करिब १२ करोडको लागतमा मानुङकोट रिसोर्ट सञ्चालन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा मानुङकोट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । व्यवसायी तुल्सीराम पाण्डेले करिब १२ करोडो रुपैयाँको लगातिमा उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
मानुङकोटको फेदीमा निर्माण गरिएको यस रिसोर्टमा सुविधासम्पन्न आवास, अर्गानिक परिकारको व्यवस्था गरिएको सञ्चालक पाण्डेले बताएका छन् । उनका अनुसार रिसोर्टमा विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरी डिलक्स, मिनी डिलक्स र साधारण कोठा तयार गरिएको छ ।
उक्त रिसोर्टको शुक्रबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताए । उनले मुग्लिन पोखरा सडक विस्तार ढिलाइले गण्डकी प्रदेशको पर्यटन क्षेत्रका साथै होटल व्यवसायमा समेत असर परेको बताए ।
निवर्तमान मुख्यमन्त्री अधिकारीले रिर्र्सोटले एउटा महत्पूर्ण आयाम थपेको चर्चा गर्दै पृथ्वीराजमार्ग भएर हिड्ने जोसुकैको लागि पनि अर्गानिक खाना खाएर मात्रै जाने वातावरण बनाउने गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट, व्यास-५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल, उद्योग वाणिज्य संघ तनहुँका उपाध्यक्ष इम कुमार मल्ल, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
व्यास नगरपालिका-५ सिर्दीमा १७ रोपनी क्षेत्रफलमा संचालन गरिएको रिसोर्टका प्रत्येक कोठामा एसिको सुविधा र प्रत्येक कोठाबाट साँघे फाँट र वरपरको हरियाली वातावरण, हिमालका दृष्य अवलोकन गर्न सकिन्छ ।
पाहुनाको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नै फार्ममा खसी, बोका, माछा र स्थानीयजातका कुखुरा पालन तथा तरकारी उत्पादन गरी प्रयोगमा ल्याइने संचालक पाण्डेले बताएका छन् ।










