता देखाए। यही क्रमको निरन्तरता स्वरुप सग्रहालयको विकास भएको हो ।
बेलायतमा सन् १६८३ मा औपचारिक रुपमा खुलेको अक्सफोर्ड विश्वविद्यालयको अक्समोलियन म्युजियम विश्वकै पहिले संग्राहलय हो । सन् १७५३ मा बेलायतमै खुलेको ब्रिटिश म्युजियम लोकप्रिय चर्चित संग्राहलयमा पर्दछ । अमेरिकामा १८६९ मा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्री र १८७९ मा मेट्रोपोलिटियन म्युजियम अफ आर्ट, न्युर्योक स्थापना भएका थिए । मेट्रोपोलिटियन म्युजियम अफ आर्ट संसारकै ठुलो संग्राहलयमा पर्दछ । विश्वकै विभिन्न देश इजिप्ट, रोम, ग्रीस, चीन, भारत, तिब्वत, नेपालका मुर्ति चित्र र कलात्मक वस्तुहरुको संग्रह र प्रदर्शन त्यहाँ गरिएको छ ।
नेपालमा संग्राहलयको इतिहास पनि यस्तै छ । नेपालमा विभिन्न प्रकृतिका सय ओटाको हाराहारीमा सग्रहालय सन्चालित छन् । काठमाडौंमा पहिला सिलखाना संग्रहालय थियो । त्यसलाई पछि नेपाल संग्रहालय नामकरण गरियोरु। आधिकारिक रुपले छाउनीमा जुद्धशमशेर राणा प्रधानमन्त्री हुँदा सरकारी लगानीमा नेपालमा पहिलो संग्रहालय स्थापना भएको मानिन्छ । पछि त्यसलाई विस्तार गरेर राष्ट्रिय संग्रहालय नाम दिइयोरु। जुद्धशमशेरले बनाएको एउटा भवन बाहेकको ठूलो दरबार र संरचनाहरु प्रधानसेनापति भीमसेन थापाले बनाएका थिए । हनुमानढोका दरबार सग्रहालय २०३३ सालमा स्थापना भएको हो । सग्रहालयहरुले विभिन्न विधागत ग्यालरी सन्चालन गरेका छन् । राष्ट्रिय सग्रहालयले प्राकृतिक विज्ञान ग्यालरी, ऐतिहासिक, राष्ट्रिय मुद्रा सग्रहालय र बुद्ध आर्ट ग्यालरी सञ्चालन गरिरहेको छ । त्यस्तै, हनुमानढोका दरबार सग्रहालयमा तीनओटा ग्यालरी छन् । सग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका छुट्टाछुट्टै ग्यालरी राखिएको छ ।
सभ्यताबाट संस्कार जन्मन्छ । संस्कारलाई जीवन्त राख्न कला, सम्पदा, इतिहास, संस्कृति आदिले देश विदेशमा संस्कारलाई फैलाउँछ । पाल्पा दरबार आफैंमा ऐतिहासिक, पुरातात्विक पर्यटकीय महत्वको धरोहर हो । पाल्पालीहरुले कला, सस्कृति र परमपरागत जात्रा अनि उत्सव जीवन्त राखेका छन् । पर्यटन बिकासको लागि यो राम्रो पक्ष हो ।