भानु संग्रहालय, पर्यटन र शिखर कटेरी
के.बि. मसाल

साहित्यकार स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउदै आउनु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ पनि लेखिएका छन् । भानु जयन्ती प्रत्येक वर्ष असार २९ गते पर्दछ । भानु जयन्तीका दिन कैयौं स्रष्टाहरुले भानुको जीवनीका बारेमा चर्चा समेत गर्दछन् । भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरुको संख्या हजारौं पुगिसकेका होलान् । आदि कविकै बारेमा कलम चलाउँदा कतिपय स्रष्टाहरु सम्मान र पुरस्कृत पनि हुनु भएको होला ! तर धेरै स्रष्टाहरु भानुभक्तको जन्मस्थल चुँदीरम्घाको शिखर कटेरीमा पुग्नु भएको छैन होला ? नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने निबन्धकार, कथाकार, समालोचक, कवि, व्याकर्णकार, नाटककार, उपन्यासकार सबै साहित्यकार स्रष्टाहरु अनुकुल मिलाएर शिखर कटेरी पुग्दा राम्रो हुनेछ ।
घुमफिर स्रष्टाहरुका लागि खुला विश्वविद्यालय हुन्छ । प्रकृतिसंग सम्वाद गर्ने साधना भएका स्रष्टाका त कुरै छाडौं। घुमफिरको क्रममा देखिने प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक र यस्तै अन्य कुराहरुले स्रष्टाहरुको भावनामा नयाँ तरंग पैदा गर्दछ। सष्टाहरुका आ-आफ्ना भावना र कल्पना हुन्छन् । नयाँ ठाउँको घुमफिरले स्रष्टाहरुमा नयाँ-नयाँ विचार उब्जिन्छ । घुमफिरको सिलसिलामा आफ्ना मनको भाव अरुको सामुन्ने व्यक्त गर्दाको आनन्द छुट्टै हुन्छ । अझ मनको भाव बोलेर भन्दा पनि लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ। कुनै पनि ठाउँको स्थलगत अध्ययन बिना लेखिएका धेरै विषयहरु अधुरा हुन्छन्। सुनेको भन्दा आफ्नै आँखाले देखेको कुरा सत्य हुन्छ । घुमफिर नगरी कोठामा बसेर लेख्ने स्रष्टाहरु कहिले काहीं भावनामा पनि बग्ने गर्दछन् र आफ्नो प्रकाशित लेख अथवा कृतिमा बिवादित पनि बन्दछन् । साहित्यकार पर्यटकहरुले शिखर कटेरी जाँदा कम्तिमा एक हप्ताको प्याकेज कार्यक्रम बनाउनुभयो भने तनहुँ जिल्लाका अन्य ऐतिहासिक र सांस्कृतिक स्थलहरुमा समेत घुमफिर गर्न सक्नुहुन्छ ।

पोखरा-काठमाडांै सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ चुँदी रम्घाको शिखर कटेरी भानुभक्तको जन्मस्थल पर्दछ । डुम्रे-बेसीशहर भानुभक्त आचार्य मार्गमा पर्ने डुम्रे र भन्सार बजार नेपाल सरकारद्वारा नयाँ शहरको घोषणा भएको ठाउँ पनि हो । भन्सारदेखि चुँदी खोलाको उदगम क्षेत्र चन्द्रावतीसम्म करिव २० किलो मिटर क्षेत्र पहाडी उपत्यका बनेको छ । भन्सारदेखि माथि लागेपछि नागबेली डाँडाकाँडाहरुका बीच-बीचमा बग्ने चुँदी खोला र मोटर मार्गमा पर्ने फुर्सेटार, बाङगेरह, सेपाबगैंचा हुँदै भानुको संग्रहालय भएको चुँदी रम्घामा पुगिन्छ । चुँदी खोलाले बनाएको उपत्यका बिचमा कलकल गर्दै बग्ने चुँदी खोला सुन्दर गाउँहरुको बिच फराकिलो फाटँ देख्न पाउदा स्रष्टा पर्यटकहरु रमाउँछन । कतिपय साहित्यकार कविहरु गुनगुनाउन थाल्दछन । आजभोली चुँदीरम्घा जाने साहित्यकार स्रष्टाहरुले धानखेतीको हरियाली अवलोकन गर्न पाउछन । सुन्दर बस्ती, मोटर मार्गको दाया वायाँ बजार उन्मूख निर्माणको क्रम, भानु संग्रालय पुग्न सेपा बगैचाको बजार किनारैको चुँदी खोलाको पुल पार गरी जानु पर्दछ । सग्राहलयमा भानुभक्तसंग जोडिएका सामाग्री राखिएको छ ।
भानुभक्तका बारेमा पढेका तर आफ्नै आँखाले भानुभक्तले प्रयोग गरेका सामाग्रीहरु देख्न पाउदा साहित्यकार पर्यटकहरु खुसी मात्र हुँदैनन् फोटो समेत खिच्दछन । साहित्यकार पर्यटकहरुका लागि भानु संग्रहालय एउटा ऐना हुन्छ । सग्रहालयमा भानुभक्तको जीवनी र सांस्कृतिक, ऐतिहासिक कुराहरुलाई देखाइएको छ । भानु संग्रहालय विद्वानहरुले लेखेका अप्ठयरा शब्दहरुले भरिएका पुस्तक होइन । संग्रहालयमा पसेपछि भारी बोक्ने भरिया, निरक्षर, केटाकेटी, शिक्षित सबैले भानुको जीवनीका बारेमा बुझन सक्दछन । सग्रहालय साहित्यकार पर्यटकहरुका लागि खुला विद्यालय हो भन्दा पनि हुन्छ । संग्रहालय प्रवेश गरेपछि आदिकवि सुत्ने बस्ने चापको खाट र खाटमा सिरानी अड्याउने फलेकमा कुदिएका पशु-पन्छीका चित्रले स्रष्टा पर्यटकहरुलाई एकैछिन भावुक बनाउछ । भानु पशु-पन्छीप्रेमी पनि रहेछन भन्ने तथ्य खाटको सिरानीमा देब्रे दाहिनेतिर चरा र बीचमा दुइ वटा कलात्मक ढंगले बनाईएको हात्तीको चित्रले देखाएको छ । खाटकै उत्तरतर्फसजाएर राखेको आदिकवि भानुभक्तको मदुस अर्थात सन्दुस रहेको छ । त्यो पनि कलात्मक ढंगले बनाइएको छ । त्यसमा लगाउने भोटे ताला छ । सग्राहलयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामाग्री पूजा-पाठदेखि भात खाने थाल, बटुका पनि राखिएको छ ।

त्यहाँ राखिएका सामाग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ। महगो हुक्का पनि त्यहाँ सजाएर राखिएको छ। भानुभक्तले लेख्न प्रयोग गरेको मसीदानी र कलम पनि त्यहाँ राखिएको छ । भानुभक्तले लेख्नु भएका प्राय सबै कृतिको उहाँकै हस्तलिखित अक्षरमा पढन पाइन्छ। आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरु सबै राखिएको छ । दुइ पट्टि काठको फल्याकजस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि खाटमा बसेर हेर्न सकिन्छ ।
भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर शिखर कटेरी पुग्न चुँदी बेसीबाट चार किलो मिटर उत्तर-पूर्व अग्लो डाँडोमा पुग्नुपर्दछ । शिखर कटेरीमा जान आजभोलि मोटर मार्ग समेत निर्माण भएको छ । दम्सीलो पहाडी श्रृंखला जंगलमा रहल लाग्दा साल र अन्य बनस्पतिका रुखहरुले भरिएको शिखर कटेरी पुग्न पैदल यात्रामा रमाउने स्रष्टा पर्यटकहरुले ४० मिनेट जति उकालो बाटोमा यात्रा गर्नुपर्दछ । पहिलो पटक शिखर कटेरी जाने स्रष्टा पर्यटकलाई यात्रामा देखिने खेतीयोग्य समतल फाँट, ठूला आँपका बगैंचा, नागवेली आकारमा बग्ने चुँदीखोला, डुम्रेदेखि बाटोमा भेटिने शहरोन्मुख बजार क्षेत्रले मोहित गराइ दिन्छ ।

यात्रामा स्रष्टाहरुले भानुको बारेमा केही नयाँ कुरा भेटिन्छ कि भनेर चुँदी रम्घाका मानिसहरुसँग सोधखोज गर्दछन् । कति कुरा टिप्छन्, फोटा लिदै स्रष्टाहरु रमाउँछन् । शिखर कटेरीको नाम भानुभक्तका पनाति स्व. मुक्तिनाथ आचार्यले आफ्नो लेखनमा भानुको घरलाई शिखर कटेरी नाम उल्लेख गरेका थिए। त्यसै अनुसार शिखर कटेरीको नाम प्रचलनमा आएको हो । भानु जन्मेको समयमा शिखर कटेरीको डाँडामा ठूलो बस्ती थियो । औलोको प्रकोप बढदै गएर धर्मशाला क्षेत्रमा अर्थात शिखर कटेरीमा पनि औलोको महामारी भयो। जसका कारण शिखर कटेरीको बस्ती विस्थापित भई डाँडोको माथिल्लो भाग अर्थात मध्यपुर तेर्सेपानी लेकमा बस्ती बस्न पुग्यो । औलो उन्मूलन भएपछि तेर्सेपानी लेकलाई छाडेर चुँदी रम्घा बेसीमा बसोबास भएको हो। भानुको जन्मस्थल शिखर कटेरी क्षेत्रमा मानिसहरुको बसोबास नभएको झन्डै डेढ सय वर्ष भइसकेको छ । शिखर कटेरी क्षेत्र आजभोलि पुरै वन जंगलले ढाकेको छ ।
वि.सं. १८७६ मा भानुभक्त जन्म भएको शिखर कटेरीको घर भग्नावशेषको अवस्थामा स्रष्टाहरुले देख्न सक्दछन । जुन घर पं. श्रीकृष्ण आचार्यले बनाएका थिए । अहिले शिखर कटेरीको भानु जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ। धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र सन्तानका रुपमा भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तका बाजेले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । अनि उनी काशी गएका बेला नातिलाई राम्रोसँग पढाइलेखाइ गराउने उद्देश्यले भानुभक्तलाई पनि काशि लगेका थिए । त्यसैले बाजेसँगै काशीमा भानुभक्तले संस्कृत शिक्षा लिन पाएका थिए ।

भानुभक्तको व्रतवन्ध वि.सं. १८७८ मा भएको थियो । हजूरबुवा श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो। गायत्री मन्त्र प्राप्त गरे लगत्तै हजूरबुवासंग भानुभक्तले कौमदी, रुद्री, वेद पढन थाल्नु भएको थियो । भानुभक्तमा सानैदेखि विलक्षण प्रतिभा थियो। अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम र मसीदानी समातेका थिए । भानुभक्तको विवाह परशुराम खनालकी छोरी चन्द्रकान्तासग पहिलो विवाह भएको थियो । विवाह भएको १८ महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । त्यसपछि दोश्रो विवाह तनहुँ जिल्लाको मानुङ गाउँबाट विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसग भएको थियो। चन्द्रकलादेवीबाट दुइ भाइ छोरा रमानाथ र शिवशकर जन्मे । शिवशकरको १४ वर्षको उमेरमा नै निधन हुँदा भानुभक्तले जीवनभरि पुत्रशोकको कठोर वज्रपात सहनु पर्यो।
भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सर्म्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुभक्त आचार्यको वि.सं. १८९१ मा बुल्दी खोला किनारमा घाँसी चामुनारायण पन्तसग भेट भएको थियो । घाँसीसंगको भेट नै भानुभक्तको जीवनमा आमूल परिवर्तन आउन सुरु भई घाँसीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत भएको थियो । आदिकवि भानुभक्तको साहित्यिक योगदान घाँसीसंगको भेटपछि जन्मिएको स्वतस्फूर्त कविता भर जन्मबाटै भानुभक्त अगाडि बढदै गएका हुन । यही कविताको भाव भूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न पुग्नु भयो । वि.सं. १८९८ मा रामायण बालकाण्ड लेखन, वि.सं. १९०१ मा मामा जयलालका भदा-सालो पर्ने कलाधरलाई गायत्री मन्त्र सुनाउन मामाघर जादा भोर्लेटारमा गजाधर सोतीको घरमा बास नपाउदा गजाधर सोतीकी घर बुढिया… कविता लेख्नु भयो। भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसग चर्चा गरेका छन ।

वि.सं. १९११ मा भानुभक्त कुमारीचोकमा ५ महिना थुनिएर रहदा त्यो समयमा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको पाइन्छ । भानुभक्तले त्यसै समयमा अत्यन्त चर्चित, निर्भीक, बिन्तिपत्र-रोज रोज दर्शन-लेखी राणा सरकारलाई बुझाएका थिए । भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो । वंश परम्परा अनुसार हजुरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर महत्वपूर्ण विषय यो छ की ! भानुभक्तले लामो समय ज्वरोले थलिदा पनि काशीमा मणिकर्णिका घाट जान मान्नु भएन । भानुभक्तले आफ्नो निधन जन्म भूमीलाई नै रोज्नु भयो ।
शिखर कटेरी र भानु संग्रहालय घुमफिर गर्दा स्रष्टाहरुमा भानुको बारेमा धेरै कुराको ज्ञान थपिन्छ । शिखर कटेरीमा देखिने प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक, सामाजीक र यस्तै अन्य कुराहरुले साहित्यकारहरुको भावनामा नयाँ तरग पैदा गर्दछ । कोही साहित्यकारहरु घुमफिरकै क्रममा लेख्न थाल्दछन । कोही टिपोट गर्दछन राम्रो दृष्यलाई क्यामेरामा कैद गर्दछन । घुमफिरमा साहित्यकार पुग्नु आफैंमा सिर्जनशीलता जन्माउनु हो । स्रष्टा पर्यटक नयाँ ठाउँमा पुग्दा नयाँ कुराको जानकारी पाउन उत्सुक रहन्छ । नियात्राकार लेखकमा त त्यो कुरा अझ बढी लागु हुन्छ । त्यसरी घुमफिर गर्दा अरुको तुलनामा नयाँ तथ्य खोतल्ने र तथ्यहरु संकलन गर्ने बानी साहित्यकारहरुमा हुन्छ । साहित्यकारले घुमफिरमा प्राप्त अनुभूति लेखनमा महत्वपर्ूण्ा स्थान रहन्छ । अनुभूति घोलिएको रचनाले पाठकको मन जित्दछ । नियात्रा लेखनमा घुमफिरमा देखिएका दृश्यहरु, घटनाका शब्दचित्रहरुको विशेष महत्व रहन्छ। साहित्यकारहरु सधै एकै ठाउँमा बसेर एउटै काममा लागि रहँदा मस्तिष्कले पनि नयाँ सोच र श्रृजना गर्न सक्दैन । यसका लागि नयाँ ठाउ घुमफिर गर्दा नयाँ भूगोल, फरक हावापानी, संस्कृति, चालचलन र खानपानसँग रमाउन सकिन्छ ।

चुँदीरम्घा र भानु संग्रहालय अवलोकन गरेपछि साहित्यकार पर्यटकहरुले घुमफिरको समय लम्वाउन र खर्चले पनि भ्याउने भए तनहुँमा ऐतिहासिक, धार्मीक, साँस्कृतिक र साहित्यिक स्थलहरु अध्ययन अनुसन्धानको लागि धेरै छन । चुँदीरम्घा नजिकै र्राईपुर, खोलाखेत, घाँसीकुवा जस्ता अनेकौ साहित्यिक पर्यटकीय स्थलमा पनि स्रष्टाहरु पुग्न सक्दछन । ऐतिहासिक पुरातात्विक तथा सामरिक महत्वका बन्दीपुर, तनहुँसुर, मिर्लुङकोट, क्यामिनकोट, भुजिकोट, रिसिङघिरिङ गलेखामकोट जस्ता स्थलहरु पनि तनहुँमा अध्यन अवलोकन गर्न सकिन्छ । भानुको जन्मस्थल पुग्दा साहित्यकार पर्यटकहरुले तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट पुग्नै पर्ने हुन्छ ।
समुन्द्री सतहबाट १६५४ मिटर उचाइमा रहेको मिर्लुङकोट प्राकृतिक भ्युटावर हो भन्दा पनि हुन्छ । मिर्लुङकोटको डाँडाबाट तनहुँको बिभिन्न गाउँ ठाउँका साथै लमजुङ, गोरखा, मनाङ र कास्कीका अधिकांश भूगोल अवलोकन गर्न सकिन्छ । सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ । चन्द्रवती बजारबाट घलेछाप, ओख्ले हुँदै बयापानी भज्ञ्याङ, कवाजीत हुँदै मिर्लुङकोट पुग्न सकिन्छ । यस्दै, सदरमुकाम दमौलीबाट कलेस्ती, गजौडे हुँदै पोखरीछाप निस्किएर पनि मिर्लुङकोट पुग्न सकिन्छ । पर्यटकहरुका लागि कोटसम्म पुग्न ढुंगाको सिढी बनाइएको छ। मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा पनि धनि छ ।

मिर्लुङकोट जाँदा राइपाली भज्ञ्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्ज्याङ, मिर्लुङकोट, पोखरीछाप पुग्न सके राम्रो हुन्छ। यि भेगमा बाह्रै महिना चिसो हावा जंगलमा फागुन चैत्रको महिनामा लालीगुराँसको फूलले छपक्कै डाँडाभरि ढाकेको हुन्छ। मिर्लुङकोटबाट धौलागिरी हिमाल, गणेश हिमालदेखि बिभिन्न चुरे महाभारत श्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । तिब्बत र मनाङबीचको बोर्डर हिमाल जसलाई ग्रेड हिमाल पनि भनिन्छ मिर्लुङकोटबाट देख्न सकिन्छ ।
साहित्यकारहरुले मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गर्दा निर्माण भएको दरवारको भग्नाबशेष देख्न सक्दछन । राजा धर्मागत सेनको दरबार अगाडि ऐतिहासिक रानी पोखरी रहेको छ । आकाशबाट परेको पानीबाट निर्माण भएको यो पोखरीमा पानी कहिल्यै पनि सुक्दैन । मिर्लुङको ठुलोढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ । मिर्लुङको पश्चिम तर्फशक्तिदेवको रुपमा मानिने भयर थानको मन्दिर छ । त्यसको ठीक उत्तरतर्फनेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ ।










