तनहुँ जलविद्युत् आयोजना : पानी आउने मुख्य सुरुङ ७७ प्रतिशत खनियो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-२ अन्तर्गत पानी आउने मुख्य सुरुङ खन्ने कार्यलाई तीव्रता दिइएको छ ।

प्याकेज-२ अन्तर्गतको बाँध लगायतका संरचना निर्माण कार्यअन्तर्गत पानी आउने मुख्य सुरुङ (हेड टेलरेस) को ब्रेक थ्रुका लागि धमाधम काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । यो सुरुङ एक हजार चार सय ५६ मिटर लम्बाइ रहेकामा हालसम्म एक हजार एक सय २५ मिटर खन्ने काम सकिएको छ । अझै तीन सय ३१ मिटर सुरुङ खन्न बाँकी रहेको उहाँको भनाइ छ ।

प्याकेज-२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा अन्य काममध्ये एक हजार तीन सय ८३ दशमलव ८२ को प्रवेश सुरुङ, दुइ सय ७० मिटरको मुख्य प्रवेश सुरुङ, तीन सय ५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ-१ एक सय दुइ दशमलव सात मिटर लम्बाइ रहेको वर्क सुरुङ-२, २१८ मिटर रहेको वर्क सुरुङ-३ र चार सय ३७ दशमलव १२ मिटर लम्बाइ रहेको सर्च ट्याङ्कतर्फको वर्क सुरुङ खन्ने काम भने सम्पन्न भइसकेको छ ।

त्यस्तै, ३८ दशमलव दुइ मिटर लम्बाइको मुख्य सुरुङको पेनस्टक तल्लो भाग, ६७ मिटर लम्बाइको पेनस्टक साफ्ट, २० दशमलव छ मिटरको वाइफरकेसनको पेनस्टक तल्लो भाग र ४७ दशमलव ३७ मिटरको पेनस्टक वाइफरकेसन-१ को सुरुङको काम सकिएको छ ।

यस्तै, एक सय चार दशमलव छ मिटरको ड्राफ्ट ट्युब सुरुङ, दुइ सय १० दशमलव नौ मिटरको टेलरेस सुरुङ, एक सय ८८ मिटरको केवल सुरुङ र बाँधतर्फ जाने तीन सय १५ मिटर लम्बाइ पहुँच सुरुङको काम सम्पन्न भइसकेको छ । आयोजनाको प्याकेज-२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रुपैयाँ रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

प्याकेज-१ अन्तर्गत छ सुरुङ खन्ने काम सकिएको छ । त्यस्तै, दुइवटा सुरुङ खन्ने काम जारी रहेको छ । पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो कङ्ीक्रट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ् ।

आयोजना प्रमुख शिल्पकारका अनुसार डाइभर्सन सुरुङ-१ माथिल्लो भागको पाँच सय ३८ दशमलव पाँच, डाइभर्सन सुरुङ-२ माथिल्लो भागको छ सय २६ दशमलव नौ, डाइभर्सन सुरुङ-२ बेन्चिङको ६२६ दशमलव नौ, माथिल्लो भागतर्फको प्रवेश सुरुङको ४२७ दशमलव दुइ, बायाँ किनारतर्फको ग्राउटिङ सुरुङ इलिभेसन तह ४२० मिटरको ११४ दशमलव छ र दायाँ किनारतर्फो ग्राउटिङ सुरुङ इलिभेसन तह ३३० मिटरको १५८ दशमलव सात मिटर सुरुङ खन्ने काम सकिएको छ ।

त्यस्तै, डाइभर्सन सुरुङ-१ बेन्चिङको ५३८ दशमलव पाँच मिटरमध्ये हालसम्म ४० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । यसैगरी, डाइभर्सन सुरुङ-२ कङ्क्रिट लाइनिङको ६२६ दशमलव नौ मिटर खन्नुपर्नेमा २८० मिटर खनिसकिएको छ।

आयोजनाको प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । यो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker