वरिष्ठ नेता पौडेल गृह जिल्लामा “सुरक्षित” हुन खोज्दै !

सविन लामिछाने/तनहुँ

स्थानीय तहको निर्वाचनमा तनहुँमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी शून्य बन्यो । तनहुँका १० पालिकामध्ये भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा नेपाली कांगे्रससँग तालमेल गरेपनि नेकपा एमालेसँग पराजित हुन पुग्यो । अन्य पालिकामा पनि एकीकृत समाजवादीको प्रभाव देखिएन । धरौटीनै जफत हुने गरी पराजय भोग्नुपर्‍यो । जबकी एसले तनहुँबाट एकजना संघीय मन्त्री पाएको छ । पालिकामा शून्य हुन पुगेको एसलाई भानु नगरपालिका र व्यास नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांगे्रसले एक/एक सदस्यको स्थान दिएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा माओवादीलाई चितबुझदो सिट दिएर आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो सिट सुरक्षित बनाउन खोजेको देखिन्छ । अघिल्लो पटक कांगे्रसको बहुमत पुगेको समन्वय समितिमा अहिले कुनै पनि पार्टीको बुहमत पुगेको छैन । यद्यपि जिससमा नेपाली कांग्रेसको भने निर्णायक भूमिका छ ।

जिल्ला समन्वयका लागि नेपाली कांगे्रस निर्णायक भएकाले उपप्रमुख र ३ जना सदस्य माओवादीले माग गरेको छ । नेकपा माओवादी जिल्ला अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने कांगे्रसको मात्र समन्वय समिति बनाउन मत नपुग्ने र एमालेसँग आफूहरु मिल्न तयार नभएको बताउँछन् । ‘समानजनक हिसाबले नपाए लिने कुरा नै भएन, असारको पहिलो हप्तामा सबै टुंगिन्छ,’ उनले भने ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय तनहुँमा सक्रिय राजनीतिक गतिविधि बढाइरहेका छन् । यसको तात्पर्य नै आगामी निर्वाचनमा उनले आफ्नो बलियो उपस्थिति खोजिरहेको उनी निकट स्रोत बताउँछन् ।

लामो समय पार्टीलाई योगदान गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वमान्य नेता बन्ने चाहाना छ । तर, समयअनुसार धार परिवर्तन र आफनै गृह जिल्लामा पार्टी भित्रको किचलोको कारण उनको राजनीतिक आधार कमजोर बन्दै गएको देखिन्छ ।

आफ्नै गृह जिल्लामा कमजोर बन्दै गएका पौडेल आगामी चुनावमा भने ‘सुरक्षित’ हुने दाउमा छन् । सत्तारुढ गठबन्धनलाई प्रतिनिधि सभासम्म लैजाने र आफू अबको प्रधानमन्त्री हुने उनको चाहना रहेको देखिन्छ । ‘उहाँ अबको प्रधानमन्त्री नै हो । क्षेत्र नं १ बाट उहाँ उठ्नुहुन्छ,’ तनहुँका ती कांगे्रस नेताले भने, ‘गठबन्धनलाई निरन्तरता दिने र आफू प्रधानमन्त्री हुने उहाँको चाहना हो ।’

गएको कांग्रेस महाधिवेशनमा पौडेलले पार्टीको सभापतिको दाबेदार रुपमा प्रस्तुत हुँदै आएका थिए । तर, पार्टी भित्रको आन्तरिक किचलो र आफ्नै समूहमा अलोकप्रिय बन्दै गएपछि उनी निष्कृय भए । महाअधिवेशनमा निष्कृय भएपनि उनले भित्रि रुपमा सभापति देउवालाई सहयोग गरेका थिए ।

स्थानीय तह निर्वाचन दौरान पनि नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धनकै वकालत गर्दै आए । जिल्लामै कमजोर हुँदा गएको पार्टी जिल्ला अधिवेसनमा पनि आफू निकट वैकुण्ठ न्यौपानेलाई जिल्ला सभापतिमा जिताउन सकेनन् । स्थानीय तहको निर्वाचनमा पनि व्यासको मेयरमा न्यौपानेलाई मुस्किलले जिताउन सके ।

उनको आफ्नै गृह पालिकामा आफू निकटलाई कांगे्रसबाट असन्तुष्ट बनेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कडा टक्कर दिँदा पौडेल झन् कमजोर बन्दै गएको प्रष्ट हुन्छ । आगामी प्रतिनिधि सभाको निर्वाचनमा गोविन्द राज जोशी एमालेसँगको तालमेलमा उठ्ने चर्चा चल्न थालेको छ ।

व्यासको मेयरमा आफ्नो छोरा दीपकले हार व्यहोरे पनि जिल्लामा आफूबिनाको काँगे्रस कमजोर रहेको जोशीको दाबी छ । अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा वरिष्ठ नेता पौडेल विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उनलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ ।

वरिष्ठ नेता पौडेलसँग अघिल्लो निर्वाचनमा आमनेसामने नभए पनि यसपटक भने ‘जम्काभेट’ हुने निश्चितप्रायः छ । अघिल्लो पटक जोशीले तत्कालीन नेकपा एमालेबाट उठेका कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई सघाएका थिए । एमालेबाट चुनाव जितेका किसान हाल नेकपा एकीकृत समाजवादीमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker