स्थानीय सरकारको विश्वव्यापी नेटवर्कको कार्यकारी व्युरो सदस्यमा व्यासका न्यौपाने र्सवसम्मत
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्था युनाइटेड सिटिज लोकल गभर्नमेन्टको काउन्सिल सदस्य र कार्यकारी व्युरो सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
हालै चीनमा सम्पन्न संस्थाको नवौ कंग्रेसस सम्मेलनबाट तनहुँको व्यास नगरपालिकाका प्रमुख न्यौपाने दक्षिण तथा दक्षिण पश्चिम एसिया क्षेत्रबाट व्युरो सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
व्यास नगरपालिकाले सन् २०१७ नोभेम्बरदेखि उक्त संगठनको सदस्य रहँदै आएको छ । उक्त संस्थाको अध्यक्षमा नेपालका अशोककुमार व्याञ्जु रहेकामा कार्यकाल समाप्त भई नयाँ अध्यक्षमा फिलिपिन्सका क्युरिन्निोका गर्भनर एवं फिलिपिन्स स्थानीय निकायका अध्यक्ष डाकिला कार्लो क्यु सर्वसम्मत निर्वाचित भएका छन् ।
सम्मेलनले सन् २०२३-२५ का लागि नयाँ कार्यसमिति निर्वाचित गरेको व्यासका नगर प्रमुख न्यौपानेले जानकारी दिए । सम्मेलनमा विभिन्न देशका नगरहरुबीच औद्योगिक विकास, ग्रामीण सशक्तीकरण, युवा व्यवसाय प्रबर्द्धन, बालबालिकामैत्री, महिला सशक्तीकरण, मौसम परिवर्तनका असरहरुसँग सम्बन्धित विषयहरुमा विज्ञहरु र विभिन्न नगरपालिकाका चुनौति र उपलब्धीहरुका विषयमा अन्तरक्रिया भएको उनको भनाइ छ ।
नेपालबाट विराटनगर महानगरपालिका, घोराही उपमहानगरपालिका, धुलिखेल, व्यास, वालिङ, कागेश्वरी मनहरा नगरपालिका, जिविस महासंघ, नेपाल नगरपालिका महासंघ, नेपाल गाउँपालिका महासंघका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त सम्मेलनमा चीन, भारत, नेपाल, ताइवान लगायतका देशहरुबाट करिब पाँच सय प्रतिनिधिको सहभागिता थियो ।
स्थानीय सरकारको विश्वकै सबैभन्दा ठूलो नेर्टवर्क मानिएको यो संस्थाले शहरी संस्कृति, सभ्यता, पूर्वाधार विकास, आप्रवासन, स्थानीय सरकारको स्वायत्तता र शहरीकरण लगायतका मुद्दामा चासो राख्दै आएको छ ।