कांग्रेस तनहुँको वडा अधिवशेन तोकिएकै मितिमा, अधिवेशन केन्द्रित छलफल तीब्र
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेस तनहुँले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ । पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर महाधिवेशनको शुभारम्भ गर्ने तयारी गरिएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट पारेको छ । नेपाली काँग्रेसले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको विवाद समाधान गरी ५३ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको छ । जिल्लामा पुगेका निर्वाचन अधिकृतले पार्टीसँग समन्वय गरेर वडा अधिवेशन प्रक्रिया सुरु गरिसकेको जानकारी निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको निर्वाचन समितिले वडास्तरको अधिवेशन १८ गते र त्यस दिन सम्पन्न हुन बाँकी रहेको अवस्थामा दुइ चार दिन पर सारेर पनि निर्वाचन गराइने जनाएको छ । पार्टीको निर्वाचन समितिका संयोजक महेन्द्र यादवले केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएर जिल्ला निर्वाचन अधिकृतले भदौ १८ गतेपछि पनि वडा स्तरको अधिवेशन सम्पन्न गर्ने जानकारी दिनु भयो ।
केन्द्रीय निर्वाचन समितिले गाउँपालिका तथा नगरपालिका स्तरको अधिवेशन हुनुअघि वडाको अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको हो । निर्वाचन समितिले भदौ २७ गते अघि नै सबै वडाको अधिवेशन पूरा गरिने जनाएको छ । भदौ २७ गते पार्टीको नगर गाउँस्तरको अधिवेशन गर्ने काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका छ ।
काँग्रेसको नगर तथा गाउँपालिका स्तरको अधिवेशनमा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि र पार्टीको वडाध्यक्ष मतदाता हुने भएकाले पनि गाउँ तथा नगरको अधिवेशन अगावै वडास्तरको अधिवेशन सम्पन्न गर्नुपर्ने भएको हो ।
यस्तै, यस अघि घोषित केन्द्रीय तालिका अनुसार नै वडा र पालिकाको चुनाव गर्ने गरी नेपाली कांग्रेस तनहुँले तयारी थालेको छ । पार्टी जिल्ला कार्यालय तनहुँमा आइपुगेका मतदान अधिकृत फणिन्द्र कोइरालाले मतदान प्रणालीबारे जिल्ला नेतृत्वलाई जानकारी गराएका छन् । उनले सहायक मतदान अधिकृतका रुपमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्लेलाई सहायक अधिकृत नियुक्त गरेका छन् ।
अधिकृत कोइरालाले नेतृत्वसँग चुनावी प्रक्रियाका विविध विषयमा छलफल समेत गरेको र आफूहरुले आवश्यक सबै सहायोगको प्रतिवद्धता जनाएको पार्टी जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेले बताए । अहिले जिल्लाका सबैजसो भागमा कांग्रेस नेताहरु चुनाव केन्द्रित छलफलमा अघि बढिरहेका छन् ।










