“सीप छ तर, बजार र मूल्य छैन”

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको देवघाट गाउँपालिका-४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त हुनुहुन्छ। आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पूर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताउनुभयो ।
खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पाल्नुभएको छ । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उहाँले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताउनुभयो । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उहाँले सुनाउनुभयो ।
फुलमायाले भन्नुभयो, “हामीले पूर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।” यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्‍याउने गरिएको उहाँले बताउनुभयो ।
रू दुइ सय घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिनुभयो । “ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ् । बाँसको घनअनुसार सामान बनाउने हो”, उहाँले भन्नुभयो । फुलमायाका अनुसार रू एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । “पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्”, उहाँले भन्नुभयो, “यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।”
यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाउनुभयो । “अहिले छोराहरुले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।
यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताउनुभयो । “पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ”, उहाँले भन्नुभयो, “हामीले ठूला सामान बनाउछौँ । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ।”
बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । “किनेर बनाउनु पर्ने भएकाले महङ्गोमा बेच्दा बिक्री हुदैन । कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन”, उहाँले भन्नुभयो ।
सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उहाँले भन्नुभयो, “बाँसको मूल्य तिर्छौ । हामीले सीपको मूल्य पाएका छैनौँ ।” यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उहाँको भनाइ थियो ।
“पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ”, फुलमायाले भन्नुभयो । उहाँका अनुसार यहाँका करिब ५०/६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पूर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइदैन । पूर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् ।
बजारमा रू पाँच-सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पूर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker