तनहुँको भाइरल पुलको बास्तविकता भन्नै मन लाग्यो !
वसुन्धरा घर्ती

तनहुँका दुइ वटा पुल उद्घटनको विषय अहिले निकै चर्चाको चुलीमा छ । पुल कस्ले उद्घटन गर्ने भन्ने विषयको विवाद र त्यसपछि सृजित घटनक्रम अझै सेलाएको छैन । पुल उद्घाटन गर्न पाईन भनेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रसेवक कर्मचारीहरु, जनताका प्रतिनिधिहरुलाई तँ त र म म गर्दै रोईकर्राई गरेको समाचारहरु मिडियामा निकै भाईरल भएका छन् ।
यसैक्षेत्रको बासिन्दा भएकाले विबादित पुलको वास्तविकता भन्नै मन लाग्यो । साच्चिकै इमानदारका साथ छातिमा हात राखेर भन्ने हो भने आफुलाई लोकतन्त्रको हिमायति, त्याग तपस्याको प्रतिमुर्ति भन्ने नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेल ज्युले व्यास नगरपालिका वडा नं. ४ बागभञ्याङका जनतालाई ठुलो अपमान गर्नु भएको छ र धेरै दुःख दिनुभएको छ । जुन पुलको सुरुवातदेखिको कथा र दुःख मैले पनि भोगेको छु । मैले तपाईंलाई लाज लाग्न पर्ने हो भन्न त अल्लि नसुहाउला । म त तँ तेरो हैन सानो ठुलो सबैलाई तपाई हजुर भन्नुपर्छ भन्ने पारिवारिक र राजनीतिक संस्कार बोकेको मान्छे हुँ । तै पनि नेताज्युलाई भन्छु : नेताज्यु तपाईको आत्मा छ भने तपाई आफैलाई थोरै भए पनि लाज लाग्नुपर्ने हो । त्यत्रो महान नेता तपाईले आफ्नो स्तरको त ख्याल राख्नु पर्ने होईन र ? एउटा यो सानो पुलको विषयलाई लिएर त्यत्रो ताण्डव, मच्चाउनु पर्ने जरुरी थियो र ?
जुन पुल उद्घाटनको बिषयमा यत्रो रडाको मच्चाईयो । त्यो पुलको २०६९/०७० सालदेखि नै हाल व्यास-४ सिमलटार बाघभञ्ज्याङ जोडने मोटरेवल पुलको आवश्यकता महशुस भएको थियो । हामीले यसक्षेत्रका समाजसेवी व्यक्तित्व देवि बहादुर बस्नेतको अध्यक्षतामा एउटा समिति निर्माण गर्यौ । त्यस समितिले तत्कालिन नगरपालिका र जिल्ला विकास समितिमा निवेदन पेस गर्यो । नगरपालिकाको सिफारिसमा जिल्ला विकासले केन्द्रीय योजनामा पठायो र स्थानीय पूर्वाधार विकास अर्न्तर्गत डोलिडारमा योजना पर्यो र बुल्दी खोलामा र्सर्भे गरी टेन्डर हुने प्रक्रियामा अघि बढने बेला यो पुल यहाँका मान्छेलाई आवश्यक छैन यो ठाउँमा हाम्रा पार्टीका छैनन भनेर व्यास १, १० र ११ जोड्ने तालघरेमा पठाउनु भयो ।

पुल सर्नुको १ नम्बर कारण थियो सिमलटारक्षेत्रमा नेपाली कांग्रेसका मान्छेहरु नहुनु । नम्बर २ वरिष्ठ नेताका आफन्तहरुको घर पर्ने भएपछि भोर्लेटार जाने व्यास मार्ग नभत्काईकन सिमलटारको शिवालय मार्गका आसपासमा रहेका घरहरु भत्काउन खोज्नु र आफ्नो पार्टीलाई भोट नदिनेलाई उठिबास लगाउनु ।
त्यसपछि हामी सबै एक भयौ व्यास मार्गको लागि भनेर बाटो नाप्न आएका प्राविधिकहरुलाई हामी सबै मिलेर उनिहरुलाइ लखेटेयौ । त्यस लगत्तै केहीदिन पछि सिमलटारमा पुल नबने भयो । अन्तै सर्यो भन्ने खबर पायौ । तुरुन्तै हाम्रो समिति र जिल्लाका केही नेताहरु लिएर पि.एल. श्रेष्ठ, एक बहादुर राना, टुकराज सिग्देल काठमाडौ स्थानीय पूर्वाधारका कार्यक्रम योजना आयोगमा डेलिगेशन गयौं । योजना आयोगका उपाध्यक्ष नेपाल सरकारका निवर्तमान अर्थमन्त्री माननीय युवराज खतिवडा हुनुहुन्थ्यो । उहाँका अगाडि दुइ हात फिजाएर आँशु झारेको छु ।
आफना कार्यकर्ता छैनन् भनेर कहाँ आफ्ना कार्यकर्ताको घडेरीको भाउँ बढ्छ त्यहि पुल अन्त लैजाने जस्तो कार्य गर्नुभयो भनेपछि खतिवडाले तपाईंहरू ढुक्क भएर जानुहोस म तुरुन्तै ३ वटै पुलको लागि बजेट छुट्याउछु । अर्को पुल थियो १) हालै नेपाली कांग्रेसका नेताहरुले चारतारे झण्डा गाडेको तालघरेको पुल, २) सिमलटारको पुल र ३) घिरिङ बडारे खोलाको पुल । तत्कालिन एमालेका अर्थमन्त्रीको पहलमा यसरी पुलको लागि बजेट छुट्टएिर आएपछि धमाधम ३ पुल एकै साथ निर्माण हुन थाले । जिल्ला प्राविधिक कार्यलयले निर्माण कार्य रेखदेख गर्यो अनि पुल सम्पन्न पनि भयो ।
स्थानीय पूर्वधारका प्रमुख रामकृष्ण सर रहेको समयमा उक्त पुलहरु संघीयता आएपछि प्रदेश सरकारलाई हस्तान्तरण भयो । प्रदेश सरकारले सडक डिभिजनलाई जिम्मा दिएको थियो । उक्त पुलसंग स्थानीय तहको अलिकति पनि सम्बन्ध र सरोकार नै छैन । म उक्त पुलहरुका बारेमा शुरुवातदेखि संलग्न भएकोमा सबैलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु । तालघरेको पुलसगै निर्माण भएको सिमलटार बाघभञ्ज्याङ हुदै लमजुङसम्म जाने पुलको उदघाटन माननीय कृष्णकुमार श्रेष्ठ किसान ज्युको पहलमा गत वर्षनै भौतिक पूर्वाधार विकासमन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यता र संघ प्रदेशका माननीय ज्युहरुको बिशिस्ट आतिथ्यतामा भव्य रुपमा उदघाटन सम्पन्न भएको थियो ।
उदघाटनको क्रममा माननीय किसान श्रेष्ठज्युले शिवालय मार्गमा हाम्रो पार्टीले कालोपत्रे गर्नेछ भन्नुभएको थियो । बाचा अनुसार कालोपत्रे पनि भईरहेको छ ।
तालघरेको पुलमा पौडेल बाले बजेट पारेका नै होइनन् म सयमा सय प्रतिशत ग्यारेन्टिका साथ भन्छु । पुल बनाउने कुरा चल्दै गर्दा सिमलटारमा आफ्ना पार्टीका कार्यकर्ता नभएको हुँदा राँनिगाँउ जाने बाटो बनाउनेतिर सार्न खोज्दा अर्का कांग्रेसका नेताको पावर बढि भएर आफ्नो खेतको घडेरी बनाउन त्यतातिर र्सार्न चलखेल त गरेका हुन् । अरु कुरा त मैले माथि नै उल्लेख गरेको छु बजेट कहाँबाट कसरी आयो भनेर ।
आफ्नो गाउँ रिस्ति जाँदा कि त कसैको बुइ चढ्नुपर्छ कि त जुत्ता फुकाल्नुपर्छ । आज आफ्ना सहोदर भाई कम्युनिष्ट सरकारले मेरो गाउँमा २ वटा पक्की पुल हालिदिन लाग्यो भनेर शिलन्यास कार्यक्रममा छमछमी नाँचेका छन् । तपाई जस्तो वरिष्ठ नेताले नेपाल सरकारले बनाएको पुल मैले ल्याएको हो भन्दै जिल्लामा रडाको मच्चाउन सुहाउछ र ? साँचो कुरा तितो हुन्छ भन्छन् कसैलाई तितो लागे मेरो भन्नु केही छैन । किनकी त्यो पुलको वास्तविकता यही हो ।










