एसईई २०८२ को नतिजा सार्वजनिक : ३.६० देखि ४ जीपीए ल्याउने ४८,३९२ जना

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पाैडेलले जानकारी दिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
एसईई २०८२ मा जीपीए १.६० देखि २ जीपीए ल्याउने विद्यार्थी ७ जना रहेका छन् । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५,१९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५,९७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९,४२२ जना, जीपीए ३.३० देखि ३.६० ल्याउने ८०,३७२ जना, जीपीए ३.६० देखि ४ जीपीए ल्याउने ४८, ३९२ र नन ग्रेडेडमा १,४६,५०७ गरी जम्मा ४,३०,६६७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
चाँडो नतिजा प्रकाशन गर्न यसपालि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो । बोर्डले परीक्षा सकिएको २९ दिनमा सोमबार राति एसईईको नतिजा सार्वजनिक गरेको हो ।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।










